नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न भएको छ। प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन तथा फिनटेक क्षेत्रमा भइरहेका नवीनतम आविष्कारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकको भुक्तानी प्रणाली विभागले उक्त कार्यक्रम आयोजना गरेको हो। काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले गरेका थिए। उद्घाटन सत्रमा बोल्दै उनले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको बताए। उनले फिनटेक नवप्रवर्तनलाई अघि बढाउँदा वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी प्रणाली र ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै, वित्तीय प्रविधिको विकाससँगै उत्पन्न हुने नयाँ जोखिम र चुनौती व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो। कार्यक्रममा डेपुटी गभर्नर किरण पण्डितले फिनटेक प्रवर्द्धनका लागि राष्ट्र बैंकले गरेका नीतिगत तथा संरचनागत प्रयासबारे जानकारी गराएका थिए। भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाका क्षेत्रमा राष्ट्र बैंकले अपनाएका व्यवस्थाबारे प्रस्तुति दिएका थिए। कार्यक्रमअन्तर्गत डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, वित्तीय ठगी तथा जोखिम व्यवस्थापन र प्रविधिमा आधारित नियमन (रेगटेक) लगायतका क्षेत्रमा काम गरिरहेका वित्तीय संस्था तथा फिनटेक कम्पनीका २७ वटा स्टल प्रदर्शनमा राखिएका थिए। राष्ट्र बैंकका अनुसार उक्त प्रदर्शनी अवलोकन गर्न बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, भुक्तानी प्रणाली सञ्चालक, फिनटेक कम्पनीलगायतका संस्थाका एक हजारभन्दा बढी प्रतिनिधि पुगेका थिए। कार्यक्रमकै क्रममा ‘डिजिटल लेन्डिङ एन्ड क्रेडिट फर अन्डरसर्भ्ड’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो। फिनटेक एलायन्स नेपालका तर्फबाट मनोज घिमिरेले सहजीकरण गरेको छलफलमा राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारी, ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र एलायन्सका अध्यक्ष अमित अग्रवाल सहभागी थिए। राष्ट्र बैंकले हालै जारी गरेको ‘फिनटेक स्ट्राटेजी फर डिजिटल फाइनान्सियल सर्भिसेस (२०२६/२७–२०३०/३१)’ अन्तर्गत फिनटेक इकोसिस्टमका नवप्रवर्तक तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उद्देश्य राखेको छ। यही रणनीतिअन्तर्गत डिजिटल फाइनान्स इनोभेसन हब (डिफाइ हब) र नियामकीय स्यान्डबक्सलाई प्रभावकारी बनाउन ‘एनआरबी फिनटेक नेक्सस’ संयन्त्रसमेत तयार गरिएको राष्ट्र बैंकले जनाएको छ। आगामी दिनमा फिनटेक वर्कशप, ह्याकाथन तथा इनोभेसन च्यालेन्जजस्ता कार्यक्रम सञ्चालन गर्ने बैंकको योजना छ। The post नेपाल राष्ट्र बैंकको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न, २७ कम्पनीका प्रविधि प्रदर्शन appeared first on Technology Khabar.
नेपाल राष्ट्र बैंकको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न, २७ कम्पनीका प्रविधि प्रदर्शन

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






