Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहको पहिलो राजकीय भ्रमण

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहको पहिलो राजकीय भ्रमण
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आफ्नो पहिलो राजकीय भ्रमणमा भारत पुग्नुभएको छ । गत चैत दोस्रो साता प्रधानमन्त्री बन्नुभएका बालेन समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दुईदिने राजकीयका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको हो । नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा प्रधानमन्त्री बालेनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्नुभयो । राज्यमन्त्री प्रसादले भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । दुईदिने भ्रमणका लागि पुग्नुभएका प्रधानमन्त्री शाहलाई विमानस्थलमा स्वागत गर्न पुग्नुभएका उहाँले शाहलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । विमानस्थलबाट उहाँ सिधै होटल ताजमहल जानुभएको थियो । सोही होटलमा उहाँले आइतबार साँझ भारतीय विदेशमन्त्री एस. जयशंकरले शिष्टाचार भेट गर्नुभएको थियो । भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ । द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको जानकारी दिइएको छ । आइतबार दिउँसो पौने २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्नुभएको थियो । विमानस्थलमा प्रधानमन्त्री शाहलाई गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सत्तारूढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गर्नुभएको थियो । गुरुङ, श्रेष्ठ र खरेलबाहेक शाहको बिदाइमा विगतमा जस्तो कुनै तामझाम र लावालस्कर देखिएन । उहाँले यसअघिका प्रधानमन्त्रीहरूले गर्दै आएका अधिकांश परम्परा र अभ्यास तोड्नुभएको हो । यद्यपि, नयाँदिल्लीमा भने उहाँलाई सलामी दिइएको थियो । भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले प्रधानमन्त्री शाहलाई विमानस्थलमा सलामी दिएर राजकीय स्वागत गरेका थिए । प्रधानमन्त्री शाह भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पाउनुभएको छ । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि भारत गएपछि वरीयताक्रमअनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाउनुभएको हो । प्रधानमन्त्री बालेनको पहिलो राजकीय भ्रमण हो । यसअघि प्रधानमन्त्री शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुभएको थियो । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य सहभागी छन् । यसका साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका तीनजना प्रतिनिधिसहित कुल ३५ जना सदस्य सहभागी छन् । निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ । भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार अपराह्न ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नुहुने छ । उहाँ साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ । भ्रमण टोली नेपाल फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गर्नुहुने छ । आज मोदीसँग द्विपक्षीय भेटवार्ताप्रधानमन्त्री शाहले आज (सोमबार) समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ । त्यसपछि बिहान १०ः ४० बजे राजघाट पुगेर उहाँले श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । बिहान ११ बजे प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्रीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्नुहुने छ । त्यसक्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत छ । त्यसपछि ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ । दिउँसो १२ः३५ बजे विभिन्न परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ । दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनुहुने छ । सोमबार दिउँसो ३ः १५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकारितासम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकास लगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा भारत र नेपालका प्रतिनिधिहरूबीच छलफल हुनेछ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपत् व्यवस्थापन र मानव संशाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयु) समेत आदानप्रदान गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विगतको परम्परा र अभ्यास तोडियो, संवैधानिक व्यवस्था पनि उल्लंघनदेशको प्रतिनिधित्व गरेर भारतको राजकीय भ्रमणमा निस्किनुभएका प्रधानमन्त्री शाहले यसपटक विगतको परम्परा र अभ्याससमेत तोड्नुभएको छ । यसअघि राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक विदेश भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, पूर्वपरराष्ट्रमन्त्री तथा कूटनीतिज्ञ लगायतसँग परामर्श गर्ने अभ्यास थियो । यसपालि प्रधानमन्त्री शाहले कसैसँग परामर्श गर्नुभएन । प्रधानमन्त्री शाहले विगतका अभ्यास र परम्परा मात्र होइन, संवैधानिक व्यवस्थाको पनि उल्लंघन गर्नुभएको