टाउको दुख्नु सामान्य समस्या हो। थकान, तनाव वा निद्राको कमीले पनि टाउको दुख्न सक्छ। तर टाउकोको एक भागमा असह्य पीडा हुनु, उज्यालो र चर्को आवाज सहन नसक्नु, वाकवाकी लाग्नु तथा बान्ता हुनुलाई सामान्य टाउको दुखाइका रूपमा लिनु हुँदैन। यस्ता लक्षण बारम्बार देखिएमा माइग्रेन हुन सक्छ।माइग्रेन मस्तिष्कको स्नायु प्रणालीसँग सम्बन्धित जटिल स्वास्थ्य समस्या हो। यसले दैनिक जीवन, काम गर्ने क्षमता, अध्ययन र मानसिक स्वास्थ्यमा समेत असर पार्न सक्छ। यसबारे स्नायु, नसा तथा मेरुदण्ड रोग विशेषज्ञ प्रा. डा. राजीव झासँग सृष्टि बरालले गरेको कुराकानीको सम्पादित अंश : माइग्रेन भनेको के हो? सामान्य टाउको दुखाइभन्दा कसरी फरक छ? माइग्रेन मस्तिष्क तथा स्नायु प्रणालीसँग सम्बन्धित प्राथमिक टाउको दुखाइ हो। प्राथमिक टाउको दुखाइ भन्नाले कुनै अर्को रोगको प्रत्यक्ष लक्षण नभई आफैँमा छुट्टै स्वास्थ्य समस्या भएर देखिने दुखाइलाई बुझिन्छ। यसमा मस्तिष्कको दुखाइसँग सम्बन्धित स्नायु प्रणाली सक्रिय हुँदा टाउको दुख्ने र त्यससँगै विभिन्न लक्षण देखिने गर्छन्। माइग्रेन हुँदा प्रायः टाउकोको एक भागमा धड्किएजस्तो, घोचेजस्तो वा असह्य पीडा हुन सक्छ। तर सबै बिरामीमा एउटै लक्षण देखिँदैन। कसैलाई टाउकोको दायाँ भागमा दुख्छ भने कसैलाई बायाँ भागमा। कतिपयलाई दुवैतिर पनि दुख्न सक्छ। सामान्य हिँडडुल, भर्याङ चढ्ने वा शारीरिक गतिविधि गर्दा दुखाइ झन् बढ्न सक्छ। यससँगै वाकवाकी लाग्ने, बान्ता हुने तथा प्रकाश र आवाज सहन नसक्ने समस्या देखिन सक्छ। टाउको दुखेको स्थानका आधारमा मात्रै माइग्रेन हो वा होइन भनेर छुट्याउन सकिँदैन। दुखाइको प्रकृति, अवधि, दोहोरिने आवृत्ति र अन्य लक्षणको मूल्याङ्कन आवश्यक हुन्छ। सामान्य तनावजन्य टाउको दुखाइमा भने प्रायः टाउको कस्सिएको, भारी भएको वा निधार र कनपटीमा दबाब परेको जस्तो अनुभव हुन्छ। यसमा माइग्रेनमा जस्तो वाकवाकी र प्रकाशप्रतिको संवेदनशीलता सधैँ देखिँदैन। त्यसैले टाउको दुखेको स्थानका आधारमा मात्रै माइग्रेन हो वा होइन भनेर छुट्याउन सकिँदैन। दुखाइको प्रकृति, अवधि, दोहोरिने आवृत्ति र अन्य लक्षणको मूल्याङ्कन आवश्यक हुन्छ। माइग्रेन हुँदा मस्तिष्कमा के हुन्छ? माइग्रेन हुनुको कारणलाई पहिले टाउकोका रक्तनली फुल्ने वा खुम्चिने प्रक्रियासँग मात्र जोडेर व्याख्या गरिन्थ्यो। तर अहिलेको वैज्ञानिक बुझाइमा यो मस्तिष्कको स्नायु प्रणालीसँग सम्बन्धित जटिल प्रक्रिया हो। मस्तिष्कमा दुखाइको सङ्केत प्रसारण गर्ने स्नायुहरूको सक्रियता, रासायनिक पदार्थ र विभिन्न जैविक प्रक्रियाले यसको आक्रमणमा भूमिका खेल्छन्। विशेषगरी ट्राइजेमिनोभास्कुलर प्रणाली र क्याल्सिटोनिन जिन रिलेटेड