स्याङ्जा । ब्राह्मण समाज स्याङ्जाको अध्यक्षमा मुक्तिप्रसाद रेग्मी चयन हुनुभएको छ । समाजको दोस्रो जिल्ला अधिवेशनले रेग्मीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा यदुनन्दन अर्याल, सचिवमा शोभाकान्त पौडेल, सहसचिवमा गोमा सुवेदी र कोषाध्यक्षमा सुनिता पौडेल गौतम चयन हुनुभएको छ । समितिमा केन्द्रीय प्रतिनिधि पाँच जना र प्रदेश प्रतिनिधि पाँच जना पनि चयन गरिएको नवनिर्वाचित अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा लामो समय क्रियाशील रहनुभएका रेग्मी शिक्षक युनियन स्याङ्जाको अध्यक्षसमेत भइसक्नुभएको छ । उहाँ जिल्ला सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक पदबाट अवकाश हुनुभएको हो । विद्यालयलाई नमुना बनाउने क्रममा प्रधानाध्यापकका रूपमा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो । हाल धार्मिक तथा आध्यात्मिक क्षेत्रमा क्रियाशील रेग्मीका भजनसङ्ग्रह तथा मौलिक लोकगीतसमेत प्रकाशित छन् । निवर्तमान अध्यक्ष पुण्यप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिका रूपमा बोल्दै ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारीले जातीय पहिचान, पारस्परिक भाइचारा, सामाजिक सद्भाव र साझा भावनाका लागि सम्पूर्ण नेपाली एक हुनुपर्ने धारणा राख्नुभयो । नवनिर्वाचित अध्यक्ष रेग्मीले शताब्दीयौँदेखि कायम रहेका विभिन्न जातजातिका मौलिक संस्कृति र पहिचानको संरक्षण गर्दै सबैको सम्मान गर्नुपर्ने बताउनुभयो । यसले राष्ट्रिय एकता बलियो बनाउने उहाँको भनाइ थियो । त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सभापतिको आसनबाट बोल्दै निवर्तमान अध्यक्ष उपाध्यायले नेपाल सबै जाति, धर्म र संस्कृतिको सङ्गम भएकाले सबैप्रति सद्भाव र सहिष्णुता राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा समाजका केन्द्रीय सदस्य छायाराम खनाल, खगेन्द्र अर्याल र श्याम रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सीताराम अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन लोकनाथ रेग्मीले गर्नुभएको थियो ।
ब्राह्मण समाज स्याङ्जाको अध्यक्षमा मुक्तिप्रसाद रेग्मी चयन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






