खोटाङ । राजनीतिक दल त्याग गरेको भन्दै निर्वाचन आयोगले जिल्ला समन्वय समिति (जिसस) खोटाङका प्रमुख सनबहादुर राईसहित जिल्लाका आठ जना जनप्रतिनिधिको पद रिक्त गराएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिले दल त्याग गरेको जानकारी गराएपछि आयोगले मङ्सिर २ गते उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो । आयोगले मङ्सिर ३ गते प्रकाशित गरेको सूचनामार्फत पदमुक्त भएको जानकारी गराएको छ । पदमुक्त हुनेमा जिसस प्रमुख राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, वडासदस्य कल्पना राई, दलित महिला सदस्य गीता विश्वकर्मा, वडासदस्य रामधन राई र सहरमणि राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नाल छन् । पदमुक्त भएका जिसस प्रमुख सनबहादुर राई हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य छन् । गाउँपालिका उपाध्यक्ष गुरुराज र वडाध्यक्ष मुगाधन श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् भने नगर कार्यपालिका सदस्य दर्नाल अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा आबद्ध भएका छन् । पाथेकाका वडासदस्य सहरमणि र कल्पना तत्कालीन नेकपा (माओवादी केन्द्र) तथा रामधन नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचनमा दलहरूबीच भएको चुनावी तालमेलका क्रममा उनीहरूले जसपा नेपालको चुनाव चिह्नबाट उम्मेदवारी दिएकाले पद गुमाउनुपरेको जनाइएको छ । वडाका सबै जनप्रतिनिधि पदमुक्त भएपछि पाथेका जनप्रतिनिधिविहीन बनेको छ । उपनिर्वाचनको सम्भावना नरहेको अवस्थामा कर्मचारीमार्फत नै वडाको कामकाज सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरले जानकारी दिए । यसअघि जिल्लाका अन्य स्थानीय तहका पाँच जना जनप्रतिनिधि पनि दल त्यागकै कारण पदमुक्त भइसकेका छन् । पदमुक्त हुनेमा बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भूबलराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राई, केपिलासगढी गाउँपालिका–३ बास्पानीका वडाध्यक्ष तुलाराज राई, खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका वडाध्यक्ष जेफर राई र खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका वडा सदस्य प्रदीप आचार्य छन् । भूबलराज, तुलाराज, दिनेश र जेफर श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए । उनीहरू क्रमशः नेकपा (एकीकृत समाजवादी), नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले) र नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका प्रदीप आचार्य एमालेबाट निर्वाचित भएका थिए । पदमुक्त भएका वडाध्यक्षहरूको स्थानमा सम्बन्धित वडाका ज्येष्ठ सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सम्बन्धित राजनीतिक दलले जनाएका छन् । पछिल्लो निर्णयसँगै २०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर खोटाङमा पदमुक्त हुने जनप्रतिनिधिको सङ्ख्या १३ पुगेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ मा दल त्याग गरेको ठहर भएमा निर्वाचन आयोगले जनप्रतिनिधिको पद रिक्त गराउन सक्ने व्यवस्था छ । सम्बन्धित दलले आफ्ना नीति, सिद्धान्त र निर्णयविपरीत दल त्याग गरेको भन्दै आयोगमा सिफारिस गरेपछि पदमुक्तिको निर्णय भएको हो ।
दल त्यागेको भन्दै जिसस प्रमुखसहित आठ जनप्रतिनिधि पदमुक्त

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






