Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमण आजदेखि

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमण आजदेखि
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणको लागि आज (आइतबार) नयाँदिल्ली जाँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह ३४ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा जान लाग्नुभएको हो । प्रधानमन्त्री शाह आज मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमण टोलीमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम साह लगायतका उच्च पदस्थ अधिकारीसहित ३४ सदस्य छन् । भ्रमण दलमा नयाँदिल्लीस्थित नेपाली दूतावासबाट राजदूतसहित केही अधिकारीहरू थपिने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीसँग निजी क्षेत्रबाट ५२ सदस्यीय टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन् । त्यस्तै, निजी सञ्चार माध्यमका पत्रकारहरू पनि भ्रमण टोलीमा आफ्नै खर्चमा सहभागी हुँदै छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक औपचारिक विदेश भ्रमण गर्न लाग्नुभएका प्रधानमन्त्री शाहले नयाँदिल्ली पुगेपछि पहिलो भेट भारतका विदेशमन्त्री एस.जयशंकरसँग हुने तय भएको छ । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रधानमन्त्री शाह आज (आइतबार) दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्नुहुने छ । प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुहुने छ । आजै साँझ ६ बजे होटेल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणको दोस्रो दिन ७ गते सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा ‘गार्ड अफ अनर’ प्रदान गरिनेछ । त्यसपछि प्रधानमन्त्री बालेन्द्रले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । राजघाटको कार्यक्रमलगत्तै हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता हुनेछ । द्विपक्षीय वार्ताअघि शाह र मोदीबीच ‘वान टु वान’ वार्ता हुने बताइएको छ । वार्तापछि मध्याह्न १२ बजेर २५ मिनेटमा दुई देशबीच सहमति तथा समझदारीपत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री शाहले सोमबार दिउँसो सवा ३ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ । राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हो । के-के छन् भ्रमणका एजेण्डाप्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमणका एजेण्डा तय भएका छन् । भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाहरूको उद्घाटन तथा नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको मुख्य प्राथमिकतामा आर्थिक सहयोग, व्यापार, ऊर्जा, हवाई रुट, सीमापार पूर्वाधार, लगानी र कनेक्टिभिटी रहेका छन् । नेपालले भारतसँग विकास आयोजनाका लागि आर्थिक सहयोग विस्तार तथा नयाँ परियोजनामा सहकार्यको प्रस्ताव अघि बढाउने तयारी गरेको छ । करिब दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्याकेजबारे पनि छलफल गर्ने सरकारको तयारी छ । ऊर्जा क्षेत्रमा भारतमा नेपालको विद्युत् निर्यात विस्तार, अन्तरदेशीय प्रसारण लाइन निर्माण, जलविद्युत् आयोजनामा भारतीय लगानी र बंगलादेशसम्म विद्युत् व्यापार सहज बनाउने विषय प्राथमिकतामा छन् । नेपालले जलविद्युत् उत्पादनसँगै क्षेत्रीय ऊर्जा बजारमा आफ्नो पहुँच विस्तार गर्न भारतको सहयोग खोजिरहेको छ । सीमापार पूर्वाधारतर्फ रेलमार्ग, सडक, एकीकृत जाँच चौकी (आइसिपी) तथा पुल निर्माणसम्बन्धी आयोजना पनि छलफल हुने बताइएको छ । अयोध्या-जनकपुर रेल सम्पर्क, दार्चुलामा पुल निर्माण, भैरहवाको एकीकृत जाँच चौकी तथा काभ्रेको पनौतीस्थित नेपाल प्रहरी प्रतिष्ठानको नयाँ भवनसँग सम्बन्धित कार्यक्रम भ्रमणका क्रममा अघि बढाइने तयारी छ । हवाई प्रवेश रुट विस्तार प्रमुख चासोनेपालको प्रमुख चासोमध्ये हवाई प्रवेश रुट विस्तार पनि एक हो । विशेषगरी महेन्द्रनगर रुटबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पाउनुपर्ने नेपालको माग छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न थप हवाई रुट आवश्यक भएकाले यस विषयमा भारतीय पक्षसँग विशेष छलफल हुने बताइएको छ । हवाई रुटसम्बन्धी प्राविधिक तथा सुरक्षा पक्षमा दुवै देशबीच यसअघि पनि छलफल हुँदै आएको छ । नेपाल–भारत सम्बन्धका पुराना विषयमध्ये सीमा विवाद, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, व्यापार असन्तुलन र पारवहन सुविधा नेपालको चासोका विषय रहनेछन् । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेशमार्गको विषय टुंगोमा पुर्‍याउन निजी क्षेत्रले पनि माग गरेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न भारतसँग हवाई प्रवेशमार्गमा सहमति जुटाउनुपर्ने निजी क्षेत्रको माग छ । ‘समृद्ध नेपाल, समुन्नत भारत’ अवधारणामा आउँदैप्रधानमन्त्री बालेन्द्र शाह भारतको भ्रमण सम्पन्न गरी फर्कने दिन भोलि सोमबार दुवै देशले संयुक्त पत्रकार सम्मेलनमार्फत परम्परागत संयुक्त प्रेस विज्ञप्तिको सट्टा ‘नेपाल-भारत संयुक्त भिजन’ सार्वजनिक गर्ने तयारी तीव्र पारिएको छ । दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउने उद्देश्यका साथ भारतले अघि सारेको संयुक्त भिजनको प्रस्तावमा नेपालले पनि सहमति जनाएको हो । ‘समृद्ध नेपाल, समुन्नत भारत’ को अवधारणामा आधारित १० बुँदे संयुक्त भिजन दस्ताबेजलाई अन्तिम रूप दिने कार्य भइरहेको बताइएको छ । भ्रमणकै क्रममा भारतीय विदेश मन्त्रालयका अधिकारीहरूसँगको समन्वयमा यो संयुक्त भिजनलाई अन्तिम रूप दिइनेछ । संयुक्त भिजनमा आर्थिक साझेदारी तथा लगानी, ऊर्जा, जलस्रोत, कनेक्टिभिटी, व्यापार, पारवहन, डिजिटल भुक्तानी, स्वास्थ्य, शिक्षा, सुशासन, जनस्तरको सम्बन्ध, पर्यटन तथा खेलकुद लगायतका विषयहरू समेटिने बताइएको छ । व्यापारिक छलफलमा भारतीय मन्त्री सहभागी नहुनेप्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणका क्रममा आयोजना हुने नेपाल-भारत व्यापारिक छलफलमा भारत सरकारका कुनै मन्त्री सहभागी नहुने भएका छन् । नेपालमा भारतीय लगानी बढाउने विषयलाई भ्रमणको प्रमुख कार्यसूचीमध्ये एक बनाए पनि छलफलमा भारतीय मन्त्रीको सहभागिता नहुने भएको हो । छलफलमा नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने कार्यक्रम छ । भारतीय उद्योग परिसंघ (सिआइआई) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसआई)को सहभागितामा उक्त गोलमेच छलफल आयोजना हुन लागेको हो । नयाँदिल्लीस्थित ताजमहल होटलमा हुने कार्यक्रममा दुवै देशका उद्योगी तथा व्यवसायी सहभागी हुनेछन् । नेपाली प्रधानमन्त्रीको राजकीय भ्रमणकै क्रममा आयोजना हुन लागेको लगानीकेन्द्रित व्यापारिक छलफलमा भारतीय मन्त्रीको अनुपस्थितिले दुई देशबीचको राजनीतिक तहमा आर्थिक सहकार्यका विषयको प्राथमिकतामाथि प्रश्न उठाएको छ । नेपाल सरकारले कूटनीतिक सम्बन्धलाई ठोस आर्थिक सहकार्य र सीमापार लगानीमा रूपान्तरण गर्न खोजिरहेका बेला नेपाल-भारत व्यापारिक छलफलमा भारत सरकारका प्रतिनिधिको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्रीले भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेस असन्तुष्टप्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको आरोप लगाएको छ । कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरे पनि सम्भव नभएको उल्लेख गर्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले भन्नुभयो, ‘मित्रराष्ट्रहरूको महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दलसँग परामर्श गर्ने हाम्रो स्थापित लोकतान्त्रिक परम्परा हो । यस्तो सकारात्मक परम्पराको निरन्तरता वर्तमान सरकारबाट पनि अपेक्षित थियो । तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल र विषयविज्ञसँग परामर्श गर्न आवश्यक ठानेन । सरकारले सुझाव नमागेपछि कांग्रेसले पनि औपचारिक सुझाव आफैँ अघि सारिरहन उचित ठानेन ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा चीन र रुस छैनन् : अराघची
Latest NewsJust now

