Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
यी हुन् आज दिनभरका प्रमुख २० समाचार
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन् । उनी नोभेम्बर २२ मा नयाँ दिल्ली पुग्ने र मंसिर ७ गतेदेखि औपचारिक भेटवार्ता तथा छलफलमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदीलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् । सोही दिन नेपाल–भारत द्विपक्षीय वार्ता हुने तयारी छ। वार्तामा सीमा सुरक्षा, सीमा विवाद, ऊर्जा, व्यापार, पारवहन, खेलकुद, पूर्वाधार विकास र हवाई मार्गलगायत विषयमा छलफल हुने बताइएको छ । भारतले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग गर्ने र सो विषयमा सम्झौता हुनसक्ने बताइएको छ । यसैबीच, भारतीय रेल मन्त्रालयले जनकपुरधाम र अयोध्याबीच सीधा रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । भ्रमणका क्रममा मंसिर ७ गते प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले अयोध्या–जनकपुर रेल सेवाको संयुक्त उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री शाह मङ्सिर ७ गतेनै स्वदेश फर्किने बताइएको छ यद्यपी भ्रमणबारे औपचारिक निर्णय र घोषणा हुन भने अझै बाँकी रहेको छ । २- पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो र पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उचित उपचारको व्यवस्था गर्न देशका सर्वोच्च अदालतका न्यायाधीशहरूसँग अपिल गरेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था यस्तै रहे ज्यानसमेत जान सक्ने चेतावनी दिएका छन् । इमरानका वकिल सलमान सफदरले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खुला पत्रमा उनले लामो समयदेखि एकान्त कारावासमा राखिएको र आवश्यक उपचार नपाएको आरोप लगाएका छन् । ७४ वर्षीय इमरानले आफ्नो रक्तचाप खतरनाक अवस्थामा पुगेको र चिकित्सकहरूले मस्तिष्कघात तथा हृदयाघातको जोखिम रहेको बताएको उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘७४ वर्षको उमेरमा पनि यस्तो अवस्था निरन्तर रहँदा म यस्तो स्थितिमा पुग्दै छु, जहाँबाट सायद जीवित फर्कन सक्ने छैन ।’ उनले पत्नी बुशरा बीबीको आँखाको ज्योति कमजोर हुँदै गएको भन्दै उपचारको व्यवस्था गर्न माग गरेका छन् । बुशराको गत अप्रिलमा आँखाको पर्दासम्बन्धी समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो । तर त्यसपछि उनलाई पुनः एकान्त कारावासमा राखिएको र चिकित्सकसँग भेटघाट तथा स्वास्थ्य विवरण हेर्नसमेत नदिइएको इमरानको आरोप छ । इमरानले सर्वोच्च अदालतले गत अगस्ट १८ मा आफूलाई इस्लामाबादस्थित शिफा अन्तर्राष्ट्रिय अस्पतालमा स्थानान्तरण गर्न, स्वास्थ्य परीक्षणका लागि चिकित्सक टोली गठन गर्न र परिवारसँग भेटघाटको व्यवस्था गर्न दिएको आदेश कार्यान्वयन नभएको बताएका छन् । उनले आफूलाई दैनिक २२ घण्टासम्म एकान्त कारावासमा राख्ने गरिएको र परिवार तथा वकिलसँगको भेटघाट, पुस्तक पढ्ने तथा टेलिभिजन हेर्ने सुविधासमेत सीमित गरिएको दाबी गरेका छन् । यसैबीच, तोशाखाना–२ मुद्दामा इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्ष जेल सजाय सुनाइएको छ । सन् २०२१ मा साउदी युवराजले उपहार दिएको महँगो बुल्गारी गरगहनाको खरिदसँग सम्बन्धित यो मुद्दामा फैसला भएको हो । इमरान सन् २०२३ अगस्टदेखि विभिन्न मुद्दामा जेलमा छन् भने उनकी पत्नीलाई सन् २०२५ जनवरीमा भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको थियो । उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले भने उनीमाथिको कानुनी