काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारतबीच भएका समझदारी र अघि बढाइएका विकास परियोजनाको प्रतिफल किसान, युवा, विद्यार्थी र उद्यमीसम्म पुग्नुपर्ने बताएका छन् । भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दुई देशबीचको सहकार्यलाई जनताको जीवनस्तर सुधारसँग जोड्नुपर्ने बताएका हुन् । उनले भएका समझदारीबाट किसानको खेतमा समृद्धि, युवाका हातमा रोजगारी, विद्यार्थीका लागि नयाँ अवसर र उद्यमीका लागि बजार तथा लगानी विस्तार हुनुपर्नेमा जोड दिए । ‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ; युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ; विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ।’ उनले भने । प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धलाई हिमालझैँ अटल र महासागरझैँ विशाल सम्बन्धका रूपमा व्याख्या गरे । प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै उनले दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान, विश्वास र सद्भावमा आधारित रहेको बताए । उनले जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे । हिमालयबाट बग्ने नदीहरूले दुवै देशका करोडौँ मानिसलाई जीवन दिएको भन्दै जलस्रोत संरक्षण र वातावरणीय चुनौतीमा मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो । शाहले नेपालमा भारतीय लगानीकर्तालाई स्वागत गर्दै दुई देशबीच आर्थिक साझेदारी विस्तार गर्न आह्वान गरे । नेपालमा स्थापना हुने आईआईटीमा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने र नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनको प्रस्ताव थियो । यसैगरी उनले नेपाल–भारत सम्बन्धलाई नयाँ युगको आवश्यकताअनुसार रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएका छन् । उनले भारतीय नागरिकलाई मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर, कुमारी र गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न आग्रह गरेका छन् ।
बालेनले भने- भारतसँगकाे समझदारीहरूले किसानदेखि युवासम्मलाई लाभ मिल्नुपर्छ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