छ । संविधानको धारा ८१ मा प्रधानमन्त्रीले देशको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धमा राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । तर, उहाँले भारत भ्रमणबारे राष्ट्रपतिलाई कुनै जानकारी गराउनुभएन । यसअघि मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री)ले राजकीय भ्रमण गर्दा राष्ट्रपतिलाई जानकारी दिने तथा प्रमुख राजनीतिक दल र पूर्व–प्रधानमन्त्रीहरूसँग भ्रमणका एजेण्डाबारे छलफल गर्ने सामान्य परम्परा थियो । तर, उहाँले यी कुनै पनि परम्परालाई निरन्तरता दिनुभएन । विदेश भ्रमणमा निस्कनुअघि राष्ट्रपतिलाई सामान्य औपचारिक जानकारी नगराएको भन्दै राष्ट्रपति कार्यालय र भ्रमणबारे कूटनीतिक क्षेत्रसहित पूर्व–प्रधानमन्त्रीहरूसँग समेत कुनै सल्लाह–सुझाव नलिएको भन्दै असन्तुष्टि देखिएको छ । त्यति मात्र होइन, विदेश भ्रमणमा जाँदा बालेनले फर्स्ट लेडीका रूपमा श्रीमती (सविना काफ्ले)लाई समेत दुवै भ्रमण टोलीमा समावेश गर्नुभएन । यसअघि विगतका प्रधानमन्त्रीहरू विदेश भ्रमणमा निस्कँदा नेपाली सेनाको टुकडीले सम्मान गारत (गार्ड अफ अनर) दिने गरेकोमा यसपटक त्यो दृश्यसमेत विमानस्थलमा देखिएन । यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानुअघि पनि उहाँले उक्त सम्मान लिनुभएको थिएन । प्रधानमन्त्री शाहले यसपालि विगतका अभ्यास र परम्परा तोडेकोमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असन्तुष्ट व्यक्त गरेको छ । वरिष्ठ सभापति विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको हो । प्रधानमन्त्री असोज ५ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन जाने बेला कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको थियो । सरकार प्रमुखको उपस्थितिमा हुने दुई पक्षीय सन्धि-सम्झौताले देशलाई दीर्घकालीन असर पार्ने हुँदा सकभर सबै पक्षको सहमति लिने विगतका अभ्यास थियो । यद्यपि, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले देशको दीर्घकालीन हितको विषयमा एजेण्डा सेटिङका लागि सरकारका निकाय नै सक्षम भएकाले विगतका अभ्यास दोहोर्‍याउन आवश्यक नभएको जिकिर गर्नुभयो । भारत भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछानेसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा करिब २ घण्टा छलफल गनुभएको थियो । प्रवक्ता खरेलका अनुसार सभापति लामिछानेलाई प्रधानमन्त्री शाहले नेपालको तर्फबाट उठाउने एजेण्डाको विषयमा ब्रिफिङ गर्नुभएको थियो । ब्रिफिङ सुनेपछि सभापति लामिछानेले दुई देशबीचको सम्बन्ध सुदृढ तथा राष्ट्रिय हितको पक्षमा भ्रमण सफल होस् भनेर शुभकामना दिएको प्रवक्ता खरेलले बताउनुभयो । आजको कार्यतालिकाबिहान १० बजे- राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत । बिहान १०ः४० बजे- राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण । बिहान ११ बजे- हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता । बिहान ११ः५० बजे- दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता । दिउँसो १२ः३५ बजे- विभिन्न परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र प्रेस वक्तव्य जारी । दिउँसो १ः१५ बजे- भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागिता । दिउँसो ३ः१५ बजे- भारतीय राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट । अपराह्न ४ः५० बजे- भारत भ्रमण सम्पन्न गरी नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान । साँझ ६ः३५ बजे- प्रधानमन्त्री शाह काठमाडौं आइपुग्ने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शाह–मोदी भेटवार्ता आज: पूर्वाधार र भोटेकोशी पुनर्निर्माणमा आर्थिक सहयोग घोषणा गर्दै भारत
Latest NewsJust now

शाह–मोदी भेटवार्ता आज: पूर्वाधार र भोटेकोशी पुनर्निर्माणमा आर्थिक सहयोग घोषणा गर्दै भारत

प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार हैदराबाद हाउसमा भेटवार्ता गर्ने तालिका छ । ...

कान्तिपुर
जलवायु सहकार्य जारी राख्न आग्रह
Latest NewsJust now

जलवायु सहकार्य जारी राख्न आग्रह

काठमाडौँ, मङ्सिर ७ गते । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसक... ...

गोरखापत्र
डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट
Latest NewsJust now

डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ स्थीर छ । युरो र पाउण्डको भाउ भने हिजोको तुलनामा घटेको छ । अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ पनि आज घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । हिजो पनि हिजो अमेरिकी डलरको ...

केन्द्रबिन्दु
बाढी प्रभावित क्षेत्रको पुनःस्थापना गर्न नेपाल–भारतका निजी क्षेत्रबीच सझौता
Latest NewsJust now

बाढी प्रभावित क्षेत्रको पुनःस्थापना गर्न नेपाल–भारतका निजी क्षेत्रबीच सझौता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि सहकार्य गर्ने समझदारी भएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement