काठमाडौं । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि चुनावले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनौती बढाउन सक्ने विश्लेषण गरिएको छ । यस चुनावले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधिसभा) गरी अमेरिकी संसद्का दुवै सदनको शक्ति सन्तुलन निर्धारण गर्नेछ । यसपटक सिनेटका १०० मध्ये ३५ सिटमा चुनाव हुँदै छ । तीमध्ये ३३ नियमित र दुई विशेष चुनाव हुन् । हाल सिनेटमा रिपब्लिकन पार्टीका ५३ र डेमोक्रेटिक पार्टीका ४५ सदस्य छन् । दुई स्वतन्त्र सांसदले डेमोक्रेटहरूसँग मिलेर काम गरिरहेका छन् । यस्तो अवस्थामा सिनेटमा रिपब्लिकनको बहुमत खोस्न डेमोक्रेटहरूले कम्तीमा चार सिट थप जित्नुपर्ने हुन्छ । सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक छ । १० राज्यका चुनावी प्रतिस्पर्धाले सिनेटको शक्ति सन्तुलन निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताइएको छ । महँगी, इरानसँगको युद्ध, इन्धन र खेतीको बढ्दो लागतजस्ता मुद्दाले ती राज्यमा चुनावी प्रतिस्पर्धालाई रोचक बनाएका छन् । तीमध्ये केही राज्यलाई यसअघि रिपब्लिकन पार्टीको बलियो गढ मानिन्थ्यो । के हो मध्यावधि चुनाव र किन महत्त्वपूर्ण छ ? अमेरिकामा राष्ट्रपतिको चुनाव प्रत्येक चार वर्षमा हुन्छ भने संसद् (कंग्रेस) को चुनाव प्रत्येक दुई वर्षमा हुन्छ । राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा, अर्थात् दुई वर्षपछि हुने चुनावलाई मध्यावधि चुनाव (मिडटर्म इलेक्सन्स) भनिन्छ । यसमा संसद्का दुवै सदनका लागि मतदान हुन्छ । हाउस अफ रिप्रेजेन्टेटिभ्सका सबै ४३५ र सिनेटका करिब एकतिहाइ सिटमा चुनाव हुन्छ । सिनेटमा प्रत्येक राज्यका दुई प्रतिनिधि हुन्छन् । कुल १०० सदस्य रहेको यस सदनको कार्यकाल ६ वर्षको हुन्छ । सबै सदस्यको चुनाव एकैपटक हुँदैन । प्रत्येक दुई वर्षमा करिब एकतिहाइ सिटका लागि चुनाव गराइन्छ । हाउस अफ रिप्रेजेन्टेटिभ्सका सबै ४३५ सिटमा भने प्रत्येक दुई वर्षमा चुनाव हुन्छ । हाल यस सदनमा डेमोक्रेटका २१४ र रिपब्लिकनका २१८ सदस्य छन् । यदि डेमोक्रेटिक पार्टीले कंग्रेसको एक वा दुवै सदनमा बहुमत हासिल गर्यो भने ट्रम्पलाई आफ्ना निर्णय कार्यान्वयन गर्न कठिन हुन सक्छ । १० राज्यमा कुन–कुन सिटमा छ प्रतिस्पर्धा ? महत्त्वपूर्ण मानिएका बिभिन्न १० राज्यका सिटमध्ये सातमा रिपब्लिकन र तीनमा डेमोक्रेटिक पार्टीका सांसद छन् । अलास्का यहाँ रिपब्लिकन सिनेटर ड्यान सुलिभानको प्रतिस्पर्धा डेमोक्रेटिक उमेदवार तथा पूर्वसांसद मेरी पेल्टोलासँग छ । ड्यान सुलिभान नाम गरेका एक स्वतन्त्र उमेदवार पनि चुनावी मैदानमा छन् । यस राज्यमा मतदाताले उमेदवारलाई आफ्नो प्राथमिकताअनुसार क्रमबद्ध गरेर मत दिन्छन् । यसलाई र्यांक्ड च्वाइस भोटिङ भनिन्छ । सन् २०२४ मा ट्रम्पले अलास्का १३ प्रतिशत मतान्तरले जितेका थिए । तर, अक्टोबरमा गरिएको सर्वेक्षणमा पेल्टोलाले सामान्य अग्रता लिएको देखिएको छ । आईवा र क्यान्सास आईवामा रिपब्लिकन सांसद जोनी अर्न्स्टले चुनाव नलड्ने भएपछि उनको सिट खाली छ । यहाँ रिपब्लिकन एश्ले हिंसन र डेमोक्रेट जोश ट्युरेकबीच प्रतिस्पर्धा छ । क्यान्सासमा रिपब्लिकन सिनेटर रोजर मार्शलको मुकाबिला डेमोक्रेट एडम ह्यामिल्टनसँग हुँदै छ । सन् १९३२ पछि क्यान्सासमा कुनै पनि डेमोक्रेटले सिनेट