काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूकै भूमिकाका कारण नेपाल हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनेको आरोप लगाएका छन्। उनले नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै धर्म र राजनीतिलाई अलग गरेर हेर्न नहुने बताएका छन्। आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले राजनीतिमा धर्मको महत्त्वपूर्ण भूमिका रहने बताए। धर्म र राजनीतिलाई एकअर्काबाट अलग गर्दा राजनीति गलत दिशातर्फ जान सक्ने उनको भनाइ थियो। धर्म र राजनीति एकअर्काका परिपूरक भएकाले दुवै सँगसँगै अघि बढ्नुपर्नेमा उनले जोड दिए। नेपालजस्तो धार्मिक, सांस्कृतिक र मौलिक पहिचान बोकेको मुलुकमा सनातन हिन्दुराष्ट्रको विशेष महत्त्व रहेको उल्लेख गर्दै लिङ्देनले नेपालको परम्परा, संस्कृति र सभ्यताको संरक्षणका लागि पनि हिन्दुराष्ट्र आवश्यक रहेको बताए। राजनीतिक दलहरूले विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा परेर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएको उनको आरोप थियो। नेपाली जनताको भावना र देशको मौलिक पहिचानलाई बेवास्ता गर्दै धर्मनिरपेक्षताको निर्णय गरिएको भन्दै उनले राष्ट्रिय पहिचान, धार्मिक स्वतन्त्रता र सनातन संस्कृतिको संरक्षणका लागि हिन्दुराष्ट्र पुनःस्थापनाको विषयलाई राजनीतिक तथा राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्ने बताए। कार्यक्रममा राप्रपा सांसद खुश्बु ओलीले पनि हिन्दुराष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताइन्। उनले मठमन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दुराष्ट्र स्थापनाका लागि दबाब दिन धार्मिक गुरुहरूलाई आग्रह गरिन्। ओलीले हिन्दुराष्ट्र स्थापनाका लागि राप्रपाले संसद्मा आवाज उठाउने र संसद्बाहिर धार्मिक गुरुहरूले अभियानलाई सशक्त बनाउनुपर्नेमा जोड दिइन्।
राजनीतिक दलकै कारण नेपाल धर्मनिरपेक्ष बन्यो : राजेन्द्र लिङ्देन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






