चितवन । लण्डनदेखि अष्ट्रेलियाको सिड्नीसम्म अन्तर्राष्ट्रिय साइकल यात्रामा निस्किएको राइड २५ अभियानको टोली चितवनको पर्यटकीय नगरी सौराहा आइपुगेको छ । अभियानका सहसंस्थापक रोब ह्यामिल्टन र जोन रिडम्यानसहित १५औँ चरणको यात्रामा रहेको टोलीले सौराहास्थित रोयल ट्युलिप चितवनमा बसेर यहाँको प्राकृतिक सौन्दर्य, पर्यटन वातावरण र आतिथ्यताको अनुभव गरेको हो । सन् २०१२ देखि सञ्चालन हुँदै आएको राइड २५ अभियानले विभिन्न देश हुँदै चरणबद्धरूपमा साइकल यात्रा गर्दै आएको छ । सन् २०२५ मा १४औँ चरण पूरा गरेको टोलीले नोभेम्बर १५, २०२६ मा भारतको तिजाराबाट १५औँ चरणको यात्रा सुरु गरेको थियो । नेपाल हुँदै अघि बढेको टोलीले नोभेम्बर २२ मा काठमाडौं पुगेर उक्त चरण सफलतापूर्वक सम्पन्न गरेको छ । साइकल यात्रालाई परोपकारी कार्यसँग जोड्दै आएको अभियानले प्रत्येक वर्ष दुई लाख पाउण्डभन्दा बढी रकम सामाजिक सेवाका लागि संकलन गर्ने लक्ष्य राखेको छ । यात्रामा सहभागीले आफ्नो व्यक्तिगत खर्च आफैं बेहोर्ने भएकाले संकलित रकम प्रत्यक्षरूपमा परोपकारी कार्यमा खर्च गरिने जनाइएको छ । सौराहामा रहँदा टोलीले नेपाललाई अन्तर्राष्ट्रिय साइकल तथा साहसिक पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा चर्चा गर्दै चितवनको प्राकृतिक सम्पदा, वन्यजन्तु र सांस्कृतिक विविधताले विदेशी पर्यटक आकर्षित गर्न सक्ने धारणा राखेको थियो । यस अवसरमा रोयल ट्युलिप चितवनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर शाहले टोलीलाई स्वागत गर्दै साहसिक यात्राको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले साइकल यात्रामार्फत् परोपकारी कार्यमा योगदान पुर्याएकोमा अभियानको प्रशंसा गर्नुभयो । सौराहाको भ्रमणपछि टोली काठमाडौं प्रस्थान गरेको थियो ।
राइड २५ अभियानको टोली सौराहामा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