पेप्टाइड नामक प्रोटिन माइग्रेनको प्रक्रियामा महत्त्वपूर्ण मानिन्छन्। यी प्रक्रियामा परिवर्तन हुँदा दुखाइको अनुभूति बढ्न सक्छ। यसैले माइग्रेनलाई सामान्य थकान, कमजोरी वा कल्पनाको समस्या भनेर बुझ्नु गलत हुन्छ। यो वास्तविक स्नायुसम्बन्धी अवस्था हो, जसको उचित पहिचान र उपचार आवश्यक हुन्छ। माइग्रेन किन हुन्छ? माइग्रेनको एउटै निश्चित कारण हुँदैन। यसमा वंशाणुगत संवेदनशीलता, मस्तिष्कको स्नायु प्रणालीको अवस्था, हर्मोनको परिवर्तन तथा वातावरणीय पक्षले भूमिका खेल्न सक्छन्। परिवारमा माइग्रेनको इतिहास भएका व्यक्तिमा यसको सम्भावना बढी हुन सक्छ। तर परिवारमा कसैलाई माइग्रेन छ भन्दैमा अर्को सदस्यलाई अनिवार्य रूपमा हुन्छ भन्ने होइन। माइग्रेन भएका सबै व्यक्तिमा एउटै कारणले टाउको दुख्छ भन्ने हुँदैन। प्रत्येक व्यक्तिमा समस्या बढाउने कारण फरक हुन सक्छ। निद्राको कमी, लामो समय भोकै बस्ने, पर्याप्त पानी नपिउने, अत्यधिक थकान र मानसिक तनावले माइग्रेनको आक्रमण उत्प्रेरित गर्न सक्छन्। कतिपय व्यक्तिमा चर्को घाम, तीव्र गन्ध, ध्वनि प्रदूषण र मौसममा हुने परिवर्तनले पनि समस्या बढाउन सक्छ। त्यसैले माइग्रेन भएका सबै व्यक्तिमा एउटै कारणले टाउको दुख्छ भन्ने हुँदैन। प्रत्येक व्यक्तिमा समस्या बढाउने कारण फरक हुन सक्छ। तनाव र माइग्रेनबीच पनि सम्बन्ध देखिन्छ। अत्यधिक तनाव हुँदा स्नायु प्रणालीमा हुने परिवर्तनले केही व्यक्तिमा आक्रमण सुरु गराउन सक्छ। त्यस्तै, बारम्बार माइग्रेन हुने व्यक्तिमा पीडाका कारण चिन्ता, मानसिक थकान र निराशा बढ्न सक्छ। त्यसैले तनाव व्यवस्थापनलाई माइग्रेन नियन्त्रणको महत्त्वपूर्ण पक्ष मानिन्छ। मोबाइल र अनियमित निद्राले माइग्रेन बढाउँछन्? आजभोलि धेरै मानिस दिनको लामो समय मोबाइल, कम्प्युटर र ल्यापटपको स्क्रिनमा बिताउँछन्। कार्यालयमा काम गर्ने, अनलाइन अध्ययन गर्ने तथा सामाजिक सञ्जालमा धेरै समय बिताउने व्यक्तिमा टाउको दुख्ने समस्या देखिन सक्छ। स्क्रिनको अत्यधिक उज्यालो, लगातार आँखामा पर्ने दबाब, गलत बसाइ र निद्राको कमीले टाउको दुखाइ बढाउन सक्छ। राति अबेरसम्म जागा बस्ने, पर्याप्त नसुत्ने वा सुत्ने र उठ्ने समय बारम्बार परिवर्तन गर्दा समस्या दोहोरिन सक्छ। त्यसैले नियमित समयमा सुत्ने, पर्याप्त आराम गर्ने र स्क्रिन प्रयोग गर्दा बीचबीचमा विश्राम लिने बानी उपयोगी हुन्छ। माइग्रेन भएका व्यक्तिमा प्रकाशप्रतिको संवेदनशीलता बढी हुने भएकाले स्क्रिनको उज्यालोले पीडा थप असहज बनाउन सक्छ। तर मोबाइल वा ल्यापटपको प्रयोग नै माइग्रेनको प्रत्यक्ष कारण हो भन्न मिल्दैन। यसले कतिपय व्यक्तिमा आक्रमण उत्प्रेरित गर्न वा पहिलेदेखिको समस्या बढाउन सक्छ। निद्राको