बेरुत । लेबनानको सीमावर्ती सहर नाकुरामा लगातारको इजरायली आक्रमणबाट थोरैमात्र भवन बच्न सफल छन् । ठडिएका थोरै भवनहरूमध्ये संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) को मुख्यालय रहेको कम्पाउन्ड एक हो । कुनै समय निकै रमणीय रहेको यो समुद्री तटीय सहर अहिले भग्नावशेषमा परिणत भएको छ । यहाँका सडकहरू सुनसान छन्, कहिलेकाहीँ सैन्य गस्ती वा सर्वसाधारण र खाद्यान्न ओसार्ने शान्ति सैनिकका सवारी लस्कर मात्र देखिन्छन् । युनिफिल शान्ति मिसनको झन्डै ५० वर्ष लामो कार्यादेश समाप्त हुन अब झन्डै एक महिना समय मात्र बाँकी छ । तर, त्यसपछि के हुन्छ भन्नेबारे अझै कुनै ठोस योजना बनिसकेको छैन । एकातिर शान्ति सैनिकहरूको आसन्न बहिर्गमन, अर्कोतिर इजरायली सेनाको बिस्तारवाद, अर्कोतर्फ हिजबुल्लाह लडाकु समूहको निःशस्त्रीकरणबारेको विवादले दक्षिणी लेबनानको भविष्यलाई अन्योलमा धकेलेको छ । राष्ट्रसंघीय सेना यहीं रहोस् भन्ने लेबनानको चाहना छ । तर, अमेरिका र उसको निकट सहयोगी इजरायलको दबाबमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले गत वर्ष सन् २०२६ को अन्त्यसँगै युनिफिलको कार्यादेश समाप्त गर्ने पक्षमा मतदान गरेको थियो । वर्षौंसम्म हिजबुल्लाहले सैन्य शक्ति सञ्चय गरेको भन्दै इजरायलले यो मिसन असफल भएको दाबी गरेको छ । उता, सन् २०२३ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरी क्षेत्रीय द्वन्द्व भड्काउनुअघि आफूहरूले १७ वर्षसम्म शान्ति कायम राख्न मद्दत गरेको शान्ति सैनिकहरूको भनाइ छ । ‘मेरो कार्यादेश हिजबुल्लाहलाई निःशस्त्र बनाउनु होइन,’ युनिफिलका कमान्डर मेजर जनरल डियोडाटो अबाग्नाराले एसोसिएटेड प्रेस (एपी) सँगको अन्तर्वार्तामा भने, ‘मेरो कार्यादेश लेबनानी सशस्त्र बललाई सहयोग गर्नु र यहाँको दक्षिण क्षेत्रमा पूर्ण नियन्त्रण लिन उनीहरूका लागि उत्तम वातावरण तयार पार्नु हो । हिजबुल्लाहविरुद्ध लड्नु होइन ।’ युनिफिलले आगामी जनवरी १ देखि आफ्ना ७ हजार ५ सय शान्ति सैनिकहरूलाई क्रमिक रूपमा फिर्ता बोलाउन सुरु गर्नेछ । त्यसपछि दक्षिणमा सुरक्षा शून्यता हुन नदिनु निकै महत्वपूर्ण रहेको अबाग्नाराले बताए । हालैका दुई युद्धमा युनिफिलले न हिजबुल्लाहलाई क्षेप्यास्त्र प्रहार गर्नबाट रोक्न सक्यो, न त इजरायललाई हवाई आक्रमण गर्नबाट नै रोक्न सक्यो । तैपनि, दक्षिणी लेबनानका धेरै बासिन्दा यसको उपस्थितिले आफूहरूलाई सुरक्षित महसुस हुने बताउँछन् । हल्ता गाउँका मोहम्मद औनले यस वर्ष आफ्नो जैतुन बाली टिप्न ढिलो सुरु गरे । यसै महिनाको सुरुमा बाली टिप्न सुरु गरेकै दिन जब युनिफिलको गस्ती टोली उनको खेतमा रोकियो, तब आकाशमा इजरायली ड्रोन घुमिरहेको थियो र उपत्यकामा टाढा कतै भएको हवाई आक्रमणको आवाज गुन्जिरहेको थियो । इजरायली कब्जामा रहेको क्षेत्रसँग सीमा जोडिएको आफ्नो जमिनमा बाली टिप्न औनलाई सहज थिएन । तर, अघिल्ला दुई वर्षको बाली गुमाइसकेकाले उनी बाध्य थिए । युनिफिल फौज भएकै कारण सुरक्षा प्रत्याभूति महसुस भएर उनले यस्तो काम गरेका थिए । यसको बहिर्गमनप्रति उनी निकै चिन्तित छन् । ‘गस्ती टोलीहरू आउजाउ गरेको देख्दा पक्कै पनि हामी बढी सुरक्षित महसुस गर्छौं । यो एक प्रकारको सुरक्षा कवच हो,’ उनले भने, ‘सुरक्षा अवस्थाका हिसाबले उनीहरूको उपस्थिति महत्वपूर्ण छ । उनीहरू गएपछि के हुन्छ, हामीलाई थाहा छैन ।’ इजरायलले दक्षिणी लेबनानमा आक्रमण गरेपछि सन् १९७८ मा संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) को स्थापना गरिएको थियो । त्यसयता, दक्षिण लेबनानमा असुरक्षा देखिएका कारण लगातार यो क्षेत्रमा युनिफिलको उपस्थिति रहदैं आएको छ । इजरायलले सन् १९८२ मा पुनः त्यहाँ आक्रमण गर्यो । यतिबेला इजरायलले कब्जा गरेका दक्षिण लेबनानका भूभाग सन् २००० सम्म फिर्ता भएन । सोही अवधिमा इरान समर्थित हिजबुल्लाह एक गुरिल्ला शक्तिका रूपमा उदायो । सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच एक महिना लामो युद्ध भएपछि, युद्ध अन्त्य गर्ने राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ को उल्लंघन भए/नभएको अनुगमन गर्ने जिम्मेवारी युनिफिललाई दिइयो । सन् २०२४ मा इजरायल–हिजबुल्लाह युद्धविरामको कार्यान्वयन अनुगमन गर्ने संयन्त्रमा युनिफिल सामेल थियो । राष्ट्रसंघीय सेनाको बहिर्गमनपछि दक्षिणी लेबनानको सुरक्षा जिम्मा लेबनानी सेनाले लिने तय भएको थियो । तर, इरान युद्धसँग जोडिएर गत मार्चमा इजरायल र हिजबुल्लाहबीच अर्को युद्ध भड्कियो । इजरायलले अहिले दक्षिणी लेबनानको ठूलो भूभाग कब्जा गरेको छ, जहाँ उसका सैनिकहरूले दर्जनौं गाउँ खाली गराएर ध्वस्त पारेका छन् । कब्जा गरिएको क्षेत्रका केही इसाई बाहुल्य गाउँहरूमा अझै करिब ११ हजार मानिस बसोबास गरिरहेको कमान्डर अबाग्नाराले बताए । उनीहरुले देशका अन्य भागसँग सम्पर्कमा यस क्षेत्रको सम्पर्क स्थापित गराउन सहयोग गरिरहेका छन् । खाद्यान्न तथा अन्य सामग्री ओसार्ने लस्करलाई सुरक्षा दिने कार्य पनि युनिफिलले गरिरहेको छ । सन् २०२४ मा भएको पछिल्लो युद्धविराम सम्झौतामा हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्ने र इजरायली सेना दक्षिण लेबनानबाट फिर्ता हुने उल्लेख थियो । तर, यो युद्धविराम भंग भइसकेको छ । दुई देशबीच पछिल्लो समय वार्ता पनि भएको छैन । शान्ति सेनालाई राख्नेगरी प्रस्ताव गरेका छौं : प्रधानमन्त्री सलाम दक्षिणी लेबनानमा शान्ति सैनिकलाई काम जारी राख्न दिने गरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा एक नयाँ प्रस्ताव ल्याउन लागिएको लेबनानका प्रधानमन्त्री नवाफ सलामले बताएका छन् । ३१ डिसेम्बरमा शान्ति सेनाको कार्य अवधि समाप्त हुँदैछ । त्यसपछि पनि सैनिकहरुलाई सक्रिय रुपमा काममा लगाउन मिल्नेगरी नयाँ प्रस्ताव अघि बढाइएको उनले बताए । प्रधानमन्त्री सलामले शुक्रबार एसोसिएटेड प्रेस (एपी) सँगको विशेष अन्तर्वार्तामा शान्ति सेनाले ३१ डिसेम्बरपछि पनि आफ्ना केही कार्यहरू निरन्तरता दिने र त्यसबीचमा सुरक्षा परिषद्ले यसको विकल्पबारे बहस गर्ने योजना बनिरहेको जानकारी दिए । उनका अनुसार फ्रान्सले सुरक्षा परिषद्मा एउटा प्रस्ताव पेस गर्ने तयारी गरिरहेको छ, जसले शान्ति सैनिकको कार्यादेश सकिएपछिको फिर्ती अवधिमा पनि दक्षिणी लेबनानमा बारुदी सुरुङ पन्छाउने, मानवीय सहायताका लस्करलाई सुरक्षा दिने र युद्धविराम उल्लंघनको अनुगमन गर्नेजस्ता कार्य जारी राख्न अनुमति दिनेछ । सलामले उल्लेख गरेको प्रस्तावबारे फ्रान्सले सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन । तर, यस विषयका जानकार एक पश्चिमा कूटनीतिज्ञले शक्ति शून्यता हुन नदिन फिर्ती प्रक्रिया सुस्त बनाउने र युनिफिलका केही निश्चित मिसन कायम राख्ने विकल्पमाथि छलफल भइरहेको बताए । उनले नाम नखुलाउने सर्तमा यो जानकारी दिएका हुन् । अमेरिकी अधिकारीहरूले समेत यस्तो व्यवस्थामाथि विचार गर्न वासिङ्टन सकारात्मक रहन सक्ने संकेत दिएको उनले बताए । ‘यसले ‘पोस्ट–युनिफिल’ भनिने शान्ति सेनापछिको समस्या पूर्ण रूपमा समाधान त गर्दैन । तर दक्षिणी लेबनानमा नयाँ सुरक्षा संरचनाबारे सहमति जुटाउन हामीलाई केही अतिरिक्त समय भने पक्कै दिनेछ,’ बेरुतस्थित सरकारी दरबारमा एपीसँग कुरा गर्दै सलामले भने । हाल दक्षिणी लेबनानमा तैनाथ ७ हजार ५ सय शान्ति सैनिकहरू कार्यादेश सकिएपछि करिब ६ महिनाको अवधिमा क्रमिक रूपमा फिर्ता हुने अपेक्षा गरिएको छ । मिसनलाई आफ्ना सम्पूर्ण गतिविधि पूर्ण रूपमा बन्द गर्न एक वर्षको समय दिइएको छ । लेबनानी अधिकारीहरूले युनिफिलको कार्यादेश थप्न वा त्यो सम्भव नभए राष्ट्रसंघकै कार्यादेश प्राप्त नयाँ फौज गठन गर्न आह्वान गरेका छन् । अमेरिकी अधिकारीहरूले कुनै न कुनै प्रकारको अन्तर्राष्ट्रिय फौज रहिरहने कुरामा लचकता देखाए पनि हालको स्वरूपमा भने अस्वीकार गरेका छन् । उनीहरूले त्यो फौज नागरिक संयन्त्र वा निजी सुरक्षा ठेकेदार हुन सक्ने सुझाव दिएका छन् । प्रधानमन्त्री सलामले भने तैनाथ गरिने जुनसुकै फौजलाई सुरक्षा परिषद्को अनुमोदन आवश्यक पर्ने स्पष्ट पारे । ‘म यसमा निकै स्पष्ट छु,’ उनले भने, ‘दक्षिणमा रहने कुनै पनि फौजको उपस्थितिलाई सुरक्षा परिषद्ले अनुमोदन गर्नैपर्छ ।’ एपी
लेबनानबाट राष्ट्रसंघीय सेना फिर्ता हुने समय नजिकिँदै, सुरक्षा शून्यताको चिन्ता

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






