काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको १६ शीर्षकका शुल्क मिनाहा गर्ने निर्णय गरेको छ। बाढीका कारण विस्थापित तथा प्रभावित भएका वार्षिक र सेमेस्टर प्रणालीमा अध्ययनरत विद्यार्थीका साथै आगामी शैक्षिक सत्रमा नयाँ भर्ना हुन चाहने विद्यार्थीले यो सुविधा पाउने भएका छन्। त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा शुल्क मिनाहा गरिनेछ। धरौटी र परीक्षा शुल्कबाहेकका शुल्क मिनाहा हुने उनले जानकारी दिए। त्रिविले फाराम नम्बर १ मा उल्लेखित शुल्क मिनाहा गर्न सबै क्याम्पस, केन्द्रीय विभाग र केन्द्रलाई निर्देशन दिएको छ। मिनाहा हुने शुल्कमा क्याम्पस प्रवेश, त्रिभुवन विश्वविद्यालय दर्ता, शिक्षण, परिचयपत्र, खेलकुद, प्रयोगशाला, पुस्तकालय, परीक्षा, छात्रावास, जरिबाना, शोधपत्र र विविध शुल्क रहेका छन्। यस्तै, पुस्तकालय धरौटी, छात्रावास धरौटी, प्रयोगशाला धरौटी र विविध विद्यार्थी धरौटी शुल्कसमेत मिनाहा हुने त्रिविले जनाएको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विद्यार्थी प्रभावित भएका छन्। तोकिएको शैक्षिक सत्रको वार्षिक वा सेमेस्टर प्रणालीमा भर्ना भई अध्ययन गरिरहेका तथा आगामी शैक्षिक सत्रमा भर्ना हुन योग्यता पुगेका विद्यार्थीले यो सुविधा पाउनेछन्। त्रिविका अनुसार शुल्क मिनाहासम्बन्धी व्यवस्था आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्म मात्र लागू हुनेछ।
भोटेकोशी बाढी प्रभावित विद्यार्थीको १६ शीर्षकका शुल्क मिनाहा गर्ने त्रिविको निर्णय

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