कारबाही राजनीतिक प्रेरित रहेको आरोप लगाउँदै आएको छ । ३- नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा समावेशिता र सङ्घीयता लागू भएपछि प्रजातन्त्र बलियो भएको बताएका छन् । स्वर्गीय प्रदीप गिरीको जन्मजयन्तीका अवसरमा वीरगञ्जमा आयोजित प्रदीप गिरी फेलोसिप कार्यक्रम उद्घाटन गर्दै उनले गिरीका विचार र लेखनले समावेशिता तथा सङ्घीयताको महत्व बुझ्न सहयोग गर्ने बताए । थापाले प्रदीप गिरीका विचार राजनीतिक दृष्टिकोण निर्माणका लागि पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै विविधता र लोकतन्त्रलाई कसरी समावेशी तथा सार्थक बनाउने भन्ने विषयमा उनका विचार सान्दर्भिक रहेको बताए । प्रदीप गिरी इन्स्टिच्युटले अनुसन्धान तथा लेखन, कानुनी सहायता र निबन्ध पुरस्कार गरी तीन विधामा फेलोसिप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा अनुसन्धान तथा लेखन फेलोसिप, चार जना सक्रिय कानुन व्यवसायीलाई एक वर्षका लागि न्याय फेलोका रूपमा छनोट गरी मधेस र सङ्घीय राजधानीमा कानुनी सहायता कक्ष सञ्चालन गर्ने तथा राजनीतिक दल, संस्था र आन्दोलनभित्रका कमजोरीमाथि आलोचनात्मक लेखन गर्ने उत्कृष्ट निबन्धलाई पुरस्कार प्रदान गरिनेछ । फेलोसिपमा दलित, मधेसी, आदिवासी जनजाति, महिला तथा काठमाडौँ उपत्यकाबाहिरका आवेदकलाई प्राथमिकता दिइनेछ । विशेषगरी दुर्गम र सीमान्तकृत क्षेत्रका युवालाई अवसर प्रदान गर्ने लक्ष्य राखिएको इन्स्टिच्युटका अध्यक्ष कञ्चन झाले बताएका छन् । ४- रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो करिब ४ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा यमुनामाई नगरपालिका–५ जमुआ टोलका १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको छ। उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएका उनीहरूलाई चिकित्सकले दिउँसो ४: ३० बजे मृत घोषणा गरेका थिए । दुर्घटनामा यमुनामाई–५ झुनखुनवाका १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहरका १७ वर्षीय सुनिल पासवान घाइते भएका छन् । आकाशको गौरमै उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । दुवैको अवस्था मध्यम रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५- बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय लुकाकुले राष्ट्रिय टोलीबाट १६ वर्षको खेल जीवन पूरा गर्दै सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन् । लुकाकुले बेल्जियमको जर्सीमा १३५ खेल खेल्दै ९४ गोल गरेका छन् । उनी बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनी पाँचौँ स्थानमा छन् । सन् २०१० मा बेल्जियमको राष्ट्रिय टोलीबाट खेल्न थालेका लुकाकुले टोलीको सफल पुस्तामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २०१८ को विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान दिलाउन उनको योगदान महत्वपूर्ण रहेको थियो । उनले चार विश्वकप र तीन युरोपेली च्याम्पियनसिपमा बेल्जियमको प्रतिनिधित्व गरेका थिए । उनले पछिल्लो पटक आइतबार इटालीविरुद्धको खेलमा टोलीमा रहे पनि मैदानमा उत्रने अवसर पाएनन् । उक्त खेलमा बेल्जियमले इटालीलाई ४–१ गोलले पराजित गरेको थियो । लुकाकुले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीका सहकर्मी तथा प्रशिक्षकहरूलाई धन्यवाद दिँदै आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । उनले बेल्जियमका लागि १६ वर्षसम्म सक्दो योगदान दिएको उल्लेख गरेका छन् । ६- पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोलादेखि लमहीसम्मको सडक चौडा तथा सडक सतह पुनःस्थापना गर्न प्रयोग गरिने आधुनिक उपकरण दाङ आइपुगेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत बन्ने सडक मर्मत आयोजनाका लागि फूल डेप्थ रिक्लेमेसन उपकरण ल्याइएको हो । नेपालमै पहिलो पटक प्रयोग गर्न लागिएको यो प्रविधिबाट पुरानो सडकमा रहेको अस्फाल्टलगायत सामग्री पुनःप्रयोग गरी टिकाउ, किफायती र वातावरणमैत्री सडक निर्माण गरिने एमसीए नेपालले जानकारी दिएको छ । एमसीए नेपालले यो प्रविधिमार्फत सडक मर्मत कार्यलाई थप प्रभावकारी र कुशल बनाउने लक्ष्य राखेको छ । फुल डेप्थ रिक्लेमेसन (एफडीआर) सडक पुनःस्थापना गर्ने आधुनिक प्रविधि हो । यस प्रक्रियामा पुरानो सडकको अस्फाल्ट र त्यसको तल्लो तहका सामग्रीलाई विशेष उपकरणले पिसेर एकै ठाउँमा मिसाइन्छ । त्यसमा पानी र सिमेन्टलगायतका बाँध्ने सामग्री थपेर बलियो बनाइन्छ। त्यसपछि आवश्यक आकार दिई थिचेर नयाँ आधार तयार गरिन्छ र त्यसमाथि अस्फाल्ट वा अन्य सतह निर्माण गरिन्छ । यो प्रविधिले सडकमा देखिने गहिरा खाल्डा, चिरा, भासिने र सतह बिग्रने समस्या समाधान गर्न सहयोग गर्छ । परम्परागत रूपमा सडक पूर्ण रूपमा भत्काएर पुनर्निर्माण गर्नुभन्दा ४० देखि ८० प्रतिशतसम्म कम खर्च लाग्ने, पुरानै सडकका सामग्री पुनःप्रयोग हुने र निर्माण सामग्री ढुवानीको आवश्यकता घट्ने यसको मुख्य विशेषता हुन् । साथै, निर्माण अवधि छोटिने भएकाले यातायात अवरोध पनि कम हुन्छ । आयोजनाअन्तर्गत धानखोला–लमही सडकको चौडाइ १२ मिटर बनाइनेछ । जसमा सात मिटर चौडाइको मुख्य सडक र दुवैतर्फ साढे दुई–साढे दुई मिटरका सडक किनारा निर्माण गरिने जानकारी दिइएको छ । ७- अमेरिकाले मध्यपूर्व क्षेत्रमा थप एउटा विमानवाहक युद्धपोत ‘यूएसएस थियोडोर रुजवेल्ट’ तैनाथ गरेको छ । अमेरिकी सैन्य अधिकारीका अनुसार यसअघि नै उक्त क्षेत्रमा अमेरिकाका दुई युद्धपोत ‘यूएसएस जर्ज एचडब्ल्यू बुश’ र ‘यूएसएस जर्ज वासिङ्टन’ तैनाथ थिए भने अब नयाँ युद्धपोतको आगमनसँगै मध्यपूर्वमा अमेरिकी तीनवटा विमानवाहक युद्धपोत एकैपटक उपस्थित भएका छन् । यद्यपि, तीनवटै युद्धपोतको एकै क्षेत्रमा उपस्थिति अस्थायी हुने सम्भावना छ । अमेरिकी युद्धपोतका सैन्य समूहहरूले निर्धारित कार्यतालिकाअनुसार विभिन्न क्षेत्रमा आफ्नो तैनाथी स्थान परिवर्तन गरिरहने भएकाले यस्तो उपस्थिति लामो समयसम्म नरहन सक्ने बताइएको छ । अर्कोतर्फ इरानसँग तनावको वातावरण कायम रहेको बेला तिनै युद्धपोत एकै स्थानमा हुनुलाई सामान्य रुपमा लिइएको छैन । ८- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक २९ गते आइतबारसम्मको चलचित्र ‘कबड्डी ५ : फाइनल’, ‘पेन्सन पट्टा’, ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ र पाँच पाण्डवको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार कार्तिक ६ गतेबाट प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल’ ले ४ लाख २२ हजार ८९० टिकट बिक्रीबाट १२ करोड ९४ लाख १५ हजार आम्दानी गरेको छ । त्यस्तै भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ ले ३ लाख ६४ हजार ५२० टिकट बिक्री गर्दै १० करोड ३५ लाख ७८ हजार आम्दानी गरेको विवरणमा उल्लेख छ । त्यसैगरी असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा २’ ले २ लाख ४१ हजार ९६ टिकट बिक्रीबाट ६ करोड ८१ लाख ६७ हजार आम्दानी गरेको छ । यसैगरी, असोज ३१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ ले एक लाख ६ हजार ८८३ टिकट बिक्रीबाट ३ करोड ४३ लाख १७ हजार आम्दानी गरेको छ भने असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘१२ गाउँ २’ ले भने ७६ हजार ६० टिकट बिक्री गर्दै २ करोड ३२ लाख ९६ हजार आम्दानी गरेको छ । त्यस्तै कार्तिक २० गतेबाट प्रदर्शनमा आएको चलचित्र पाँच पाण्डवले १२ हजार २९४ टिकट बिक्रीबाट ४३ लाख ५० हजार आम्दानि गरेको छ । ९- नेकपा एमालेले राष्ट्रिय भेला सम्पन्न भएपछि स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका गतिविधि अघि बढाउने भएको छ । एमाले महासचिव शंकर पोखरेलले सोमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय भेलाले पार्टीलाई नयाँ लयमा अघि बढाउन सहयोग गर्ने र त्यसपछि पार्टी निर्वाचन केन्द्रित हुने बताएका हुन् । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमालेले स्थानीय तह निर्वाचनलाई सधैँ प्राथमिकतामा राख्दै आएको बताए । उनले स्थानीय तहलाई बलियो बनाउने काममा एमालेको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संविधान निर्माणदेखि कानुन सुधारसम्म पार्टीले स्थानीय तहको सुदृढीकरणका लागि पहल गर्दै आएको दाबी गरे । उनले राष्ट्रिय भेलामार्फत पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउने प्रयास भइरहेको जानकारी दिए । केही विषय अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गरिसकेको र बाँकी विषय आगामी दिनमा सम्बोधन हुने उनको भनाइ थियो । यसैबीच, महासचिव पोखरेलले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति आलोचना गरेका छन् । उनले प्रधानमन्त्रीको कार्यशैली अलोकतान्त्रिक, स्वेच्छाचारी र अधिनायकवादी रहेको आरोप लगाउँदै आफ्नै पार्टीका नेताहरूसँग समेत संवाद हुन छाडेको टिप्पणी गरे। उनले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली सच्याउन आग्रहसमेत गरेका छन् । १०- बेलायतका राजकुमार विलियम र उनकी पत्नी केट मिडलटन तीनदिने भारत भ्रमणका लागि सोमबार मुम्बई पुगेका छन् । उनीहरूलाई भारतीय क्रिकेटका पूर्वखेलाडी सचिन तेन्दुलकरले स्वागत गरेका थिए । मुम्बईको बलार्ड एस्टेटमा आयोजित कार्यक्रममा विलियम र केटले गल्ली क्रिकेटसमेत खेलेका थिए । खेलका क्रममा सचिनले फिल्डिङ गरेका थिए भने एक बालिकाले बलिङ गर्दै विलियमलाई बोल्ड गरेकी थिइन् । उनीहरू नोभेम्बर १७ मा आयोजना हुने ‘अर्थसट पुरस्कार’ समारोहमा सहभागी हुनेछन् । उक्त पुरस्कार वातावरण संरक्षणका क्षेत्रमा नवीन समाधान खोज्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिन्छ । यस वर्ष पाँच विजेतालाई जनही १० लाख पाउन्ड प्रदान गरिनेछ । भ्रमणका क्रममा विलियमले मुम्बईको मेट्रोमा यात्रा गर्नेछन् भने केटले अस्पताल भ्रमण गर्ने कार्यक्रम छ । उनीहरूले वातावरण संरक्षण, नयाँ प्रविधि, चलचित्र र भारतीय संस्कृतिसँग सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग पनि भेटघाट गर्नेछन् । नोभेम्बर १८ मा उनीहरू नयाँदिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । विलियम र केटको यो दोस्रो औपचारिक भारत भ्रमण हो । यसअघि उनीहरू सन् २०१६ को अप्रिलमा भारत आएका थिए । ११- बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं. ११ को हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा बुङ्गल नगरपालिका–१० का ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा, ५/६ वर्षीया डल्ली महरा र ४ वर्षीया रियास महराको मृत्यु भएको छ । अटोमा चालकसहित ६ जना सवार रहेकामा १२/१३ वर्षीय विक्रम महरा भने सकुशल घर फर्किएको जनाइएको छ । प्रहरीले अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । १२- अफगानिस्तानको कान्दहारमा तालिबान सरकारले रेडियोमार्फत क्रिकेटसम्बन्धी कुनै पनि सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । मिडिया रिपोर्टका अनुसार कान्दहारको सूचना तथा संस्कृति विभागले शनिबार रेडियो सञ्चालकहरूलाई क्रिकेटका समाचार, खेलको प्रत्यक्ष विवरण र जितसम्बन्धी समाचार प्रसारण नगर्न निर्देशन दिएको हो । तालिबान नेता मुल्ला हैबतुल्लाह अखुन्दजादाको गृहक्षेत्र कान्दहारमा लगाइएको प्रतिबन्धको कारण भने खुलाइएको छैन । यसअघि तालिबान सरकारले क्रिकेटलाई समर्थन गर्दै आएको थियो । अफगानिस्तानको पुरुष क्रिकेट टोली संयुक्त अरब इमिरेट्सको सारजाहमा जिम्बाब्वेविरुद्ध दोस्रो टेस्ट खेलिरहेका बेला प्रतिबन्ध लगाइएको हो । तालिबान सरकारले यसअघि केही मार्सल आर्टसहित खेल गतिविधिमा प्रतिबन्ध लगाएको थियो । अफगानिस्तानमा पुरुषलाई क्रिकेट खेल्न अनुमति रहे पनि महिला तथा किशोरीलाई खेलकुदमा सहभागी हुन र खेलकुद क्लब जान रोक लगाइएको छ । १३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले ६० दिने मेची–महाकाली पैदल यात्रा सुरु गरेका छन् । जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणबाट सोमबार रास्वपा सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमा पैदल यात्राको शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू रविन्द्र पटेल, मनीष झा, पुरुषोत्तम यादव र विनोद यादवसहित पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । डा. सिंहका अनुसार देशमा शान्ति स्थापना, राष्ट्रिय एकता सुदृढीकरण तथा नेपालीबीच आपसी सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यले यात्रा सुरु गरिएको हो । ६० दिनसम्म सञ्चालन हुने यात्राका क्रममा सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनका विषयलाई प्राथमिकताका साथ उठाइनेछ । यात्राका क्रममा विभिन्न गाउँबस्तीमा पुगेर स्थानीय नागरिकका समस्या, आवश्यकता र गुनासा सुन्ने तथा समाधानका लागि पहल गर्ने योजना रहेको सिंहले बताएका छन् । उनले यो यात्रा केवल पैदल यात्रा नभई जनतासँग प्रत्यक्ष जोडिने, देशको अवस्था बुझ्ने र परिवर्तनका लागि साझा संकल्प निर्माण गर्ने अभियान भएको बताएका छन् । सिंहले अभियान सफल बनाउन सम्पूर्ण नेपालीको साथ, सहयोग र समर्थनको अपेक्षासमेत गरेका छन् । १४- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा डा. निश्चलनाथ पाण्डे, डा. कल्याणराज शर्मा र सुरेशकुमार कर्णले राजदूत पदको शपथ लिएका हुन् । शपथ लिनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन् । यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई सम्बन्धित देशका लागि आवासीय राजदूतमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । १५- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संरचनामा परिवर्तन गर्दै सुपर सिक्स चरण हटाएको छ । यसअघिका तीन संस्करणमा समावेश गरिएको सुपर सिक्स चरण आगामी छनोट प्रतियोगितामा नराखिने भएको हो । आईसीसीले आइतबार इन्डोनेसियाको बालीमा बसेको बैठकपछि नयाँ छनोट संरचना सार्वजनिक गरेको हो । आगामी वर्ष फेब्रुअरी–मार्चमा हुने छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । ती टोलीलाई पाँच–पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसअघि १० टोलीलाई दुई समूहमा विभाजन गरी समूह चरणपछि सुपर सिक्स खेलाइन्थ्यो । त्यस संरचनाअनुसार कुल ३४ खेल हुन्थे र शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउँथे । तर नयाँ संरचनाअनुसार अब छनोट प्रतियोगितामा २३ खेल मात्रै हुनेछन् । आईसीसीले यसअघि जुलाईमा स्वीकृत गरेको नयाँ संरचनाअनुसार छनोट प्रतियोगिताको विजेताले सन् २०२७ को १४ टोली सहभागी हुने एकदिवसीय विश्वकपमा सीधै स्थान बनाउनेछ । छनोटमा दोस्रो, तेस्रो र चौथो हुने टोलीले भने विश्वकपको पहिलो चरणका रूपमा रहेको सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन् । त्यस चरणबाट उत्कृष्ट हुने एक टोलीले मुख्य विश्वकपमा स्थान बनाउनेछ । छनोट प्रतियोगिताका लागि वरीयताका आधारमा वेस्ट इन्डिज र आयरल्यान्डले स्थान बनाइसकेका छन् । त्यस्तै, विश्वकप लिग–२ बाट अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमान छनोट भएका छन् । बाँकी चार टोलीको टुङ्गो नेपालमा आगामी महिना आयोजना हुने छनोट प्लेअफबाट लाग्नेछ । उक्त प्लेअफमा विश्वकप लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका चार टोली गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । सन् २०२८ को पुरुष टी–२० विश्वकप छनोट संरचना: आईसीसीले सन् २०२८ मा आयोजना हुने पुरुष टी–२० विश्वकपको छनोट प्रक्रिया पनि सार्वजनिक गरेको छ । छनोट प्रतियोगितामा १६ टोली सहभागी हुनेछन् र कुल ३१ खेल खेलाइनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । समूह चरणपछि क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछ । छनोट प्रतियोगिताबाट आठ टोलीले सन् २०२८ को मुख्य विश्वकपमा स्थान बनाउनेछन् । चार सेमिफाइनलिस्ट टोली स्वतः छनोट हुनेछन् । बाँकी चार स्थान क्षेत्रीय प्रतिनिधित्व र छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा निर्धारण गरिनेछ । अफ्रिका, अमेरिका, एसिया, पूर्वी एसिया तथा प्रशान्त क्षेत्र र युरोप गरी पाँच क्षेत्रबाट उत्कृष्ट टोलीलाई छनोटको अवसर दिइनेछ । कुनै क्षेत्रको शीर्ष टोली छनोट प्रतियोगिताको शीर्ष आठभित्र परेमा स्वतः मुख्य विश्वकपमा पुग्नेछ । नवौँदेखि १२औँ स्थानसम्म रहेमा शीर्ष आठमा रहेका तर क्षेत्रीय प्रतिनिधित्व नपाएका कमजोर वरीयताका टोलीको स्थान लिन सक्नेछ । बाँकी स्थान क्वार्टरफाइनलमा पराजित भएका टोलीमध्ये समूह चरणको प्रदर्शन, प्राप्त अङ्क, जित र नेट रनरेटका आधारमा निर्धारण गरिनेछ । तर आफ्नो समूहमा सबैभन्दा कमजोर वरीयतामा रहेका टोलीले भने मुख्य विश्वकपमा छनोट हुने अवसर पाउने छैनन् । सन् २०२८ को महिला टी–२० विश्वकप छनोट: आईसीसीले सन् २०२८ मा आयोजना हुने महिला टी–२० विश्वकपको छनोट प्रक्रिया पनि सार्वजनिक गरेको छ । उक्त प्रतियोगिताका लागि अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, बङ्गलादेश, इंग्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड, श्रीलङ्का, आयरल्यान्ड र आयोजक पाकिस्तानले स्वतः स्थान बनाएको विवरणमा उल्लेख छ । बाँकी दुई स्थानका लागि १० टोलीबीच विश्वव्यापी छनोट प्रतियोगिता आयोजना हुनेछ । सन् २०२६ को महिला टी–२० विश्वकपमा सहभागी भए पनि सन् २०२८ का लागि स्वतः छनोट हुन नसकेका नेदरल्यान्ड्स र स्कटल्यान्डले सीधै विश्वव्यापी छनोटमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरूसँगै सन् २०२७ मा आयोजना हुने पाँच क्षेत्रीय छनोट प्रतियोगिताबाट आठ टोली विश्वव्यापी छनोटमा पुग्नेछन् । उक्त प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२८ को महिला टी–२० विश्वकपमा बाँकी दुई स्थान सुरक्षित गर्नेछन् । १६- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा जय शाह दोस्रो कार्यकालका लागि निर्विरोध पुनः नियुक्त भएका छन् । इन्डोनेसियाको बालीमा बसेको आईसीसीको सञ्चालक समिति तथा विभिन्न समितिको बैठकले शाहलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो । पुनः नियुक्तिपछि शाहले आफूलाई विश्वास गरेकोमा सञ्चालक समिति र सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेका छन् । उनले क्रिकेटको विश्वव्यापी विस्तार, दर्शक सङ्ख्या वृद्धि र व्यावसायिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । उनले सन् २०२८ मा लस एन्जलस ओलम्पिकमा क्रिकेटको पुनरागमन खेलको विश्वव्यापी विकास र नयाँ पुस्तालाई आकर्षित गर्ने महत्त्वपूर्ण अवसर भएको बताएका छन् । शाहले २०२४ को डिसेम्बर १ देखि आइसीसी अध्यक्षको पद सम्हालेका थिए । पुन: नियुक्त भएसँगै उनी २०२८ को नोभेम्बरसम्म अध्यक्ष रहनेछन् । १७- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको रक्षा क्षमतामा असर परेको भन्दै स्टारलिंकको आशिंक प्रतिबन्ध हटाउन अमेरिका र एलन मस्कसँग आग्रह गरेका छन् । उनले जाडोयामअघि नागरिकको जीवन र ऊर्जा पूर्वाधारको सुरक्षा स्टारलिंक सेवाको प्रतिबन्ध हटाउने विषयमा निर्भर रहेको बताएका छन् । युक्रेनले रुसी क्षेप्यास्त्र र ड्रोन रोक्न प्रयोग गर्दै आएको सैन्य प्रयोजनको स्टारसिल्ड सेवामा गति सीमित गरिँदा युक्रेनी अवरोधक ड्रोनले प्रतिघण्टा १६१ किलोमिटरभन्दा बढी गतिमा उड्ने रुसी ड्रोनलाई पछ्याउन नसकेको जेलेन्स्कीको भनाइ छ । उनले अमेरिकी सरकार र मस्कको कम्पनीसँग नजिकबाट काम गर्न अधिकारीहरूलाई निर्देशन दिँदै इतिहासको सही पक्षमा उभिन आग्रह गरेका छन् । यसैबीच, रुसले युक्रेनका विभिन्न क्षेत्रमा ऊर्जा तथा रेल पूर्वाधारमा आक्रमण तीव्र बनाएको छ । जवाफमा युक्रेनले रुसका तेल प्रशोधन केन्द्र र पेट्रोकेमिकल उद्योगलाई निशाना बनाएको जनाएको छ । १८- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज मिथिलाञ्चलसहित देशका विभिन्न ठाउमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको हो । छठ पर्व विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलोदिन व्रतीले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन ( बिना नुन हालेको) खानेकुरा खाएका थिए । त्यस्तै षष्ठीका दिन साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए । षष्ठीका दिन हिजो आइतबार साँझ व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी अघ्र्य अर्पण गरेका थिए । त्यस्तै छठ पर्वको चौथो दिन अर्थात् आज एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गरिन्छ । महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ । तर चढाउने सामथ्र्य नभएका गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ । १९- युइएफए नेसन्स लिगअन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा स्पेनलाई ३–२ गोलले पराजित गर्दै इंग्ल्यान्ड समूह ‘ए३’ को विजेता बनेको छ । स्पेनको घरेलु मैदान म्याड्रिडस्थित रियाद एयर मेट्रोपोलिटानोमा भएको खेलमा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप विजेता स्पेनको ४३ खेलदेखिको अपराजित यात्रामा पूर्णविराम लगाएको हो । खेलको पहिलो हाफको अन्तिम मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा इंग्ल्यान्डले आफ्नो अग्रता थप बलियो बनायो। खेलको ५३औँ मिनेटमा एज्री कोन्साले गोल गर्दै अग्रता दोब्बर बनाए भने ५७औँ मिनेटमा बेन ह्वाइटले तेस्रो गोल थपे । तीन गोलले पछि परेको स्पेनले खेलमा पुनरागमनको प्रयास गरेको थियो । खेलको ६३औँ मिनेटमा इंग्ल्यान्डका इलियट एन्डरसन रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि स्पेनले खेलमा दबाब बढाएको थियो । त्यसको फाइदा उठाउँदै स्पेनका मिकेल ओयार्जाबालले ६५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । त्यसपछि निको विलियम्सले ७५औँ मिनेटमा लामिन यामालको पासमा गोल गर्दै स्पेनलाई ३–२ को स्थितिमा पुर्‍याए । खेलको अन्तिम समयसम्म स्पेनले बराबरी गोलको प्रयास गरे पनि सफल हुन सकेन। इंग्ल्यान्डले ३–२ को जित निकाल्दै महत्त्वपूर्ण तीन अंक जोड्यो । यस जितसँगै इंग्ल्यान्ड र स्पेन दुवैले समूह चरणमा १५–१५ अंक जोड्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन् । गोल अन्तरका आधारमा इंग्ल्यान्ड समूह विजेता बन्दा स्पेन उपविजेता बनेको छ । खेलमा पराजित भएसँगै स्पेनको लगातार ४३ खेलसम्म कायम रहेको अपराजित यात्रा पनि टुंगिएको छ । २०- ब्राजिलका चर्चित पूर्वफुटबलर रोनाल्डिन्हो ४६ वर्षको उमेरमा पुनः फुटबल मैदानमा फर्किएका छन् । उनले आइतबार इटालीको तेस्रो डिभिजन क्लब राभेन्नाबाट खेल्दै पुनरागमन गरेका हुन् । उक्त खेलमा राभेन्नाले २–० गोलको जित निकालेको छ । रोनाल्डिन्होले सन् २०१५ मा फ्लुमिनेन्सबाट आफ्नो अन्तिम व्यावसायिक खेल खेलेका थिए । त्यसपछि उनले फुटबलबाट संन्यास लिएका थिए। गत अगस्टमा लगानीकर्ताका रूपमा राभेन्ना क्लबमा जोडिएका उनी अहिले खेलाडीका रूपमा पनि मैदान फर्किएका हुन् । रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै, सन् २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिग उपाधि जितेका थिए। उनले बार्सिलोना र एसी मिलानबाट लिग उपाधिसमेत जितेका छन् । उनले सन् २००५ मा प्रतिष्ठित बालोन डी’ओर र फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए । आफ्नो व्यावसायिक खेल जीवनमा उनले कुल २९९ गोल गरेका थिए । बार्सिलोनाका अतिरिक्त रोनाल्डिन्होले पेरिस सेन्ट जर्मेन (पिएसजी), ग्रेमियो, फ्लामेङ्गो, एट्लेटिको मिनेरो, फ्लुमिनेन्स र मेक्सिकोको क्वेरेटारोबाट पनि खेलेका थिए । The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमको पुरुष भलिबलमा ३५ वर्षपछि अछामलाई स्वर्ण, महिलातर्फ कैलाली च्याम्पियन
Latest NewsJust now

सुदूरपश्चिमको पुरुष भलिबलमा ३५ वर्षपछि अछामलाई स्वर्ण, महिलातर्फ कैलाली च्याम्पियन

धनगढी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा अछामले उपाधि जितेको छ । महिलातर्फ भने कैलाली च्याम्पियन बनेको छ । सोमवार डडेलधुरामा सम्पन्न पुरुष भलिबलको... ...

रातोपाटी
सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने
Latest NewsJust now

सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने

डडेल्धुरा .। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आगामी मङ्सिर ८ गते लाग्ने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो... ...

रातोपाटी
साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी
Latest NewsJust now

साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी

कामबाट हटाइएपछि महिनौंसम्म पारिश्रमिक नपाउने र अर्को रोजगारीमा जान वा स्वदेश फर्कनसमेत कठिनाइ भोग्नुपरेको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनमा उल्लेख छ । ...

कान्तिपुर
दुधको मूल्य बढाउन किसानको माग
Latest NewsJust now

दुधको मूल्य बढाउन किसानको माग

मोहसिन अलिभरतपुर, कात्तिक ३० गते। बढ्दो महँगी र उत्पादन लागत वृद्धिलाई मध्यनजर गर्दै कच्चा दुधको न्यूनतम खरिद मूल्य बढाउन चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले माग गरेको छ । हाल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play