Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजबाट

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजबाट
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । सोमबार रंगशालाको उद्घाटन एवं हस्तान्तरण गरिएको छ । प्रतिस्पर्धा आज (मंगलबार)देखि हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन हुनुभन्दा आठ दिनअघि नै विभिन्न ६ खेलका प्रतिस्पर्धा सुरु हुन लागेका हुन् । खेल सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित खेलाडीहरू बन्द प्रशिक्षणमा जुटिरहेका छन् । सीमित स्रोतसाधन र पूर्वाधारबीच पनि उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा रहेका खेलाडीले यसपटक दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेका छन् । राष्ट्रियस्तरका प्रतिस्पर्धीलाई चुनौती दिन शारीरिक अभ्याससँगै खेलकौशल निखार्न व्यस्त खेलाडीहरू प्रतियोगितामा आफ्नो क्षमता प्रमाणित गर्ने अवसरको प्रतीक्षामा छन् । तर, आवश्यक खेलसामग्री, प्रशिक्षण र पूर्वाधारको अभावले तयारी सहज भने नभएको उनीहरूको अनुभव छ । आजदेखि सुरु हुने खेलहरूको व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको आयोजकले जनाएको छ । सुर्खेतको कर्णाली प्रदेश रंगशालासहित बाँके र बर्दियामा पनि केही खेल सञ्चालन हुनेछन् । बाँकेको नेपालगञ्जमा पौडी तथा बर्दियामा टेनिस प्रतियोगिता सञ्चालन हुनेछ । सुर्खेतमा फुटबल, महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबललगायत खेलका प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताका खेलहरू चरणबद्धरूपमा सञ्चालन गर्दै लगिने आयोजकको तयारी छ । दशौं राष्ट्रिय खेलकुदका कुल ३२ खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुँदैछन् । तीमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन् । कर्णालीका दैलेख, कालीकोट, सल्यान र पश्चिमरुकुम तथा लुम्बिनीका बाँके र बर्दियामा पनि खेल सञ्चालन गरिनेछ । आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनअघि नै सुरु हुने खेलका प्रतिस्पर्धा त्यसअघि नै सम्पन्न हुने गरी तालिका बनाइएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए)गरी ११ टोलीका खेलाडी सहभागी हुनेछन् । ३८४ इभेन्ट्समा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता मंसिर २७ गते समापन हुनेछ । वीरेन्द्रनगरमा बृहत् र्‍यालीदशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार बृहत् र्‍याली आयोजना गरिएको छ । प्रतियोगिता औपचारिकरूपमा सुरु भएको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित र्‍यालीमा करिब तीन हजार जनाको सहभागिता रहेको थियो ।वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको र्‍याली वीरेन्द्रचोक, गणेशचोक, पुरानो अस्पताल, घण्टाघर र धमलाचोक हुँदै रंगशाला परिसरमा पुगेर समापन भएको थियो । र्‍यालीमा कर्णालीको मौलिक कला, संस्कृति र परम्परा झल्काउने विभिन्न झाँकी, परम्परागत बाजागाजा तथा सांस्कृतिक नाचगान प्रस्तुत गरिएको थियो । र्‍यालीमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही, प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीसहित खेलकुद क्षेत्रका अधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिकरूपमा सुरु भएको सन्देश दिन र्‍याली आयोजना गरिएको बताउनुभयो । ‘यो प्रतियोगिता औपचारिकरूपमा सुरु भयो भन्ने सन्देश हो,’ उहाँले भन्नुभयो, ‘मंगलबारदेखि खेलहरू सञ्चालन हुनेछन् ।’ प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी मंसिर १६ गते गर्ने तयारी छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपालीको एक टोली गरी ११ टोली सहभागी हुनेछन् । कुल ३२ खेलका ३८४ स्पर्धामा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव रवीन्द्र चन्दले प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी तुल्याउन आयोजक मूल समारोह समितिसहित विभिन्न १४ वटा समिति गठन गरिएको छ । आजदेखि पुरुष फुटबलका नौ टोलीबीच प्रतिस्पर्धादशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत आजदेखि पुरुष फुटबलका खेल हुनेछन् । सार्वजनिक तालिकाअनुसार पुरुष फुटबल प्रतियोगितामा नौ टोलीले तीन समूहमा विभाजित भएर प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’ मा एनपिसी, गण्डकी र कर्णाली रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा एपिएफ, मधेस र सुदूरपश्चिम तथा समूह ‘सी’ मा टिएएफसी, कोशी, बागमती र लुम्बिनी रहेका छन् । समूह चरणका खेल आजदेखि १३ गतेसम्म सञ्चालन हुनेछन् । प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् । दिउँसो १ बजे एनपिसी र कर्णाली आमनेसामने हुँदा दिउँसो साढे ३ बजे मधेसले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । मंसिर ९ गते बिहान ९ बजे टिएएफसी र लुम्बिनी तथा दिउँसो साढे २ बजे कोशी र बागमतीबीच खेल हुनेछ । मंसिर १० गते बिहान ९ बजे कर्णाली र गण्डकी भिड्दा दिउँसो साढे २ बजे एपिएफ र मधेसबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी, मंसिर ११ गते बिहान ९ बजे लुम्बिनी र कोशी तथा दिउँसो साढे २ बजे बागमती र टिएएफसीबीच खेल हुनेछ । मंसिर १२ गते बिहान ९ बजे सुदूरपश्चिम र एपिएफ आमनेसामने हुनेछन् भने दिउँसो साढे २ बजे गण्डकीले एनपिसीसँग खेल्नेछ । समूह चरणको अन्तिम दिन मंसिर १३ गते बिहान ९ बजे टिएएफसी र कोशी तथा दिउँसो साढे २ बजे बागमती र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । तालिकाअनुसार मंसिर १५ गते सेमिफाइनलका दुई खेल सञ्चालन हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘सी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा भने समूह ‘बी’ र समूह ‘सी’ का विजेताबीच भिडन्त हुनेछ । प्रतियोगिताको तेस्रो स्थानका लागि मंसिर १७ गते खेल हुनेछ । सोही दिन उपाधिका लागि फाइनल प्रतिस्पर्धासमेत आयोजना गरिनेछ । फाइनल जित्ने टोली पुरुष फुटबलतर्फ स्वर्ण पदकको हकदार बन्नेछ । पुरुष फुटबलका खेल सुर्खेत र जुम्लामा सञ्चालन हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार आवश्यकताअनुसार खेलतालिकामा परिवर्तन गर्न सकिनेछ । साथै, खेल सुरु हुनुभन्दा ९० मिनेटअघि नै सम्बन्धित टोली खेलस्थलमा उपस्थित भइसक्नुपर्ने व्यवस्था गरिएको छ । महिला क्रिकेट पनि आजदेखिदशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट पनि आजदेखि हुँदैछ । आजदेखि १४ गतेसम्म सञ्चालन हुने महिला क्रिकेटमा तीन समूहमा विभाजन गरी नौ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र कर्णाली प्रदेश छन् । समूह ‘बी’मा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब, लुम्बिनी प्रदेश र मधेस प्रदेश छन् । समूह ‘सी’मा बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुनेछन् । बिहान ९ः३० बजेको खेलमा आर्मी क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो १ः१५ बजे हुने दोस्रो खेलमा एपिएफ क्लब र लुम्बिनी प्रदेश आमनेसामने हुनेछन् । समूह चरणका खेलबाट छनोट हुने टोलीबीच मंसिर १३ गते सेमिफाइनल प्रतिस्पर्धा हुनेछ । मंसिर १४ गते दिउँसो १ः१५ बजे उपाधिका निम्ति फाइनल खेल आयोजना गरिनेछ । यी सबै खेल सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली क्रिकेट मैदानमा सञ्चालन गरिने राखेपले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विपद् प्रभावित क्षेत्रमा बागमती सरकारले ६ अर्ब परिचालन गर्ने
Latest NewsJust now

विपद् प्रभावित क्षेत्रमा बागमती सरकारले ६ अर्ब परिचालन गर्ने

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण गर्न प्रदेश सरकारले ६ अर्ब रुपैयाँ परिचालन गर्ने बताएका छन्।  बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको भोटेकोसी बाढी पश्चात् पुनर्निर्माण र पुनःस्थापनाका क्षेत्रमा हालसम्म भएका कार्य, आगामी कार्ययोजनासम्बन्धी समन्वय बैठकमा उनले ब... ...

नेपालखबर
एनपिएल बाहेकका प्रतियोगिताको टिकटिङ अधिकार बेच्दै क्यान
Latest NewsJust now

एनपिएल बाहेकका प्रतियोगिताको टिकटिङ अधिकार बेच्दै क्यान

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) बाहेक आफ्ना अन्य सम्पूर्ण कार्यक्रम तथा प्रतियोगिताको विशेष टिकटिङ अधिकार बिक्रीका लागि ठेक्का आह्वान गरेको छ । क्यानले आगामी दुई वर्षका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (नेसनल कम्पिटिटिभ बिडिङ) प्रक्रियामार्फत योग्य कम्पनी तथा संस्थाबाट बोलपत्र माग गरेको हो । क्यानद्वारा जारी सूचनाअनुसार इच्छुक कम्पनी तथा संस्थाले आगामी ३० नोभेम्बर २०२६ सम्म बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न ...

फरकधार
सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे ७ दिनभित्र कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन
Latest NewsJust now

सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे ७ दिनभित्र कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन

संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताए । ...

कान्तिपुर
चितुवाको आक्रमणबाट किशोरीको मृत्यु
Latest NewsJust now

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

बर्दिया । बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement