Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

दुई महिनादेखि नारायणी पुलमा अलपत्र ‘राइनो क्रुज’

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई महिनादेखि नारायणी पुलमा अलपत्र ‘राइनो क्रुज’
Photo / Coverage: विश्वखबर

काठमाडौं – चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अड्किएको नेपालकै पहिलो लक्जरी ‘राइनो क्रुज’ दुई महिनादेखि अलपत्र परेको छ । नेपालको जलपर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने दाबीसहित सञ्चालनमा ल्याइएको क्रुज अहिले गैँडाकोटतर्फ पुलको पहिलो पिल्लर नजिकै भग्नावशेष र खियाले ढाकिएको अवस्थामा छ । गत असोज ११ गते नारायणी नदीमा आएको बाढीले गैँडाकोट स्टेसनबाट करिब ६० टन तौलको क्रुज बगाएको थियो । बाढीको तीव्र बहावले बगाएर ल्याएको क्रुज नवलपुरतर्फ पुलको पहिलो पिल्लरमा अड्किएको थियो । त्यसयता दुई महिना बितिसक्दा पनि क्रुजलाई पूर्ण रूपमा हटाउन सकिएको छैन । क्रुज पुलको पिल्लरमा अड्किएपछि देशकै प्रमुख राजमार्ग जोड्ने नारायणी पुलको सुरक्षामाथि समेत चिन्ता बढेको थियो । त्यसलगत्तै स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियतामा ८० टन र ३५ टन क्षमताका दुईवटा क्रेनसहित थप मेसिन प्रयोग गरेर क्रुज निकाल्ने प्रयास गरिएको थियो । तर, क्रुजलाई पिल्लरबाट करिब चार मिटर मात्र पर सार्न सकियो। त्यसपछि उद्धारको काम अघि बढ्न सकेन । चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकै दिनमा क्रुज निकाल्ने दाबी गरेका थिए । तर, प्रारम्भिक निरीक्षणमा पुलमा ठूलो जोखिम नदेखिएको निष्कर्ष आएपछि क्रुज हटाउने काम सुस्तायो । त्यसपछि दसैँ र तिहारका लामो बिदाका कारण पनि प्रक्रिया थप लम्बिएको सञ्चालक पक्षको भनाइ छ । पानीमा तैरिनुपर्ने क्रुजका मुख्य पङ्खा (प्रोपेलर) अहिले नदीको सतहमा देखिन्छन् । क्रुजभित्र रहेका पर्यटकीय रेस्टुरेन्ट, पाहुना बस्ने स्थान तथा प्राविधिक उपकरणहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ठूलो पर्यटकीय सम्भावनासहित सञ्चालनमा ल्याइएको जलयान अहिले नदीमा कबाडजस्तै अवस्थामा छ । नदीको पानीको सतह घटिसक्दा पनि त्यसलाई किनारमा ल्याउन सकिएको छैन । क्रुज तत्काल किनारमा ल्याउन नसक्दा ठूलो भौतिक तथा आर्थिक क्षति बेहोर्नुपरेको सञ्चालक कम्पनी राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष दीपक ढुंगेलले बताए । उनका अनुसार मुख्य जलयानको भागमा मात्रै करिब १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको छ । क्रुजभित्रका होटल तथा भौतिक पूर्वाधारको बिमा भए पनि मुख्य जलयानको बिमा पोलिसी नभएकाले क्षतिपूर्ति दाबीमा कानुनी जटिलता थपिएको सञ्चालक पक्षको भनाइ छ । दसैँ र तिहारका लामो बिदा तथा स्थानीय प्रहरी र वडा कार्यालयबाट कानुनी मुचुल्का तयार पार्न समय लागेकाले क्रुज हटाउन ढिलाइ भएको अध्यक्ष ढुंगेलले बताए । अब क्रुजलाई साबिककै स्वरूपमा तानेर निकाल्न सम्भव नभएकाले काटेर टुक्राटुक्रा पारी हटाउने तयारी भइरहेको उनले जानकारी दिए । सरकारी प्रयासबाट क्रुज हटाउन नसकिएपछि प्रशासनले यसको व्यवस्थापन गर्ने जिम्मेवारी सञ्चालक कम्पनीलाई दिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले नारायणी पुलको सुरक्षालाई ध्यानमा राख्दै सडक डिभिजन कार्यालय भरतपुरमार्फत कम्पनीलाई क्रुज तत्काल हटाउन ताकेता गरेको थियो । पुलको पिल्लरमा क्रुज अड्किरहँदा संरचनाको सुरक्षामा जोखिम हुन सक्ने भएकाले कम्पनीलाई अविलम्ब हटाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले बताए । उनका अनुसार प्रशासनले घटनास्थलको अवस्थाबारे निरन्तर अनुगमन र फलोअप गरिरहेको छ। ‘हामीले स्थितिबारे निरन्तर अनुगमन र फलोअप गरिरहेका छौँ। कम्पनीले आफैँ काटेर हटाउने काम सुरु गर्ने जानकारी पाएका छौँ,’ उनले भने । क्रुज अड्किएलगत्तै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले क्रेनको सहायताले तत्काल निकाल्ने अभिव्यक्ति दिएका थिए । तर, दुई महिना बितिसक्दा पनि क्रुज पुलको पिल्लर नजिकै अलपत्र छ । दुवैतर्फका प्रशासनिक निकायबाट यसको व्यवस्थापनमा प्रभावकारी पहल हुन नसकेको भन्दै प्रश्न उठेको छ । नेपालकै पहिलो लक्जरी क्रुजका रूपमा प्रचार गरिएको यो परियोजना अहिले नारायणी नदीको बहाव र पुलको पिल्लरबीच अलपत्र अवस्थामा छ । यसले निजी क्षेत्रको करोडौँको लगानीमा ठूलो क्षति पुर्‍याउनुका साथै नदी पर्यटन सञ्चालनका लागि आवश्यक पूर्वतयारी, जोखिम व्यवस्थापन र सरकारी समन्वयको अवस्थामाथि पनि प्रश्न उठाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गुल्मी अस्पतालको नवनिर्मित भवनमा गृह प्रवेश, लगत्तै सेवा प्रारम्भ हुने
Latest NewsJust now

गुल्मी अस्पतालको नवनिर्मित भवनमा गृह प्रवेश, लगत्तै सेवा प्रारम्भ हुने

मंसिरभित्रै सेवा अवरोध नहुनेगरी सबै सेवा नयाँ भवनमा सार्ने तयारी रहेको गुल्मी अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डाक्टर विभव बस्यालले जानकारी दिए । ...

कान्तिपुर
निर्माणाधीन घरबाट खसेर कामदारको मृत्यु
Latest NewsJust now

निर्माणाधीन घरबाट खसेर कामदारको मृत्यु

हुम्ला समाचारदाताहुम्ला, मङ्सिर ६ गते । हुम्ला सदरमुकाम सिमकोटमा घर निर्माण गर्ने क्रममा माथिल्लो तलाबाट लडेर एक जना कामदारको मृत्यु भएको छ ।सिमकोट गाउँपालिका–६ स्थित लोकतन्त्र चोक... ...

गोरखापत्र
प्राङ्गारिक खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ
Latest NewsJust now

प्राङ्गारिक खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक तथा जैविक खेती प्रवर्द्धनका लागि किसानलाई मल खरिदमा ७५ प्रतिशत अनुदान दिने भएको छ । कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेती प्रणालीलाई विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअन्तर्गत अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रमबाट किसानले प्राङ्गारिक तथा जैविक मल खरिदमा ७५ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play