काठमाडौं । अभिनेत्री दीपाश्री निरौला चलचित्र ‘पाँच पाण्डव’मा फरक र सशक्त भूमिकामा देखिने हुनुभएको छ । चलचित्रमा उहाँले भीमकी श्रीमती ‘सितर्नी’को भूमिका निर्वाह गर्नुहुनेछ । भीमको भूमिकामा जितु नेपाल हुनुहुन्छ । दीपाश्रीका अनुसार यस चलचित्रमा उहाँको चरित्र अन्यायविरुद्ध लड्ने साहसी महिलाको छ । मजदुरमाथि अन्याय हुँदा प्रतिकारमा उत्रिने र श्रीमान्को सुरक्षाका लागि समेत उभिने भूमिकामा आफू प्रस्तुत भएको उहाँले बताउनुभएको छ । आफ्नो प्रवेशका दृश्यले दर्शकबाट ताली र हुटिङ पाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, आर्यन सिग्देल, सुशील सिटौला, विनोद न्यौपाने, इभा गिरी लगायतका कलाकारको अभिनय छ । सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ । सामाजिक कथावस्तुमा आधारित चलचित्रलाई काली रानी फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा अर्जुन पोखरेलको संगीत, श्याम तामाङको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । चलचित्रलाई आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।
‘पाँच पाण्डव’मा फाइटर लेडीका रूपमा देखिँदै दीपाश्री

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