अनियमितता पनि माइग्रेनको महत्त्वपूर्ण उत्प्रेरक हो। राति अबेरसम्म जागा बस्ने, पर्याप्त नसुत्ने वा सुत्ने र उठ्ने समय बारम्बार परिवर्तन गर्दा समस्या दोहोरिन सक्छ। त्यसैले नियमित समयमा सुत्ने, पर्याप्त आराम गर्ने र स्क्रिन प्रयोग गर्दा बीचबीचमा विश्राम लिने बानी उपयोगी हुन्छ। महिलामा माइग्रेन बढी देखिनुको कारण के हो? पुरुषको तुलनामा महिलामा माइग्रेन बढी देखिन्छ। विशेषगरी किशोरावस्थापछि महिलामा यसको समस्या बढ्न सक्छ। यसको एउटा महत्त्वपूर्ण कारण हर्मोनको उतारचढाव हो। महिनावारी सुरु हुनुअघि एस्ट्रोजेन हर्मोनको स्तरमा परिवर्तन हुँदा कतिपय महिलामा माइग्रेनको आक्रमण हुन सक्छ। कसैलाई महिनावारी सुरु हुनुअघि टाउको दुख्ने गर्छ भने कसैलाई महिनावारीकै समयमा समस्या देखिन्छ। गर्भावस्था, सुत्केरी अवस्था र रजोनिवृत्तिको समयमा पनि माइग्रेनको स्वरूप परिवर्तन हुन सक्छ। त्यसैले महिलामा बारम्बार टाउको दुख्ने समस्या देखिएमा त्यसलाई सामान्य थकान वा हर्मोनको प्रभाव भनेर मात्रै बेवास्ता गर्नु हुँदैन। उपचार गर्दा गर्भावस्था वा गर्भधारणको योजनालाई समेत ध्यान दिनुपर्छ। अउरा भनेको के हो? माइग्रेन भएका केही व्यक्तिमा टाउको दुख्नुअघि वा दुखाइ भइरहँदा विशेष प्रकारका स्नायुसम्बन्धी लक्षण देखिन्छन्। यसलाई माइग्रेन अउरा भनिन्छ। यस्तो अवस्थामा आँखाअगाडि चम्किलो प्रकाश देखिने, बिजुली चम्किएजस्तो हुने, टेढामेढा रेखा देखिने वा दृष्टिको केही भाग धमिलो हुने हुन सक्छ। कतिपय व्यक्तिमा हातखुट्टा झमझमाउने, शरीरका केही भाग लाटो हुने र बोल्न कठिनाइ हुने लक्षण पनि देखिन सक्छन्। पहिलोपटक अचानक दृष्टि गुम्ने, शरीरको एक भाग कमजोर हुने वा बोली बिग्रने समस्या आएको छ भने त्यसलाई माइग्रेन मात्रै भनेर बेवास्ता गर्नु हुँदैन। स्ट्रोकजस्ता गम्भीर अवस्थाको सम्भावना पनि जाँच गर्नुपर्छ। अउरा सामान्यतया अस्थायी हुन्छ र धेरैजसो अवस्थामा ५ देखि ६० मिनेटसम्म रहन सक्छ। तर पहिलोपटक अचानक दृष्टि गुम्ने, शरीरको एक भाग कमजोर हुने वा बोली बिग्रने समस्या आएको छ भने त्यसलाई माइग्रेन मात्रै भनेर बेवास्ता गर्नु हुँदैन। स्ट्रोकजस्ता गम्भीर अवस्थाको सम्भावना पनि जाँच गर्नुपर्छ। माइग्रेन कसरी पहिचान हुन्छ? सबैलाई एमआरआई चाहिन्छ? माइग्रेनको पहिचान मुख्यतः बिरामीको लक्षण, स्वास्थ्य इतिहास र चिकित्सकीय परीक्षणका आधारमा गरिन्छ। टाउको कति समयदेखि दुखिरहेको छ, महिनामा कति पटक दुख्छ, दुखाइको प्रकृति कस्तो छ, कति समयसम्म रहन्छ र अन्य लक्षण देखिन्छन् कि देखिँदैनन् भन्ने जानकारी महत्त्वपूर्ण हुन्छ। सबै माइग्रेनका बिरामीलाई एमआरआई वा सिटी स्क्यान गर्नुपर्ने हुँदैन। तर टाउको दुखाइ असामान्य छ, अचानक