काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र विभिन्न सहकार्यका विषयमा छलफल भएको छ । भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको रसुवा–भोटेकोशी बाढीपछि भारतले उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । विपद्पछि भारतले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली परिचालन गरेकोमा उनले धन्यवाद दिएका हुन् । त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद्का बेला टेलिफोनमार्फत सहयोगको प्रतिबद्धता जनाएकामा पनि प्रधानमन्त्री शाहले आभार व्यक्त गरेका छन् । भेटमा उनले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग गर्न सकिने सहकार्यबारे समेत चासो राखेका थिए । भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई सफल बनाउन भारतीय पक्षले तयारी तीव्र पारेको जानकारी गराएका थिए । उनले प्रधानमन्त्री मोदीको सन्देश सुनाउँदै शाहको भारत भ्रमण सफल हुने गरी आवश्यक तयारी भइरहेको बताएका थिए । मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयन क्षेत्रसँग सम्बन्धित नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारीसमेत गराएका थिए । यसैगरी, भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको उनले बताएका छन् । उक्त रेलमार्गमा बिहीबार नै परीक्षण सञ्चालन गरिएको जानकारी पनि उनले प्रधानमन्त्री शाहलाई गराएका थिए ।
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिवबीच के–के भयो छलफल ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






