काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक भएको विवादित अडिओ प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्दै आफू कुनै पनि प्रकारको आर्थिक लेनदेन तथा अनुचित गतिविधिमा संलग्न नरहेको स्पष्ट पार्नुभएको छ। सभापति थापाले एक भिडियो सन्देश जारी गर्दै अडिओमा सुनिएका भनाइबारे आफूलाई कुनै जानकारी नभएको बताउनुभएको हो। अडिओ कहाँ, कसले, कहिले र किन बोलेको हो भन्ने विषयमा आफू अनभिज्ञ रहेको उहाँको भनाइ छ। नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले यसअघि नै केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै थापाले उक्त प्रकरणलाई बदनियतपूर्वक फैलाइएको हल्लाको संज्ञा दिनुभएको छ। उहाँले भन्नुभएको छ, ‘नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्व सबै खालको अनुसन्धानका लागि तयार छ। यो बदनियतका साथ चलाइएको हल्ला हो, यसलाई हामी पूर्ण रूपमा खारेज गर्छौँ।’ प्रहरीको अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको नाममा सार्वजनिक भएको अडिओमा आफ्नो विषयसमेत जोडिएको भन्दै थापाले त्यसको सत्यतथ्य अनुसन्धानबाटै बाहिर आउने बताउनुभएको छ। ‘त्यो अडिओ कहाँ बोलेको, कसले बोलेको, किन बोलेको, कहिले बोलेको थाहा छैन। बोलिएको हो कि बोलाइएको हो, यो पनि थाहा छैन,’ उहाँले भन्नुभएको छ। सभापति थापाले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्र परिवर्तनको मागसहित कार्यकर्ताले गरेको विद्रोहका रूपमा व्याख्या गर्नुभएको छ। भदौ २३ र २४ गते नवयुवाहरूले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तनका लागि आफूहरूले प्रयास गरेको उहाँको भनाइ छ। उहाँले विशेष महाधिवेशनको राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गर्दै भन्नुभएको छ, ‘नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा, राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन।’ अडिओ प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै हिँड्नुपर्ने अवस्था नरहेको बताउनुभएका थापाले अब प्रश्न आफूलाई नभई अनुसन्धानको दायरामा रहेका व्यक्तिहरूलाई गर्नुपर्ने धारणा राख्नुभएको छ। ‘अब प्रश्न हामीलाई सोध्ने होइन । प्रश्न कहाँ सोध्ने ? जहाँ सोध्नुपर्ने हो त्यहाँ सोध्ने,’ उहाँले भन्नुभएको छ। उहाँले निष्पक्ष अनुसन्धानमार्फत वास्तविकता बाहिर ल्याउन सञ्चारमाध्यम र सरोकारवालाहरूलाई समेत आग्रह गर्नुभएको छ। अडिओ सार्वजनिक भएपछि आफू राजनीतिक भेटघाटमा सक्रिय भएको विषयलाई समेत उहाँले नियमित राजनीतिक जिम्मेवारीसँग जोड्नुभएको छ। मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने अवस्था रहेकाले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट र संवाद गर्नु स्वाभाविक भएको उहाँको भनाइ छ। सभापति थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटलाई राजनीतिक संवादकै निरन्तरताका रूपमा व्याख्या गर्नुभएको छ। उहाँले वर्तमान सरकार पाँच वर्षका लागि आएको जनादेशको सम्मान गर्ने बताउँदै सरकारले सही काम गर्दा सहयोग र गलत काम गर्दा प्रश्न गर्ने कांग्रेसको नीति रहेको स्पष्ट पार्नुभएको छ। देशमा विपद्का कारण घरबारविहीन भएका नागरिकको पुनर्स्थापना, सुकुम्बासीको व्यवस्थापन, रोजगारी सिर्जना र लगानी अभिवृद्धि अहिलेका प्रमुख चुनौती रहेको उहाँले औँल्याउनुभएको छ। ‘सबैभन्दा ठूलो कुरा इकोनोमी छ, खोइ जब्स ? खोइ इन्भेस्टमेन्ट ? जताततै बर्बाद हुँदै गएको छ। यसलाई सम्हाल्ने कसरी हो ?’ भन्दै उहाँले सरकारको ध्यान आर्थिक अवस्था सुधार र जनताको समस्यातर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ। सरकारले लोकतान्त्रिक अधिकार खुम्च्याउने तथा राज्यका संस्थाहरूलाई कमजोर बनाउने काम गरेमा कांग्रेस चुप लागेर नबस्ने उहाँले चेतावनी दिनुभएको छ। लोकतान्त्रिक अधिकार र संस्थाहरूको संरक्षण गर्नु आफ्नो राजनीतिक जिम्मेवारी भएको उहाँको भनाइ छ। ‘डेमोक्रेटिक राइटलाई खुम्च्याउने कुरा, हाम्रा संस्थाहरूलाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मूकदर्शक भएर बस्दैनौँ, बोल्छौँ, प्रश्न गर्छौँ, पर्यो भने प्रतिवाद गर्छौँ,’ थापाले भन्नुभएको छ। आफूमाथि विभिन्न समयमा प्रायोजित र निर्मित भाष्य खडा गरेर चरित्रमाथि प्रश्न उठाउने प्रयास हुँदै आएको दाबी गर्दै उहाँले आफ्नो नैतिकता र इमानदारितामाथि कुनै सम्झौता नभएको जिकिर गर्नुभएको छ। ‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको पार्टी सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। मेरो हात सफा छ, माई ह्यान्ड्स आर क्लिन,’ उहाँले भिडियो सन्देशमा भन्नुभएको छ। आफूले विगतमा पनि शक्तिशाली सत्ताका गलत निर्णयविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै थापाले आफ्नो नैतिक बलकै कारण निरन्तर प्रश्न उठाउन सक्ने अवस्था बनेको बताउनुभएको छ। भिडियो सन्देशको अन्त्यमा उहाँले लोकतन्त्रमा प्रश्न गर्ने अधिकारको संरक्षण हुनुपर्नेमा विशेष जोड दिनुभएको छ। ‘यत्रो प्रायोजित हल्लाहरूका बीचमा प्रश्नहरू चाहिँ मर्नुहुँदैन । प्रश्न मर्यो भने डेमोक्रेसी सकिन्छ । डेमोक्रेसी मात्र होइन, हाम्रो प्रगति पनि सकिन्छ,’ उहाँले भन्नुभएको छ। लोकतन्त्रको संरक्षणका लागि प्रश्न गर्ने संस्कृतिलाई जीवित राख्नुपर्ने उल्लेख गर्दै थापाले सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिक सबैको ध्यान यसतर्फ जानुपर्ने आग्रह गर्नुभएको छ।
मेरो हात सफा छ, म कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन : गगन थापा

Read Complete Original Article
Published originally on जनताटाइम्स