अत्यधिक पीडा सुरु भएको छ, स्नायुसम्बन्धी कमजोरी देखिएको छ वा अन्य गम्भीर रोगको शङ्का छ भने चिकित्सकले आवश्यक परीक्षण गर्न सक्छन्। यसैले टाउको दुख्नेबित्तिकै आफैँले महँगो परीक्षण गराउनुभन्दा चिकित्सकको मूल्याङ्कनअनुसार परीक्षण गर्नु उचित हुन्छ। पेनकिलरको धेरै प्रयोगले झन् टाउको दुख्छ ? टाउको दुख्नेबित्तिकै पेनकिलर खाने बानी धेरैमा हुन्छ। औषधि सेवन गर्दा तत्काल राहत मिल्ने भएकाले कतिपयले चिकित्सकको सल्लाहबिना नै पटकपटक औषधि प्रयोग गर्छन्। तर लामो समयसम्म अत्यधिक मात्रामा दुखाइ कम गर्ने औषधि प्रयोग गर्दा उल्टै टाउको दुख्ने समस्या बढ्न सक्छ। यसलाई औषधिको अत्यधिक प्रयोगका कारण हुने टाउको दुखाइ भनिन्छ। यस्तो अवस्थामा औषधिको प्रयोग बढ्दै जाने र औषधि नखाँदा फेरि टाउको दुख्ने समस्या देखिन सक्छ। केही पेनकिलरको अनियन्त्रित प्रयोगले पेट र मिर्गौलामा समेत असर पुर्याउन सक्छ। त्यसैले माइग्रेन भएका व्यक्तिले आफूखुसी औषधिको मात्रा बढाउने वा लामो समयसम्म प्रयोग गर्ने गर्नु हुँदैन। माइग्रेन निको हुन्छ कि जीवनभर औषधि खानुपर्छ? माइग्रेनको उपचारको मुख्य उद्देश्य दुखाइ कम गर्नु, आक्रमणको अवधि घटाउनु, दोहोरिने समस्या नियन्त्रण गर्नु र बिरामीको दैनिक जीवन सहज बनाउनु हो। यसको उपचारमा तत्काल दुखाइ कम गर्ने औषधि र भविष्यमा आक्रमणको सम्भावना घटाउने रोकथामका औषधि प्रयोग गरिन्छ। उमेर, लक्षण, आक्रमणको आवृत्ति, अन्य रोग र औषधिको प्रतिक्रियाका आधारमा उपचार छनोट गरिन्छ। माइग्रेन भएका सबैले जीवनभर औषधि खानुपर्छ भन्ने होइन। आवश्यकताअनुसार चिकित्सकले सामान्य दुखाइ कम गर्ने औषधि, ट्रिप्टान समूहका औषधि, वाकवाकी नियन्त्रण गर्ने औषधि तथा रोकथामका लागि अन्य औषधि सिफारिस गर्न सक्छन्। तर सबै बिरामीलाई एउटै औषधि उपयुक्त हुँदैन। उमेर, लक्षण, आक्रमणको आवृत्ति, अन्य रोग र औषधिको प्रतिक्रियाका आधारमा उपचार छनोट गरिन्छ। माइग्रेन भएका सबैले जीवनभर औषधि खानुपर्छ भन्ने होइन। कतिपयमा उपचार र जीवनशैली परिवर्तनपछि आक्रमण कम हुन सक्छ। तर कसैमा लामो समयसम्म रोकथामको उपचार आवश्यक पर्न सक्छ। माइग्रेनले स्मरणशक्ति र मानसिक स्वास्थ्यमा असर गर्छ? माइग्रेनको प्रभाव टाउको दुखाइमा मात्र सीमित हुँदैन। बारम्बार हुने पीडाले व्यक्तिको एकाग्रता, काम गर्ने क्षमता, पढाइ र सामाजिक जीवन प्रभावित हुन सक्छ। कतिपय व्यक्तिलाई आक्रमण सुरु हुने डरले नियमित काम तथा यात्रासमेत योजना बनाउन कठिन हुन्छ। त्यस्तै, माइग्रेन र चिन्ता तथा डिप्रेसनबीच पनि सम्बन्ध देखिएको छ। बारम्बारको पीडा र दैनिक जीवनमा आउने अवरोधले मानसिक स्वास्थ्यमा थप असर पार्न सक्छ। माइग्रेन हुँदा केही समय ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ, थकान र मानसिक धुम्मपन महसुस हुन सक्छ। त्यसैले यसको उपचार गर्दा शारीरिक लक्षणसँगै मानसिक र सामाजिक प्रभावलाई पनि ध्यान दिनुपर्छ। कस्तो टाउको दुखाइलाई गम्भीर मान्ने? टाउको दुखाइका सबै समस्या माइग्रेन हुँदैनन्। कहिलेकाहीँ टाउको दुखाइ मस्तिष्कमा रक्तस्राव, स्ट्रोक, संक्रमण वा अन्य गम्भीर रोगको सङ्केत पनि हुन सक्छ। विशेषगरी जीवनमै पहिलोपटक अचानक असह्य टाउको दुख्नु, हातखुट्टा कमजोर हुनु, अनुहार बाङ्गिनु, बोली बिग्रनु, बेहोस हुनु, ज्वरोसँगै घाँटी कडा हुनु वा टाउकोमा चोट लागेपछि दुखाइ सुरु हुनु गम्भीर सङ्केत हुन सक्छन्। यस्तो अवस्थामा सामान्य पेनकिलर खाएर घरमै बस्नु हुँदैन। तत्काल अस्पताल पुगेर चिकित्सकीय परीक्षण गराउनु आवश्यक हुन्छ। पहिलेको भन्दा फरक प्रकृतिको टाउको दुखाइ देखिएमा पनि चिकित्सकको सल्लाह लिनुपर्छ। माइग्रेनको आक्रमण कति समयसम्म रहन्छ? माइग्रेनको आक्रमण सामान्यतया ४ घण्टादेखि ७२ घण्टासम्म रहन सक्छ। तर यसको अवधि व्यक्तिअनुसार फरक हुन्छ। कसैलाई केही घण्टामै दुखाइ कम हुन्छ भने कसैलाई दुईदेखि तीन दिनसम्म पनि असह्य पीडा हुन सक्छ। कतिपय अवस्थामा दुखाइ कम भइसकेपछि पनि थकान, कमजोरी र शरीर भारी भएको अनुभव रहन सक्छ। लामो समयसम्म दुखाइ भइरहेमा वा सामान्य उपचारले नियन्त्रण नभएमा चिकित्सकसँग परामर्श लिनुपर्छ। माइग्रेन हुँदा खानपानमा के ध्यान दिने? माइग्रेन नियन्त्रणमा खानपानको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। लामो समय भोकै बस्ने, खाना खाने समय अनियमित बनाउने र पर्याप्त पानी नपिउने बानीले केही व्यक्तिमा माइग्रेनको आक्रमण गराउन सक्छ। कतिपयलाई चकलेट, प्रशोधित खानेकुरा, अत्यधिक क्याफिन वा केही विशेष खानेकुराले समस्या बढाउन सक्छ। तर सबै व्यक्तिमा एउटै खानेकुराले माइग्रेन गराउँदैन। त्यसैले कुन खानेकुरा खाँदा समस्या बढ्छ भन्ने पहिचान गरी सन्तुलित खानपान अपनाउनु आवश्यक हुन्छ। बालबालिकामा पनि माइग्रेन हुन्छ? माइग्रेन वयस्कमा मात्र हुने समस्या होइन। बालबालिका तथा किशोरकिशोरीमा पनि यो समस्या देखिन सक्छ। बालबालिकाले टाउको दुखेको स्पष्ट रूपमा बताउन नसक्ने भएकाले वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, प्रकाश सहन नसक्ने वा खेल्न र पढ्न मन नगर्ने जस्ता लक्षण देखिन सक्छन्। विद्यालय जाने उमेरका बालबालिकामा बारम्बार टाउको दुख्ने समस्या देखिएमा त्यसलाई पढाइको तनाव वा सामान्य थकान भनेर मात्रै बेवास्ता गर्नु हुँदैन। आवश्यक चिकित्सकीय परीक्षण र उचित उपचार महत्त्वपूर्ण हुन्छ। महिनामा कति दिन माइग्रेन भए रोकथामको औषधि चाहिन्छ? माइग्रेन बारम्बार दोहोरिने, महिनामा धेरै