भोजपुर । भोजपुरमा सञ्चालन भएको चौथो संस्करणको वडाध्यक्ष कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि युनिटी–७ ले जितेको छ । आज उपाधिका लागि आम्तेक–११ र युनिटी–७ बीच भएको फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । ट्राइब्रेकरमा आम्तेक–११ लाई ३–१ गोलले पराजित गर्दै युनिटी–७ ले उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधिसँगै विजेता युनिटी–७ ले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको आम्तेक–११ ले ५१ हजार एक सय ११ रुपैयाँमा चित्त बुझाएको छ । आयोजक संस्थाका खेल संयोजक सन्तोष तामाङले पुरस्कार राशिबारे जानकारी दिनुभयो । मङ्सिर ४ गतेदेखि भोजपुर सदरमुकामस्थित स्थानीय टुँडिखेलमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगिताको व्यक्तिगत विधातर्फ म्यान अफ द म्याच तथा उत्कृष्ट गोलरक्षकको उपाधि युनिटी–७ का नवीन पोखरेलले प्राप्त गर्नुभयो । त्यसैगरी, उत्कृष्ट खेलाडी युनिटी–७ कै निकेन राई घोषित हुनुभयो । प्रतियोगितामा उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरले समेत पुरस्कार प्राप्त गरेका छन् । विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई मुख्य प्रायोजक भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जयबहादुर तामाङलगायत अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको मुख्य प्रायोजन भोजपुर नगरपालिका वडा नम्बर ७ ले गरेको थियो भने भोजपुर जिल्ला फुटबल सङ्घले खेल संयोजन गरेको थियो । प्रतियोगितामा समूह ‘क’ तर्फ बोखिम फुटबल क्लब, आम्तेक–११, भोजपुर–१०, खेलकुद विकास समिति–६, टेम्केमैयुङ, जयबुद्ध, बिहानी फुटबल क्लब र पौवादुङमा कलेक्सन सहभागी थिए । त्यस्तै, समूह ‘ख’ तर्फ भोर्टोक्स फुटबल क्लब, अन्नपूर्ण फुटबल क्लब, बोखिम, कोदार फुटबल क्लब, सेभेन स्टार फुटबल क्लब, रिमाचुङ, युनिटी–७ र चौतारी फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए ।
भोजपुरमा जारी वडाध्यक्ष कपको उपाधि युनिटी–७ लाई

Read Complete Original Article
Published originally on हिमालय टाइम्स




%20(1)-f4429fdd-1866-4975-acd0-a0308fb52b1e.jpeg&w=1200&q=75)

