काठमाडौं । विभिन्न विवाद तथा प्रदर्शन रोकिनसक्ने चर्चाबीच चलचित्र ‘पाँच पाण्डव’ आज (शुक्रबार)देखि प्रदर्शनमा आएको छ । निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै आज (शुक्रबार)देखि देशभरका सिनेमा हलमा चलचित्र प्रदर्शनमा आएको हो । पछिल्लो समय चलचित्रलाई लिएर विभिन्न टीका-टिप्पणी तथा विवादका समाचार सार्वजनिक भइरहेका बेला निर्माण पक्षले प्रदर्शनबारे फैलिएको अन्योल चिर्दै निर्धारित मितिमै चलचित्र रिलिज हुने जनाएको हो । निर्माण टिमले दर्शकलाई सिनेमा हलमा पुगेर चलचित्र हेर्न आग्रहसमेत गरेको छ । ‘हाम्रो फिल्म पाँच पाण्डव पूर्वनिर्धारित मिति अर्थात् कात्तिक २० गतेदेखि नै देशभरका सम्पूर्ण सिनेमा हलहरूमा यथावत् प्रदर्शन हुने जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ । निर्माण पक्षले चलचित्रले कुनै धर्म, धार्मिक आस्था, संस्कृति वा धार्मिकस्थलप्रति चोट पुर्याउने उद्देश्य नराखेको स्पष्ट पारेको छ । सबै धर्म, संस्कृति र समुदायको आस्थाप्रति सम्मान रहेको उल्लेख गर्दै निर्माण टिमले फिल्मलाई सोही दृष्टिकोणबाट बुझिदिन आग्रह गरेको छ । निर्माण पक्षका अनुसार चलचित्रको बुकिङसमेत खुला गरिएको छ । तिहारको बिदालाई लक्षित गरी प्रदर्शनमा आएको यस चलचित्रको विशेष शो आज (शुक्रबार) हुँदैछ । उक्त शोमा सञ्चारकर्मीलाई चलचित्र अवलोकनका लागि निमन्त्रणा गरिएको निर्माण टिमले जनाएको छ । वसन्त निरौलाको निर्देशनमा तयार भएको ‘पाँच पाण्डव’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो । लेखक सुशील पौडेलका अनुसार चलचित्रमा महाभारतका पाँच पाण्डवका चरित्र तथा बिम्बलाई आधार बनाएर समकालीन नेपाली समाजका विभिन्न पक्षलाई चित्रण गरिएको छ ।कथा, पटकथा तथा संवादसमेत पौडेलकै रहेको चलचित्रमा पौराणिक पात्रका नाम र प्रतीकलाई हुबहु प्रस्तुत गर्नुभन्दा तिनको बिम्बात्मक प्रयोगमार्फत वर्तमान समाजको कथा भन्ने प्रयास गरिएको निर्माण पक्षको भनाइ छ । सामाजिक सम्बन्ध, मानवीय स्वभाव र समकालीन परिस्थितिलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नु चलचित्रको उद्देश्य रहेको बताइएको छ । चलचित्रमा हरिवंश आचार्य, दीपाश्री निरौला, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेललगायत कलाकारको अभिनय छ । कालीरानी फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुनुहुन्छ भने निर्माता कालीरानी श्रेष्ठ रहनुभएको छ । प्रस्तुतकर्ता श्रेष्ठ यसअघि चलचित्र ‘लाज शरणम्’ निर्माणमा संलग्न हुनुहुन्थ्यो । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल छ । ‘पाँच पाण्डव’ले चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । युनिभर्सल सर्टिफिकेट प्राप्त गरेसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । विवादका बीच प्रदर्शनको तयारीमा रहेको ‘पाँच पाण्डव’ले तिहारको अवसरमा दर्शकको कस्तो साथ पाउँछ र चलचित्रमार्फत उठाउन खोजिएको सामाजिक विषयवस्तुले कस्तो प्रभाव पार्छ भन्ने कुरा भने प्रदर्शनपछि नै थाहा हुनेछ ।
बहिष्कार र प्रदर्शन रोक्ने चेतावनीबीच आजदेखि प्रदर्शनमा ‘पाँच पाण्डव’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