चुनाव जितेका छैनन् । यसपटक खेतीको बढ्दो लागत, ट्रम्पको ट्यारिफ नीति र इरान युद्धप्रति असन्तुष्टि चुनावी मुद्दा बनेका छन् । मेन र उत्तर क्यारोलिना मेनमा रिपब्लिकन सिनेटर सुसान कोलिन्सको प्रतिस्पर्धा डेमोक्रेट ट्रोय ज्याक्सनसँग छ । उत्तर क्यारोलिनामा भने डेमोक्रेट पूर्वगभर्नर रोय कूपर र रिपब्लिकन माइकल ह्वाटलीबीच प्रतिस्पर्धा हुँदै छ । ट्रम्पले पनि यस राज्यमा कूपरको स्थिति बलियो रहेको स्वीकार गरेका छन् । अक्टोबरको सर्वेक्षणमा कूपरले दोहोरो अंकको अग्रता लिएको देखाइएको छ । ओहायो र टेक्सस ओहायोमा डेमोक्रेट शेरोड ब्राउन रिपब्लिकन जोन हस्टेडविरुद्ध चुनावी मैदानमा छन् । उपराष्ट्रपति जेडी भान्सले सिनेट छाडेपछि हस्टेडलाई उक्त सिटमा नियुक्त गरिएको थियो । टेक्ससमा डेमोक्रेट जेम्स टालारिको र रिपब्लिकन केन पाक्सटनबीच प्रतिस्पर्धा छ । सन् १९९४ यता टेक्ससमा कुनै पनि डेमोक्रेटले मध्यावधि चुनाव जितेका छैनन् । यसका बाबजुद अक्टोबरका सर्वेक्षणमा टालारिको सामान्य अग्रतामा वा प्रतिस्पर्धी उमेदवारसँग बराबरीमा देखिएका छन् । जर्जिया, मिचिगन र न्यु ह्याम्पसायर जर्जियामा डेमोक्रेटिक सिनेटर जोन ओसोफको प्रतिस्पर्धा रिपब्लिकन माइक कोलिन्ससँग छ । मिचिगनमा डेमोक्रेट अब्दुल अल–सईद र रिपब्लिकन माइक रोजर्सबीच प्रतिस्पर्धा हुँदै छ । न्यु ह्याम्पसायरमा डेमोक्रेट क्रिस पापासको मुकाबिला पूर्वरिपब्लिकन सिनेटर जोन सुनुनुसँग छ । अक्टोबरको सर्वेक्षणमा ओसोफ, अल–सईद र पापासले आ–आफ्नो प्रतिस्पर्धामा अग्रता लिएको देखाइएको छ । यी प्रतिस्पर्धामा उमेदवारहरूको लोकप्रियतासँगै चुनावी चन्दा र प्रचारप्रसारमा हुने खर्चले पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । टेक्ससमा एलन मस्कले पाक्सटनको समर्थन गर्ने रिपब्लिकन सुपर पीएसीलाई १५ करोड ८० लाख डलर दिएका छन् । ओहायोमा दुवै पार्टीका समर्थक समूहहरूले करोडौँ डलर खर्च गरेका छन् । सिनेटमा बहुमत प्राप्त हुँदा ट्रम्पलाई कस्तो असर पर्ला ? अमेरिकामा राष्ट्रपतिले सरकार सञ्चालन गर्छन् । तर, कानुन निर्माण र ठूला निर्णयका लागि उनलाई संसद्को समर्थन आवश्यक पर्छ । राष्ट्रपतिले नियुक्त गर्ने सर्वोच्च अदालतका न्यायाधीशसहित अन्य उच्च सरकारी पदका अधिकारीको नियुक्ति अनुमोदन गर्ने वा रोक्ने अधिकार सिनेटसँग हुन्छ । अन्तर्राष्ट्रिय सन्धि अनुमोदनमा पनि सिनेटको महत्त्वपूर्ण भूमिका हुन्छ । यसबाहेक, राष्ट्रपतिविरुद्ध महाअभियोग प्रक्रिया अघि बढेमा सिनेटले त्यसको सुनुवाइ गर्छ । यदि डेमोक्रेटहरूले सिनेटमा बहुमत हासिल गरे भने ट्रम्पलाई आफ्ना एजेन्डा अघि बढाउन कठिन हुन सक्ने बताइएको छ । उनले प्रस्ताव गरेका उच्च सरकारी पदका उमेदवारको नियुक्ति रोक्न सकिन्छ । कानुन र बजेटका विषयमा दुवै पार्टीबीच टकराव बढ्न सक्छ । सिनेटका समितिहरूले सरकारका निर्णय र कामकारबाहीमाथि छानबिन गर्न सक्छन् । यद्यपि, सीनेटमा बहुमत गुमाउँदैमा ट्रम्पले राष्ट्रपति पद गुमाउने वा उनको सरकार तत्काल ढल्ने होइन । उनको कार्यकाल जारी रहनेछ । तर, संसद्मा विपक्षीको नियन्त्रण बढ्दा उनका निर्णयमाथि प्रश्न उठाउने र चुनौती दिने शक्ति पनि बढ्ने बताइएको छ ।
मध्यावधि चुनावमा ट्रम्पको अग्निपरीक्षा, सिनेटका यी १० सिटमा किन छ नजर ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






