Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

दिल्ली भ्रमण, नयाँ सम्बन्धको सम्भावना, पुरानै प्रश्नको घेराबन्दी

Share:WhatsAppFacebookX (Twitter)Telegram
दिल्ली भ्रमण, नयाँ सम्बन्धको सम्भावना, पुरानै प्रश्नको घेराबन्दी
Photo / Coverage: हिमालय टाइम्स

प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को भारत भ्रमणलाई केवल दुई देशका सरकार प्रमुखबीचको औपचारिक भेटघाटका रूपमा सीमित गरेर हेर्न मिल्दैन । यो भ्रमण नयाँ राजनीतिक नेतृत्वको कूटनीतिक क्षमता, नेपालको राष्ट्रिय प्राथमिकता, छिमेकीसँगको सम्बन्ध सञ्चालन गर्ने शैली र बदलिँदो क्षेत्रीय परिस्थितिमा नेपालको विदेश नीति कुन दिशातर्फ अघि बढ्छ भन्ने कुराको महत्त्वपूर्ण परीक्षण हो । लामो समयदेखि राजनीतिक अस्थिरता, कमजोर कार्यान्वयन र परम्परागत कूटनीतिक अभ्यासबाट निराश नेपाली जनताले नयाँ नेतृत्वबाट फरक शैली र ठोस परिणामको अपेक्षा गरेका छन् । त्यसैले बालेनको भारत भ्रमणप्रति चासो र अपेक्षा स्वाभाविक रूपमा बढी थियो । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि दुई खर्ब ४० अर्ब रुपैयाँबराबरको विकास सहकार्य प्याकेज घोषणा गर्नु, विभिन्न आठ क्षेत्रमा समझदारी हुनु, अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्गका विषयमा सकारात्मक सहमति बन्नु र महत्त्वपूर्ण पूर्वाधार परियोजना अघि बढ्नु उपलब्धिका रूपमा देखिएका छन् । तर, कूटनीतिक भ्रमणको सफलता घोषणाको आकार, स्वागतको भव्यता र संयुक्त पत्रकार सम्मेलनमा व्यक्त गरिएका प्रशंसाबाट मात्र मापन हुँदैन । त्यसले नेपालको दीर्घकालीन राष्ट्रिय हितलाई कति सम्बोधन गर्‍यो, विगतदेखि अल्झिएका समस्या समाधानतर्फ कति प्रगति भयो र सहमतिहरू व्यवहारमा कहिलेदेखि कार्यान्वयन हुन्छन् भन्ने आधारमा यसको वास्तविक मूल्यांकन हुनुपर्छ । नेपालले भारतसँगको सम्बन्धलाई न अनावश्यक आशंका र विरोधको दृष्टिले हेर्नुपर्छ, न सबै विषयमा सहमति जनाउने निर्भरताको मानसिकताबाट सञ्चालन गर्नुपर्छ । भारत-नेपालको प्रमुख व्यापारिक साझेदार, पारवहनको आधार र ऊर्जा बजार हो । त्यसैले सम्बन्ध सुमधुर बनाउनु नेपालको आर्थिक आवश्यकता हो । तर, सुमधुर सम्बन्धको अर्थ राष्ट्रिय हितका विषयमा मौन रहनु होइन । पारस्परिक सम्मान, समान लाभ, सार्वभौमिकताको रक्षा र निर्णय स्वतन्त्रता नै सम्बन्धका आधार हुनुपर्छ । भ्रमणको सबैभन्दा चर्चित विषय भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको दुई खर्ब ४० अर्ब रुपैयाँको विकास सहकार्य प्याकेज हो । भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीपछिको पुनर्निर्माण तथा नेपालको दीर्घकालीन विकासलाई सुदृढ बनाउने उद्देश्यसहित घोषणा गरिएको यस प्याकेजमा ५६ अर्ब रुपैयाँ अनुदान र एक खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण समावेश छ । विपत्बाट प्रभावित नागरिकको पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र भविष्यमा विपत् व्यवस्थापन गर्ने क्षमता विकासका दृष्टिले यो सहयोग महत्त्वपूर्ण हुनसक्छ । तर, एउटा महत्त्वपूर्ण पक्ष बिर्सनु हुँदैन । अनुदान र ऋण एउटै प्रकृतिका सहयोग होइनन् । अनुदानले राज्यको ऋण दायित्व बढाउँदैन, तर सहुलियतपूर्ण ऋण अन्ततः तिर्नुपर्ने रकम हो । सहयोगको कुल आकारभन्दा त्यसको संरचना, ब्याजदर, भुक्तानी अवधि, उपयोगको क्षेत्र र आर्थिक प्रतिफल महत्त्वपूर्ण हुन्छन् । नेपालले आफ्नो विकास प्राथमिकताअनुसार ऋणको सदुपयोग गर्न सकेन भने ठूलो आर्थिक प्याकेज पनि दीर्घकालीन दायित्व बन्नसक्छ । सरकारले प्रत्येक परियोजनाको लागत, लाभ, कार्यान्वयन समयसीमा र जवाफदेहिताको व्यवस्था स्पष्ट गर्नुपर्छ । भारतले यसअघि पनि विभिन्न समयमा पूर्वाधार तथा ऊर्जा विकासका लागि ऋण र अनुदान सहयोग घोषणा गर्दै आएको छ । तर, विगतका घोषणाको पूर्ण उपयोग, कार्यान्वयनको अवस्था समीक्षा नगरी नयाँ प्रतिबद्धतालाई मात्र उपलब्धि मान्नु उचित हुँदैन । यसपटकको सहयोगलाई विगतभन्दा फरक बनाउने जिम्मेवारी नेपाल सरकारकै हो । भ्रमणको अर्को महत्त्वपूर्ण उपलब्धि नेपाललाई भैरहवा हवाई प्रवेशमार्ग उपलब्ध गराउने सहमति हो । अन्तर्राष्ट्रिय उडानका लागि थप प्रवेशमार्ग उपलब्ध गराउन नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग आग्रह गर्दै आएको थियो । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने सहज मार्ग आवश्यक थियो । संयुक्त वक्तव्यमा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति हुनु सकारात्मक उपलब्धि हो । यसले अन्तर्राष्ट्रिय उडानको समय, इन्धन खर्च र सञ्चालन लागत घटाउन सहयोग पुर्‍याउनसक्छ । साथै, भैरहवा र पोखरालाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रका रूपमा विकास गर्ने सम्भावनालाई बल पुर्‍याउनसक्छ । यद्यपि, सहमतिपछि प्राविधिक परामर्श र कार्यान्वयनको प्रक्रिया पूरा हुनु आवश्यक छ । कागजमा भएको सहमति र नियमित व्यावसायिक उडानमा देखिने सुविधा फरक कुरा हुन् । त्यसैले सरकारले यसलाई समयमै कार्यान्वयन गराउन प्राथमिकता दिनुपर्छ । विमानस्थल निर्माण गरेरमात्र हुँदैन, विमानस्थल चल्ने वातावरण निर्माण गर्नु राज्यको जिम्मेवारी हो । नेपाल–भारत सम्बन्धको सबैभन्दा ठूलो आर्थिक सम्भावना ऊर्जा क्षेत्रमा छ । नेपालको जलविद्युत् उत्पादन क्षमता र भारतको विशाल ऊर्जा बजारबीच प्रभावकारी सहकार्य हुनसके दुवै देश लाभान्वित हुनसक्छन् । भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास हुनु यस दिशाको महत्त्वपूर्ण कदम हो । करिब ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने बताइएको छ । त्यसैगरी, सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइन तथा झापामा इन्धन भण्डारण टर्मिनलको शिलान्यास र मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरणले ऊर्जा आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । यी परियोजना सम्पन्न हुँदा इन्धन ढुवानी लागत घट्ने, आपूर्ति सहज हुने र नेपालको ऊर्जा सुरक्षामा सुधार आउने सम्भावना छ । तर, जलविद्युत् र ऊर्जा सहकार्यलाई केवल भारतमा बिजुली बेच्ने विषयमा सीमित राख्नु हुँदैन । नेपालभित्रै उद्योग, कृषि, यातायात र उत्पादनमूलक क्षेत्रमा सस्तो तथा भरपर्दो ऊर्जा उपलब्ध गराउनु उत्तिकै महत्त्वपूर्ण छ । जलविद्युत्को आम्दानीले औद्योगिकीकरण, रोजगारी र आर्थिक आत्मनिर्भरता बढाउन सकेमात्र त्यसको वास्तविक लाभ देशले प्राप्त गर्नेछ । भ्रमणका उपलब्धिको चर्चा भइरहँदा सबैभन्दा बढी चासोको विषय सीमा विवादले अपेक्षित स्थान नपाउनु हो । कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायत क्षेत्र नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष जोडिएका विषय हुन् । प्रधानमन्त्री बालेनले विगतमा यी विषयमा सामाजिक सञ्जालमार्फत स्पष्ट धारणा राख्दै आउनुभएको थियो । त्यसैले भारत भ्रमणका क्रममा यस विषयमा ठोस छलफल हुने अपेक्षा गरिएको थियो । तर, सार्वजनिक रूपमा उपलब्ध भ्रमणका विवरण र संयुक्त वक्तव्यमा सीमा विवाद समाधानका विषयमा कुनै ठोस सहमति देखिएन । राष्ट्रियताको विषय आन्तरिक राजनीतिमा अभिव्यक्त हुने नारामा मात्र सीमित रहनु हुँदैन । सरकारमा पुगेपछि त्यसलाई प्रमाण, ऐतिहासिक दस्तावेज, अन्तर्राष्ट्रिय कानुन र निरन्तर कूटनीतिक संवादका माध्यमबाट अघि बढाउन सक्नुपर्छ । सीमा विवाद एकैपटक समाधान हुने विषय होइन । तर, विषयलाई उठाउनु, औपचारिक वार्ताको कार्यसूचीमा राख्नु र समाधानका लागि संस्थागत संयन्त्र सक्रिय बनाउनु सरकारको दायित्व हो । मित्रता र सहकार्यको नाममा राष्ट्रिय सरोकारका विषय ओझेलमा पर्नु हुँदैन । त्यस्तै, विवादलाई उत्तेजनाको माध्यम बनाएर सम्बन्ध बिगार्नु बुद्धिमानी होइन । नेपाललाई आवश्यक छ–दृढ अडानसहितको संयमित र परिणाममुखी कूटनीति । नेपाल र भारतबीच वर्षौंदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाले यस भ्रमणमा अपेक्षित गति लिन नसक्नु विचारणीय पक्ष हो । जलविद्युत् उत्पादन, सिँचाइ र बाढी नियन्त्रणका दृष्टिले महत्त्वपूर्ण मानिएको यो परियोजना लामो समयदेखि निर्णय र कार्यान्वयनको प्रतीक्षामा छ । दुई देशका नेतृत्वबीच यसबारे ठोस प्रगति हुनसकेको भए भ्रमणको उपलब्धि अझ महत्त्वपूर्ण हुने थियो । अर्कोतर्फ, अयोध्या र जनकपुरलाई जोड्ने सरयु-कमला एक्स्प्रेस रेल सेवा शुभारम्भ हुनु सांस्कृतिक तथा धार्मिक पर्यटनका लागि सकारात्मक पहल हो । रामायणकालीन सभ्यतासँग जोडिएका दुई महत्त्वपूर्ण शहरबीच प्रत्यक्ष रेल सम्पर्क विस्तार हुँदा धार्मिक पर्यटन, सीमापार आवागमन र स्थानीय आर्थिक गतिविधिमा सहयोग पुग्नसक्छ । तर, सांस्कृतिक सम्बन्धलाई आर्थिक लाभसँग जोड्ने नीति आवश्यक छ । जनकपुरसहित आसपासका क्षेत्रको पर्यटन पूर्वाधार, होटल, यातायात, स्थानीय उत्पादन र रोजगारी विस्तारमा यसले योगदान पुर्‍याउनुपर्छ । भ्रमणका क्रममा फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, आयुर्वेद तथा परम्परागत चिकित्सा, सूचना प्रविधि, स्याटेलाइट सञ्चार, स्वास्थ्य, शहरी विकास, पशुपालन र मत्स्यपालनलगायत क्षेत्रमा आठवटा समझदारी हुनु सकारात्मक पक्ष हो । यी क्षेत्र प्रत्यक्ष रूपमा जनजीवन र राज्यको संस्थागत क्षमतासँग जोडिएका छन् । विशेषगरी अपराध अनुसन्धान, प्रहरीको व्यावसायिक क्षमता, सरकारी अधिकारीको प्रशिक्षण र सूचना प्रविधिमा सहकार्यले नेपालको प्रशासनिक तथा प्राविधिक क्षमता विकास गर्न सक्छ । नयाँ नेतृत्वले पुरानो राजनीतिक अभ्यास बदल्ने दाबी गरेको छ भने त्यसको प्रमाण विदेश नीतिमा देखिनुपर्छ । राष्ट्रिय हितमा स्पष्ट अडान, तथ्यमा आधारित तयारी, सक्षम वार्ता टोली, पारदर्शी सम्झौता र समयबद्ध कार्यान्वयन नयाँ कूटनीतिक शैलीका आधार बन्नुपर्छ । दिल्लीमा भएको सहमति काठमाडौंमा बसेर कार्यान्वयन गर्न सकिएन भने भ्रमणको चमक विस्तारै हराउनेछ । नेपालको क्रिकेट विकासमा सहयोग गर्ने भारतीय प्रतिबद्धता खेलकुद क्षेत्रका लागि अवसर बन्नसक्छ । तर, यस्ता समझदारीलाई कार्यक्रम र बैठकमा मात्र सीमित राख्नु हुँदैन । कुन निकायले काम गर्ने, कति बजेट आवश्यक पर्ने, कति जनशक्ति लाभान्वित हुने र उपलब्धि कसरी मापन गर्ने भन्ने विषय स्पष्ट हुनुपर्छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेनमा नेपालको भविष्य र नेपाल–भारत सम्बन्धका लागि स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको अभिव्यक्ति दिनुभएको छ । प्रधानमन्त्री बालेनले पनि भ्रमणका क्रममा भएका समझदारीको प्रतिफल किसानको खेतमा, युवाको हातमा रोजगारीका रूपमा र उद्यमीको व्यवसायमा नयाँ अवसरका रूपमा देखिनुपर्ने बताउनुभएको छ । यो अभिव्यक्ति आफैंमा महत्त्वपूर्ण छ, किनकि कूटनीतिक सम्बन्धको वास्तविक अर्थ नागरिकको जीवनमा आउने सकारात्मक परिवर्तन हो । अब सरकारका लागि मुख्य चुनौती यही प्रतिबद्धतालाई व्यवहारमा उतार्नु हो । भ्रमणमा भएका सहमतिको सार्वजनिक कार्ययोजना बनाउनुपर्छ । प्रत्येक परियोजनाको जिम्मेवार निकाय, बजेट, कार्यान्वयन अवधि र प्रगति समीक्षा गर्ने व्यवस्था हुनुपर्छ । जनताले सरकारले के सहमति गर्‍यो भन्नेमात्र होइन, ती सहमति कार्यान्वयन भए कि भएनन् भन्ने जानकारी पनि पाउनुपर्छ ।नेपालले भारतसँगको सम्बन्धलाई न त अनावश्यक आशंका र विरोधको दृष्टिले हेर्नुपर्छ, न सबै विषयमा सहमति जनाउने निर्भरताको मानसिकताबाट सञ्चालन गर्नुपर्छ । भारत-नेपालको प्रमुख व्यापारिक साझेदार, पारवहनको आधार र ऊर्जा बजार हो । त्यसैले सम्बन्ध सुमधुर बनाउनु नेपालको आर्थिक आवश्यकता हो । तर, सुमधुर सम्बन्धको अर्थ राष्ट्रिय हितका विषयमा मौन रहनु होइन । पारस्परिक सम्मान, समान लाभ, सार्वभौमिकताको रक्षा र निर्णय स्वतन्त्रता सम्बन्धका आधार हुनुपर्छ । प्रधानमन्त्री साहको भारत भ्रमणलाई न असाधारण सफलताको रूपमा अग्रिम प्रशंसा गर्नुपर्छ, न केही मुद्दा छुटेकै आधारमा पूर्ण असफलता घोषणा गर्नुपर्छ । आर्थिक सहयोग, हवाई रुट, ऊर्जा पूर्वाधार र विभिन्न क्षेत्रमा भएका समझदारीले नयाँ सम्भावनाका ढोका खोलेका छन् । तर, सीमा विवाद, पञ्चेश्वर परियोजना र विगतका अधुरा प्रतिबद्धताले अझै धेरै काम बाँकी रहेको स्पष्ट पारेका छन् । नयाँ नेतृत्वले पुरानो राजनीतिक अभ्यास बदल्ने दाबी गरेको छ भने त्यसको प्रमाण विदेश नीतिमा देखिनुपर्छ । राष्ट्रिय हितमा स्पष्ट अडान, तथ्यमा आधारित तयारी, सक्षम वार्ता टोली, पारदर्शी सम्झौता र समयबद्ध कार्यान्वयन नयाँ कूटनीतिक शैलीका आधार बन्नुपर्छ । दिल्लीमा भएको सहमति काठमाडौंमा बसेर कार्यान्वयन गर्न सकिएन भने भ्रमणको चमक विस्तारै हराउनेछ । तर, सहमतिलाई उत्पादन, रोजगारी, पूर्वाधार र नागरिकको समृद्धिसँग जोड्न सकियो भने यसले नेपालको विकास यात्रामा वास्तविक योगदान दिन सक्छ । बालेनको भारत भ्रमणले अवसर दिएको छ, केही महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् । अब प्रश्न भारतले के दियो भन्नेमात्र होइन, नेपालले प्राप्त अवसरलाई कसरी उपयोग गर्छ भन्ने हो । राष्ट्रिय हितको रक्षा दृढ आवाजलेमात्र होइन, बलियो अर्थतन्त्र, सक्षम प्रशासन, स्पष्ट नीति र निरन्तर कूटनीतिक प्रयासले हुन्छ । त्यसैले यस भ्रमणको अन्तिम सफलता दिल्लीमा भएको स्वागत र घोषणाले होइन, नेपाली जनताले आफ्नो जीवनमा महसुस गर्ने परिवर्तनले निर्धारण गर्नेछ । (लेखक : डा.डीआर उपाध्याय १५३ विश्वकीर्तिमानी व्यक्तित्व हुनुहुन्छ ।)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शेख हसिनाको घरफिर्ती घोषणाले तात्यो ढाका
Latest NewsJust now

शेख हसिनाको घरफिर्ती घोषणाले तात्यो ढाका

काठमाडौं । बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशको राजनीतिक माहोल पुनः तात्ने संकेत देखिएको छ । दुई वर्षभन्दा बढी समयदेखि भारतमा निर्वासनको जीवन बिताइरहनु भएकी हसिनाको यो घोषणाले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ । तर, उहाँको स्वदेश फिर्ती राजनीतिक इच्छाशक्तिले मात्रै सम्भव हुने अवस्था छैन । मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय ...

हिमालय टाइम्स
शिलालेखमै सीमित आधारभूत अस्पताल
Latest NewsJust now

शिलालेखमै सीमित आधारभूत अस्पताल

गोकर्ण दयाल बैतडी, मङ्सिर ९ गते । तत्कालीन सरकारले विसं २०७७ मङ्सिर १५ गते निकै तामझामसाथ ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माणको महत्वाकाङ्क्षी अभियान सुरु गरेको थियो तर... ...

गोरखापत्र
नेपाल प्रहरीका ६० एसपीको सरुवा, १७ जिल्लाका इन्चार्ज पनि फेरिए (सूचीसिहत)
Latest NewsJust now

नेपाल प्रहरीका ६० एसपीको सरुवा, १७ जिल्लाका इन्चार्ज पनि फेरिए (सूचीसिहत)

नेपाल प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा भएको छ।  नवनियुक्त आईजीपी मनोज केसीले मंगलबार ६० जिना एसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् ।  पूर्वप्रकाशित प्रहरी उपरीक्षकहरूको पूर्वानुमान योग्य सरूवा सूची अनुसार जनपद प्रहरी समूहतर्फका एसपीहरूको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  सरुवा सुचि अनुसार बारामा कुमार व... ...

नेपालखबर
भोजपुरका किसान कृत्रिम गर्भाधानतर्फ आकर्षित
Latest NewsJust now

भोजपुरका किसान कृत्रिम गर्भाधानतर्फ आकर्षित

भोजपुर । भोजपुरमा उन्नत जातका पशु उत्पादन गरी दूध तथा मासु उत्पादन बढाउने उद्देश्यले कृत्रिम गर्भाधान सेवा लिने किसानको सङ्ख्या बढ्दै गएको छ । स्थानीय जातका गाईभैँसीको नस्ल सुधार गरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement