काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नेपाल प्रहरीलाई नागरिकले डर होइन, भरोसाका रूपमा महसुस गर्ने संगठन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। गृहमन्त्री सुधन गुरुङबाट दर्ज्यानी चिह्न ग्रहण गरेपछि सम्बोधन गर्दै उनले प्रहरीको दर्ज्यानी चिह्न एउटा फुली मात्र नभई नेपाल राज्य, नेपाली जनता र सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल प्रहरीले राखेको भरोसाको प्रतीक भएको बताए। उनले निवर्तमान प्रहरी महानिरीक्षकसहित पूर्वप्रहरी नेतृत्वले संगठन निर्माणमा पुर्याएको योगदानको सम्मान गर्दै उनीहरूले बसालेको जग र स्थापित गरेका मूल्यमान्यतालाई आफ्नो कार्यकालको यात्राको आधार बनाउने बताए। राष्ट्र सेवामा सर्वोच्च बलिदान दिने अमर प्रहरी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभ र कर्तव्यपालनका क्रममा बेपत्ता भएकाहरूको खोजीका लागि कामना गरे। आईजीपी केसीले अहिले नेपाल प्रहरीसामु डिजिटल अपराध, साइबर ठगी, अनलाइन वित्तीय अपराध, क्रिप्टो कारोबार, डीपफेक र भ्रामक सूचनाजस्ता नयाँ चुनौती रहेको बताए। त्यस्तै, लागुऔषध, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, खुला सीमानाको दुरुपयोग र वैदेशिक रोजगारीसँग जोडिएका संगठित तथा अन्तरदेशीय अपराध नियन्त्रण पनि प्रहरीका प्रमुख चुनौती भएको उनको भनाइ छ। उनले २०८२ भदौको जेनजी आन्दोलनलगायत पछिल्ला घटनाक्रमले नेपाल प्रहरी र नागरिकबीचको सम्बन्ध तथा बल प्रयोगको मर्यादाबारे महत्वपूर्ण पाठ सिकाएको उल्लेख गरे। जनविश्वास पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले संघ, प्रदेश र स्थानीय तहबीच शान्ति सुरक्षाका विषयमा प्रभावकारी समन्वय गर्नुपर्ने बताए। बाढी, पहिरो, भूकम्प र आगलागीजस्ता विपद्को जोखिम बढ्दै गएको भन्दै उनले खोज, उद्धार र राहतमा प्रहरीको क्षमता सुदृढ बनाउनुपर्नेमा जोड दिए। बाह्य चुनौतीसँगै स्रोतसाधन तथा भवनको अभाव, लामो कार्यघण्टा, सरुवा–बढुवामा निष्पक्षता र प्रहरी कर्मचारीको मानसिक स्वास्थ्यजस्ता आन्तरिक समस्यालाई पनि सम्बोधन गर्नुपर्ने उनले बताए। यी चुनौतीलाई समस्याका रूपमा मात्र नभई संगठन रूपान्तरणको अवसरका रूपमा लिएको उनको भनाइ छ। सशस्त्र द्वन्द्व, २०७२ को भूकम्प, कोभिड–१९ महामारी र अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपाल प्रहरीले आफ्नो क्षमता प्रमाणित गरिसकेको उल्लेख गर्दै उनले जनशक्तिलाई थप विशिष्टीकृत र मनोबलयुक्त बनाउनुपर्ने बताए। आधारभूत तहका प्रहरी कर्मचारी, विशेषगरी प्रहरी जवान र हवल्दारका गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्ने उनले प्रतिबद्धता जनाए। प्रहरी कर्मचारीका समस्या र गुनासा सुन्न तत्काल एउटा संयन्त्र सुरु गरिने र त्यसलाई प्रहरी महानिरीक्षकको सचिवालयमा प्राथमिकताका साथ सञ्चालन गरिने उनले बताए। सरुवा, बढुवालगायतका विषयमा देखिएका गुनासालाई पनि सम्बोधन गरिने उनको भनाइ छ। जुनियर प्रहरी अधिकृतका गुनासा सुन्नुका साथै उनीहरूलाई पेशागत रूपमा विशिष्टीकृत बनाउनुपर्ने र वरिष्ठ प्रहरी अधिकृतलाई फिल्ड कमान्डमा प्रभावकारी तथा जवाफदेही बनाउनुपर्ने उनले बताए। यसका लागि गृह मन्त्रालयको अभिभावकीय भूमिकामा संगठनले थप योजना अघि बढाउने उनको भनाइ छ। आधुनिक प्रहरी सेवाको सबैभन्दा महत्वपूर्ण सम्पत्ति नागरिकसँगको सम्बन्ध भएको उल्लेख गर्दै उनले नेपाल सरकारसँग आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तता उपलब्ध गराउन आग्रह गरे। राजनीतिक दलहरूलाई प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्न सहयोग गर्न र सञ्चार जगतलाई प्रहरीका कमजोरीसँगै राम्रा कामलाई पनि स्थान दिन उनले आग्रह गरे। आफ्नो कार्यकालमा संविधान र कानुनप्रति अविचलित रहने, नागरिकको सुरक्षा र सम्मानलाई सर्वोपरि राख्ने तथा संगठनको मर्यादा र निष्पक्षतामा सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो कार्यकालको मूल्यांकन आफूले के पाएँ भन्नेभन्दा पनि नेपाली जनतालाई के दिन सकेँ भन्ने आधारमा हुनुपर्ने बताए।
नवनियुक्त आईजीपी केसी भन्छन्- ‘प्रहरी देख्दा नागरिकले डर होइन, भरोसा महसुस गरून्’

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