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा चीन र रुस छैनन् : अराघची

विदेशमन्त्री अराघचीका अनुसार युद्धपछि नीति परिवर्तनको बहस चर्किए पनि तेहरानको आधिकारिक अडान पुरानै छ र निरीक्षण रोकिएको छ। ...

कान्तिपुर
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चलिरहेका छन् । ...

कान्तिपुर
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

बहुप्रतिक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चलिरहेका छन्।  दसौँ राष्ट्रिय खेलकुदलाई भव्यतापूर्वक सफल बनाउन सिङ्गो कर्णाली प्रदेश सरकार व्यवस्थापनमा जुटेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही व... ...

नेपालखबर
हाम्रो एफ-१६ लडाकु विमानमा इरानले मिसाइल हानेको दाबी गलत : अमेरिका
Latest NewsJust now

हाम्रो एफ-१६ लडाकु विमानमा इरानले मिसाइल हानेको दाबी गलत : अमेरिका

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले फारसको खाडीमा इरानले आफ्नो लडाकु विमानमा मिसाइल हानेको दाबी गलत भएको बताएको छ।  सेन्टकमले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इरानले शुक्रबार कुनै पनि अमेरिकी एफ-१६ लडाकु विमानमा आक्रमण गरेको छैन।’ सेन्टकम अगाडि भनेको छ, ‘मध्यपूर्वमा रहेका सबै अमेरिकी लडाकु विमान ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play