काठमाडौँ। आकर्षक वैदेशिक रोजगारीको सुन्दर सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक उद्धार गरिएका तीन नेपालीको पारिवारिक पुनर्मिलन भएको छ। सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको कोठामा बन्धक बनाएर राखिएका उनीहरूलाई सामाजिक संस्था किन इण्डियाले उद्धार गरेको थियो। संस्थाका प्रतिनिधि महिन्द्र भट्टराईका अनुसार हिजो कोशी प्रदेश सामाजिक विकास मन्त्री गीता तिम्सिनाको समन्वयमा २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ १ जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटा मार्फत पारिवारिक पुनर्मिलन कार्य सम्पन्न गरिएको हो। वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने आश्वासन दिएर अवैध मानव ओसारपसार समूहले उनीहरूलाई दिल्ली पुर्याएको थियो। घटनाबारे जानकारी प्राप्त भएपछि सम्बन्धित निकायसँग तत्काल समन्वय गरी उद्धारका लागि पहल गरिएको किन इन्डियाका निर्देशक नवीन जोशीले बताए। ‘बन्धक बनाएको घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास नयाँदिल्ली तथा दिल्ली प्रहरीको समन्वयमा ३ जनालाई बन्धक अवस्थाबाट सकुशल उद्धार गरिएको हो’, किन इण्डियाका ग्लोबल संयोजक इन्द्रराज भट्टराईले बताए। भट्टराईका अनुसार भारतमा आवश्यक कानूनी प्रक्रिया पूरा गरेपश्चात तीनै जनालाई नेपाल ल्याइएको थियो। आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकलाई बिभिन्न मुलुकमा पुर्याई शोषण तथा बेचबिखनको जोखिममा पार्ने यस्ता घटना दिनप्रतिदिन बढिरहेकोले व्यक्ति सचेत रहन तथा यसप्रति राज्यका सबै निकाय थप सचेत र जिम्मेवार बन्न आवश्यक देखिएको उनले ध्यानाकर्षण गराएका छन्।
भारतको नयाँ दिल्लीबाट उद्वार ३ नेपालीको पारिवारिक पुनर्मिलन

Read Complete Original Article
Published originally on नेपालन्युज






