काठमाडौं । मिसेस नेपाल वर्ल्ड-२०२६ को उपाधि नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङले चुम्नुभएको छ । रिवन इन्टरटेनमेन्टद्वारा शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले उक्त उपाधि आफ्नो पोल्टामा पार्नुभएको हो । खोटाङको दिक्तेलकी गुरुङले उपाधिसँगै स्कुटर प्राप्त गर्नुभएको छ । अधिवक्तासमेत रहनुभएकी उहाँले अमेरिकामा आयोजना हुने विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत पाउनुभएको छ । उहाँले प्रतियोगितामा वेष्ट पर्सनालिटीको उपाधिसमेत जित्नुभयो । प्रतियोगितामा नेहा गुप्ता फष्ट रनर्सअप हुनुभयो । उहाँले रिवन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइसको उपाधिसमेत प्राप्त गर्नुभयो । ज्योति लामिछाने सेकेण्ड रनर्सअप तथा सगुन खनाल थर्ड रनर्सअप घोषित हुनुभयो । खनालले वेष्ट फिजिकको उपाधिसमेत जित्नुभयो । यसैगरी शिल्पा न्यौपाने महर्जन मिसेस नेपाल इन्टरनेसनल-२०२६, क्रिस्टिना ज्ञवाली मिसेस कोस्मो-२०२६ र ऋचा शर्मा एमएस इन्टरनेसनल-२०२६ घोषित हुनुभयो । यी तीनै उपाधिका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । मिसेस नेपाल इन्टरनेसनल तथा एमएस इन्टरनेसनलका विजेताले सिंगापुर र मिसेस कोस्मोकी विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड-२०२६ को उपाधिबाट सम्मान गरिएको थियो । नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि पुर्याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको कदरस्वरूप उहाँलाई उक्त सम्मान प्रदान गरिएको आयोजक शिला बास्तोलाले बताउनुभयो । निरुताको सम्मानमा उहाँले अभिनय तथा नृत्य गरेका चलचित्रका गीतमा मोडल तथा अभिनेता यसराज गराच, शिला गजुरेल र ऋचा थापाले नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह मञ्चमा सहभागी भई नृत्य गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न विधाका उपाधि पनि वितरण गरिएको थियो । सन्ध्या लामाले अर्ना मोष्ट इनर्जेटिक, सुष्मा थापाले निभिया फ्याबुलस फेस तथा केडी फोटोग्राफी मोष्ट फोटोजेनिक, अञ्जु परियारले मोष्ट ट्यालेन्टेड, शिल्पा न्यौपाने महर्जनले वेष्ट हेयर, दीप्ति ढुंगेलले हेल्दी स्किन र क्रिष्टिना ज्ञवालीले वेष्ट र्याम्प वाकको उपाधि जित्नुभयो । त्यस्तै, ऋचा शर्मा मोष्ट पङ्चुअल, समीक्षा रानाभाट वेष्ट स्माइल, श्वेच्छा पौड्याल मोष्ट डिसिप्लिन्ड, कञ्चन महर्जन फेसन आइकन, बिन्दु थापा राणा मोष्ट कन्फिडेन्ट, यास्मिन बेगम सैयद मिसेस कन्जेनियालिटी र सुनिता श्रेष्ठ कर्माचार्य मिसेस ह्युम्यानिटेरियन घोषित हुनुभयो ।विजेताहरूलाई मिसेस वर्ल्ड-२०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापालगायतले पुरस्कार तथा उपाधि प्रदान गर्नुभएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, नेपाल प्रहरीकी पूर्वएआईजी मीरा चौधरी, सिप्रदी अटो पार्ट्सका उपाध्यक्ष युवराज बुढाथोकी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र मिसेस नेपाल वर्ल्ड-२०२४ की विजेता डा.डेनिला कार्की रहनुभएको थियो । अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सहकोरियोग्राफीमा सम्पन्न कार्यक्रम गंगा महर्जन र विन्दिया श्रेष्ठले संयोजन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सेसेमी लिम्बु र सोफिया भुजेलले गर्नुभएको थियो । आयोजकका अनुसार प्रतियोगिताले विवाहित महिलाहरूलाई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्व प्रस्तुत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने अवसर प्रदान गर्दै आएको छ ।
विनितालाई ‘मिसेस नेपाल वर्ल्ड-२०२६’को ताज

Read Complete Original Article
Published originally on हिमालय टाइम्स




