Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०८२/८३ मा तीन दशमलव ८५ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)’ अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा चार दशमलव ४३ प्रतिशत रहेको आर्थिक वृद्धिदर गत वर्ष घटेको हो। राष्ट्र बैंकको प्रतिवेदनले औद्योगिक क्षेत्रको क्षमता उपयोग कमजोर रहेको तथा आयात र निर्यात दुवै बढेको देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा उपभोक्ता मूल्यमा आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशत र प्रचलित मूल्यमा तीन दशमलव ८६ प्रतिशत रहने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४ दशमलव ५, १३ दशमलव ७ र ६१ दशमलव ८ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६ दशमलव ७१ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम चार दशमलव दुई प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा प्रमुख कृषि बालीको उत्पादन शून्य दशमलव ८४ प्रतिशतले घटेको छ। त्यस्ता बालीले ढाकेको क्षेत्रफल पनि एक दशमलव ५६ प्रतिशतले घटेको छ। तरकारी उत्पादन एक दशमलव ६७ प्रतिशत र फलफूल उत्पादन शून्य दशमलव २१ प्रतिशतले बढेको छ भने मसला उत्पादन एक दशमलव ३४ प्रतिशतले घटेको छ। पशुजन्य उत्पादनतर्फ दूध उत्पादन तीन दशमलव ६४ प्रतिशतले बढेको छ। मासु उत्पादन शून्य दशमलव ०९ प्रतिशत र अण्डा उत्पादन पाँच दशमलव ७७ प्रतिशतले घटेको छ। वनजन्य उत्पादनतर्फ दाउरा उत्पादन १९ दशमलव ७४ प्रतिशत र औषधिजन्य वस्तुको उत्पादन ६५ दशमलव ३६ प्रतिशतले बढेको छ भने काठ उत्पादन एक दशमलव ४० प्रतिशतले घटेको छ। औद्योगिक क्षमता उपयोग घट्यो प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४८ दशमलव १३ प्रतिशतमा सीमित भएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस्तो क्षमता उपयोग ५१ दशमलव ४३ प्रतिशत थियो। २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा गएको कर्जाको हिस्सा ३१ दशमलव ०२ प्रतिशत रहेको छ। उद्योगको क्षमता उपयोगमा आएको गिरावटले उपलब्ध उत्पादन क्षमताको तुलनामा वास्तविक उत्पादन कम रहेको देखाएको प्रतिवेदनमा उल्लेख छ। पर्यटक आगमन र यातायात दर्तामा वृद्धि सेवा क्षेत्रअन्तर्गत सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या शून्य दशमलव ९५ प्रतिशतले बढेर ११ लाख ५८ हजार ४५९ पुगेको छ। गत आर्थिक वर्षमा घर तथा भवनको नक्सापास सङ्ख्या दुई दशमलव ९८ प्रतिशतले र घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त राजस्व शून्य दशमलव ०४ प्रतिशतले घटेको छ। यद्यपि यातायातका साधन दर्ताको सङ्ख्या १६ दशमलव १५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ दशमलव ७२ प्रतिशत र कर्जा प्रवाह छ दशमलव ५५ प्रतिशतले बढेको छ। २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा निक्षेप र कर्जा प्रवाहमा यस्तो वृद्धि भएको हो। समीक्षा अवधिको अन्त्यमा औसत कर्जा–निक्षेप अनुपात ७२ दशमलव ३७ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा प्रवाहमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी छ। कुल निक्षेपमा बागमतीको हिस्सा ६४ दशमलव ०५ प्रतिशत र कुल कर्जामा ६० दशमलव ९१ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ। गत आर्थिक वर्षमा मुलुकमा २० हजार ६५७ किलोमिटर कालोपत्रे सडक, नौ हजार ३१६ किलोमिटर ग्राभेल सडक, नौ हजार ७०१ किलोमिटर कच्ची तथा नयाँ सडक र १५९ किलोमिटर रिजिड पेभमेन्ट निर्माण भएको छ। निर्यातभन्दा आयातको वृद्धिदर उच्च गत आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै बढेका छन्। कुल वस्तु निर्यात १३ दशमलव ८१ प्रतिशतले बढेर तीन खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल वस्तु आयात १६ दशमलव २० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च रहेको प्रतिवेदनले देखाएको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पुनः श्रम स्वीकृतिसहित सात लाख ९२ हजार १८७ रहेको छ। प्रदेशगत रूपमा वैदेशिक रोजगारीमा जानेमध्ये मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी २२ दशमलव ६० प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम तीन दशमलव ८५ प्रतिशत रहेको छ। सङ्घीय बजेट खर्च संशोधित अनुमानको ९३.७१ प्रतिशत गत आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधन गरी कुल बजेट १६ खर्ब ८८ अर्ब ३३ करोड रुपैयाँ कायम गरिएको थियो। संशोधित बजेटमध्ये आर्थिक वर्षको अन्त्यसम्ममा १५ खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ। यो संशोधित बजेटको ९३ दशमलव ७१ प्रतिशत हो। त्यस्तै, गत आर्थिक वर्षमा सातवटै प्रदेशको कुल विनियोजित बजेट दुई खर्ब ८७ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो। उक्त बजेटमध्ये चालु खर्चतर्फ ८६ अर्ब चार करोड रुपैयाँ अर्थात् ३० दशमलव ०३ प्रतिशत र पुँजीगत खर्चतर्फ एक खर्ब ७१ अर्ब १७ करोड रुपैयाँ अर्थात् ५९ दशमलव ४९ प्रतिशत विनियोजन गरिएको थियो। यसैगरी, वित्तीय व्यवस्थातर्फ ९८ करोड रुपैयाँ अर्थात् शून्य दशमलव ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ २९ अर्ब १६ करोड रुपैयाँ अर्थात् १० दशमलव १४ प्रतिशत बजेट विनियोजन गरिएको प्रतिवेदनमा उल्लेख छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रपति पौडेल नियमित स्वास्थ्य परीक्षण गरेर डिस्चार्ज
Latest NewsJust now

राष्ट्रपति पौडेल नियमित स्वास्थ्य परीक्षण गरेर डिस्चार्ज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नियमित चेकजाँच गरेर डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार पौडेलले नियमित स्वास्थ्य परीक्षण गराएका हुन् । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले भने,... ...

रातोपाटी
सबैभन्दा बढी आयकर तिर्नेमा बीवाईडी बिक्रेता साइमेक्स इन्क दोस्रो, कर कार्यालयले दियो सम्मानपत्र
Latest NewsJust now

सबैभन्दा बढी आयकर तिर्नेमा बीवाईडी बिक्रेता साइमेक्स इन्क दोस्रो, कर कार्यालयले दियो सम्मानपत्र

चिनियाँ ईभी निर्माता बीवाईडीको नेपालमा अधिकृत बिक्रेता साइमेक्स इन्क प्रालि आन्तरिक राजस्व कार्यालय टंगालबाट सम्मानित भएको छ। आर्थिक वर्ष २०८१/०८२ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला (दोस्रो) गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै कार्यालयले सम्मान गरेको हो।  राजस्व कार्यालयले साइमेक्स इन्कलाई राष्ट्रिय कर दिवसको अवसर पारेर सम्मान पत्र दिएको ह... ...

नेपालखबर
चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै
Latest NewsJust now

चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै

धनकुटा, मङ्सिर ९ गते । कुनै समय धनकुटाको पाख्रीबास नगरपालिका ४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा चियाका हरिया बोट लहलह देखिन्यो । त्यसक्षेत्रका किसानले चियाबाटै आफ्नो भविष... ...

गोरखापत्र
आनीको नियुक्तिबारे सर्वोच्चको कारण देखाऊ आदेश, अन्तरिम आदेशबारे मंसिर १४ मा छलफल
Latest NewsJust now

आनीको नियुक्तिबारे सर्वोच्चको कारण देखाऊ आदेश, अन्तरिम आदेशबारे मंसिर १४ मा छलफल

काठमाण्डु- लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश डा. श्री रत्नबहादुर बागचन्दको एकल इजलासले सरकारसहित विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। अदालतले निवेदकको मागबमोजिम आदेश जारी गर्न नपर्ने आधार र कारण खुलाएर बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement