काठमाडौं । भाइटीकाको भोलिपल्ट अर्थात् यही कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले ३०-४० को दशकको ग्रामीण परिवेशमा आधारित प्रेमकथालाई प्रस्तुत गरेको छ । भुवन केसीको निर्देशनमा बनेको यस चलचित्रमा अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य भूमिकामा हुनुहुन्छ । गाउँमा शिक्षकका रूपमा कार्यरत काजी (अनमोल) र प्रिन्सीबीचको प्रेम तथा उनीहरूको सम्बन्धमा परिवारले देखाएको असहमतिलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरले उनीहरूको प्रेमले पूर्णता पाउँछ कि पाउँदैन भन्ने कौतूहल सिर्जना गरेको छ । चलचित्रमा भुवन केसी र गरिमा पन्त पनि देखिनुभएको छ । उहाँहरूको युवावस्थाको भूमिकामा अनमोल र प्रिन्सीले अभिनय गर्नुभएको छ । चलचित्रमा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्रलगायत कलाकारको अभिनय छ । सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको यस चलचित्रका निर्माता जिया केसी र भविष्य खड्का हुनुहुन्छ । ट्रेलरले चलचित्रलाई पुरानो समयको परिवेशमा आधारित क्लासिक प्रेमकथाका रूपमा प्रस्तुत गरेको छ ।
‘बाटुलो जून’को ट्रेलरमा अनमोल र प्रिन्सीको प्रेमकथा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