दिन टाउको दुख्ने, दुखाइ अत्यधिक हुने वा दैनिक कामकाज प्रभावित हुने अवस्थामा रोकथामका औषधिको आवश्यकता पर्न सक्छ। सामान्यतया महिनामा चार वा सोभन्दा बढी दिन माइग्रेन हुने व्यक्तिमा पनि यस्तो उपचारबारे चिकित्सकले विचार गर्न सक्छन्। रोकथामका औषधिले भविष्यमा माइग्रेनको आक्रमण कम गर्ने र दुखाइको तीव्रता घटाउने उद्देश्य राख्छन्। तर औषधि सुरु गर्ने वा बन्द गर्ने निर्णय बिरामीको अवस्था, अन्य स्वास्थ्य समस्या र माइग्रेनको प्रकृतिका आधारमा चिकित्सकले गर्नुपर्छ। जीवनशैली परिवर्तनले माइग्रेन नियन्त्रण गर्न सकिन्छ? माइग्रेन नियन्त्रणमा औषधिसँगै जीवनशैलीको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। नियमित निद्रा, समयमा खाना खाने बानी, पर्याप्त पानी पिउने, नियमित शारीरिक गतिविधि र मानसिक तनाव व्यवस्थापनले आक्रमणको आवृत्ति घटाउन मद्दत गर्न सक्छ। लामो समय भोकै बस्ने, निद्रा बिगार्ने र आफूलाई समस्या बढाउने खानेकुरा वा वातावरणीय कारणलाई बेवास्ता गर्ने बानी सुधार्नुपर्छ। बारम्बार टाउको दुख्ने, औषधि खाँदा पनि समस्या दोहोरिने र दैनिक काममा बाधा पुग्ने अवस्था भएमा समयमै चिकित्सकसँग परामर्श लिनुपर्छ। उचित पहिचान, उपचार, नियमित निद्रा, सन्तुलित खानपान र स्वस्थ जीवनशैली अपनाउन सके माइग्रेनलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ। माइग्रेन भएका व्यक्तिले टाउको दुखेको दिन, दुखाइको अवधि, खानपान, निद्रा र सम्भावित कारणको विवरण राख्नु उपयोगी हुन्छ। यसबाट आफ्नो समस्या बढाउने कारण पहिचान गर्न सजिलो हुन्छ। सबै व्यक्तिमा एउटै खानेकुराले माइग्रेन गराउँदैन। त्यसैले अनावश्यक रूपमा धेरै खाद्यपदार्थ बन्द गर्नुभन्दा आफ्नो शरीरमा कस्तो प्रतिक्रिया देखिन्छ भन्ने बुझ्नु महत्त्वपूर्ण हुन्छ। अन्ततः माइग्रेनलाई सामान्य टाउको दुखाइ भनेर बेवास्ता गर्नु हुँदैन। बारम्बार टाउको दुख्ने, औषधि खाँदा पनि समस्या दोहोरिने र दैनिक काममा बाधा पुग्ने अवस्था भएमा समयमै चिकित्सकसँग परामर्श लिनुपर्छ। उचित पहिचान, उपचार, नियमित निद्रा, सन्तुलित खानपान र स्वस्थ जीवनशैली अपनाउन सके माइग्रेनलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ। माइग्रेन भएका व्यक्तिले पीडा सहेर बस्नुपर्ने वा आफूखुसी औषधि खाइरहनुपर्ने अवस्था छैन। सही उपचार र चिकित्सकीय निगरानीले जीवनको गुणस्तर सुधार्न सकिन्छ।
‘माइग्रेनलाई सामान्य टाउको दुखाइ नठानौँ’

Read Complete Original Article
Published originally on नेपालन्युज





![रसुवाका तीन सय बाढी प्रभावित परिवारमा मानवीय राहत र शैक्षिक सहयोग [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/help-students%20(5).jpg)
