भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय वार्ता हुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार छलफलमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै दुवै देशको आपसी हित र चासोका विषयमा विचार आदानप्रदान गरिनेछ। भ्रमणले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ। दुईदिने भ्रमण सम्पन्न गरी मिस्री कात्तिक १९ गते काठमाडौंँबाट नयाँदिल्ली फर्कनेछन्।
भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै

Read Complete Original Article
Published originally on पर्दाफास






