मुम्बई । भारतीय क्रिकेटर रोहित शर्मा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२७ का लागि पुनः मुम्बई इन्डियन्सको कप्तान बनेका छन् । तीन वर्षअघि हार्दिक पाण्ड्यालाई कप्तानीको जिम्मेवारी दिँदै पदबाट हटाइएका रोहितलाई फ्रेन्चाइजले फेरि नेतृत्वमा फर्काएको हो । खेलाडी रिटेन्सनको अन्तिम समय सीमाअघि मुम्बईले हार्दिकलाई पन्जाब किंग्ससँग अर्शदीप सिंहसँग साटफेर गर्ने निर्णय गरेपछि रोहितलाई कप्तान नियुक्त गरिएको हो । रोहितले सन् २०२३ पछि पहिलो पटक मुम्बईको कप्तानी गर्ने अवसर पाएका हुन् । मुम्बईले कप्तानीका लागि रोहितसँगै जसप्रित बुमराह, सूर्यकुमार यादव, तिलक वर्मा र न्युजिल्यान्डका मिचेल सान्टनरलाई पनि सम्भावित विकल्पका रूपमा हेरेको थियो । तर, अन्ततः फ्रेन्चाइजले अनुभवी रोहितलाई नै नेतृत्वको जिम्मेवारी सुम्पिएको छ । रोहितले मुम्बईको कप्तानीमा पुनरागमन गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले मुम्बई आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा रहेको बताउँदै टोलीको नेतृत्व गर्नु सधैँ गर्वको विषय भएको उल्लेख गरेका छन् । आगामी सिजनमा टोलीले एकजुट भएर प्रतिस्पर्धा गर्ने र समर्थकलाई खुसी मनाउने अवसर दिने उनको भनाइ छ । रोहित मुम्बई इन्डियन्सका सबैभन्दा सफल कप्तान हुन् । उनले आइपिएल र च्याम्पियन्स लिग टी–२० गरी १६३ खेलमा टोलीको नेतृत्व गरेका छन् । उनको कप्तानीमा मुम्बईले ९३ खेल जित्दा ७० खेलमा पराजय बेहोरेको छ । उनकै नेतृत्वमा मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० गरी पाँच पटक आइपिएल उपाधि जितेको थियो । रोहितको कप्तानीमा खेलेका पाँचवटै फाइनलमा मुम्बई विजयी भएको थियो । सन् २०२४ को सिजनअघि मुम्बईले गुजरात टाइटन्सबाट हार्दिकलाई भित्र्याउँदै रोहितको स्थानमा कप्तान बनाएको थियो । तर, हार्दिकको नेतृत्वमा टोलीले अपेक्षित सफलता हासिल गर्न सकेन । सन् २०२४ मा मुम्बई अङ्कतालिकाको पुछारमा रह्यो भने त्यसपछिको सिजन क्वालिफायर–२ बाट बाहिरियो । आइपिएल २०२६ मा पनि टोली नवौँ स्थानमा सीमित भएको थियो । हार्दिकले कप्तानी सम्हालेपछि मुम्बईको घरेलु मैदानमै समर्थकको आलोचना र हुटिङको सामना गर्नुपरेको थियो । उनको कप्तानी र व्यक्तिगत प्रदर्शन दुवैमाथि प्रश्न उठ्दै आएको थियो । गत वर्ष उनले फ्रेन्चाइजलाई आफू टोलीबाट बाहिरिन तयार रहेको जानकारीसमेत गराएका थिए । हार्दिकलाई टोलीमै राख्ने सम्भावनासहित विभिन्न पक्षको समीक्षा गरेको मुम्बईले अन्ततः उनलाई अर्शदीपसँग साटफेर गर्ने निर्णय गरेको हो । यससँगै तीन वर्षपछि रोहित पुनः मुम्बईको नेतृत्वमा फर्किएका छन् ।
तीन वर्षपछि रोहित शर्मा फेरि मुम्बई इन्डियन्सको कप्तान

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






