काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रवासी नेपालीका समस्या र माग राख्ने अवसर नपाएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले असन्तुष्टि जनाएको छ । समाजका पूर्वअध्यक्ष ठाकुर खनालले विगतमा नेपालका प्रधानमन्त्री तथा उच्च राजनीतिक नेतृत्व भारत भ्रमणमा आउँदा नेपाली दूतावासले प्रवासी नेपालीका प्रतिनिधिसँग भेटघाटको व्यवस्था मिलाउने गरेको भए पनि यसपटक त्यस्तो अवसर नदिइएको बताउनुभयो । दूतावाससँग पटक–पटक सम्पर्क गर्दा प्रधानमन्त्रीको प्रवासी नेपालीसँग भेटघाट तथा भोजभतेरको कार्यक्रम आवश्यक नरहेको जानकारी दिइएको उहाँले बताउनुभयो । प्रवासी नेपालीले आफ्ना समस्या र माग प्रधानमन्त्रीसमक्ष राख्ने परम्परा तोडिएको भन्दै खनालले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भारतमा रहेका नेपालीको प्रमुख समस्या पहिचान र आधार कार्ड प्राप्तिसँग सम्बन्धित रहेको बताउनुभयो । आधार कार्ड नहुँदा बैंक खाता खोल्न, सवारी चालक अनुमतिपत्र लिन, बालबालिकालाई विद्यालय भर्ना गर्न, सिमकार्ड लिन तथा सरकारी अस्पतालमा उपचार गराउनसमेत कठिनाइ हुने गरेको उहाँको भनाइ छ । भारतको आधार कार्डसम्बन्धी व्यवस्थाअनुसार १८२ दिन बसेको प्रमाण र स्थानीय ठेगानासम्बन्धी कागजात आवश्यक पर्ने भए पनि नेपालीका लागि ती प्रमाण जुटाउन कठिन रहेको उहाँले बताउनुभयो । भारतका विभिन्न क्षेत्रमा छरिएर रहेका लाखौँ नेपालीको दूतावाससम्म सहज पहुँच नहुने भएकाले आधार कार्ड बनाउने प्रक्रिया सरल बनाउन नेपाल सरकारले भारतसँग कूटनीतिक पहल गर्नुपर्ने उहाँको माग छ । खनालले जानकारीको अभावमा कतिपय नेपालीले भारतीय नागरिकता झल्किने दस्तावेज बनाउने गरेको र त्यसकै आधारमा दोहोरो नागरिकताको आरोप खेप्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो । यस्ता घटनामा परेका नेपालीलाई न्याय दिलाउन नेपाल सरकारले भारतसँग कूटनीतिक पहल गर्नुपर्ने उहाँको भनाइ छ । त्यस्तै, भारतमा जन्मिएका तथा हुर्किएका नेपालीका सन्तानले नेपाली भाषा राम्रोसँग बोल्न नसकेको वा भारतमै अध्ययन गरेको आधारमा नेपाली नागरिकता प्राप्त गर्न कठिनाइ भोग्नुपरेको विषय पनि उहाँले उठाउनुभयो । यस्ता समस्याको समाधानका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । खनालले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिले नेपाली नागरिकलाई भारतमा आवागमन, रोजगारी, पेसा, व्यापार तथा सम्पत्ति खरिद–बिक्रीमा दिएको सुविधाको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । प्रवासी नेपालीले पठाउने विप्रेषणले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आए पनि उनीहरू मतदानको अधिकारबाट वञ्चित रहेको उल्लेख गर्दै उहाँले विदेशमा रहेका नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्नुभयो । यसैगरी, नेपालको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रणाली र नागरिकका मौलिक अधिकार लामो संघर्षबाट प्राप्त उपलब्धि भएकाले तिनको संरक्षण हुनुपर्ने उहाँको भनाइ छ । सरकारको बहुमतका आधारमा नागरिकका अधिकार संकुचित गर्ने प्रयास हुन नहुने भन्दै उहाँले विद्यार्थी, कर्मचारी, शिक्षक तथा पत्रकारका संगठनमाथिको हस्तक्षेप र पत्रकारमाथि हुने आक्रमणलाई लोकतान्त्रिक अधिकारसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । समाजले यसअघि सार्वजनिक गरेको मागपत्रमा भारतमा नेपालीले भोगिरहेका शैक्षिक तथा स्वास्थ्य सेवामा अतिरिक्त शुल्क, रोजगारीमा विभेद, यात्रा तथा सीमा नाकामा लुटपाट र प्रशासनिक दुर्व्यवहारका घटना रोक्न पनि सरकारसँग पहल गर्न आग्रह गरेको छ । समाजका उपाध्यक्ष कपिल खनालले पनि भारतमा रहेका नेपालीको प्रमुख समस्या पहिचान र आधार कार्ड प्राप्तिसँग सम्बन्धित रहेको बताउनुभयो । आधार कार्ड नहुँदा बैंक खाता खोल्न, सवारी चालक अनुमतिपत्र लिन, बालबालिकालाई विद्यालय भर्ना गर्न, अस्पतालमा उपचार गराउन तथा दुर्घटनाको क्षतिपूर्ति र पेन्सनलगायतका सुविधा प्राप्त गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । भारतमा अध्ययन तथा उपचारका लागि जाने नेपालीलाई विदेशी नागरिकसरह व्यवहार गरी शैक्षिक संस्था र अस्पतालले अतिरिक्त शुल्क लिने गरेको तथा विद्यार्थीलाई रोजगारीमा विभेद गर्ने गरिएको समाजको आरोप छ । विद्यार्थीबाट पात्रता प्रमाणपत्र माग्ने प्रवृत्ति अन्त्य गर्न पनि समाजले कूटनीतिक पहलको माग गरेको छ । त्यसैगरी, भारतमा बस तथा रेल यात्रा गर्दा र सीमा नाकामा नेपाली लुटपाट तथा प्रशासनिक दुर्व्यवहारमा पर्ने गरेका घटनाप्रति समाजले सरकारको ध्यानाकर्षण गराएको छ । भारतमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न र उनीहरूले भोग्दै आएका समस्याको दीर्घकालीन समाधान खोज्न दुवै देशका सरकारबीच पहल हुनुपर्ने समाजको माग छ । प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर आफ्ना माग राख्ने प्रयास सफल नभए पनि पत्रकारमार्फत प्रवासी नेपालीका समस्या सार्वजनिक गरी सरकारको ध्यानाकर्षण गराउन खोजिएको पूर्वअध्यक्ष ठाकुर खनालले बताउनुभयो ।
प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीका समस्या राख्ने अवसर नपाएको भन्दै असन्तुष्टि

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






