काठमाडौं । बाढीले क्षति पुर्याएको रसुवाको स्याफ्रुबेँसीस्थित पुल सामूहिक श्रमदानबाट मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। नेपाल रेडक्रस सोसाइटीको अगुवाइमा स्थानीय तह, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा तीन दिनमै पुल मर्मत गरिएको हो। गत भदौ १० गते आएको भीषण बाढीले पुलमा क्षति पुर्याएपछि आवागमन प्रभावित भएको थियो। पुल मर्मत सम्पन्न भएसँगै अवरुद्ध आवागमन पुनः सञ्चालनमा आएको छ। मर्मत कार्यमा गोसाइँकुण्ड र आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि तथा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले श्रमदान गरेका थिए। विभिन्न निकायबीच समन्वय गरी जनशक्ति परिचालन गर्दा छोटो समयमै पुल मर्मत सम्भव भएको हो। नेपाल रेडक्रस सोसाइटीले पुल मर्मतका लागि आवश्यक निर्माण सामग्री र मिस्त्रीको ज्याला उपलब्ध गराएको थियो। स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा समुदायले श्रमदानमार्फत निर्माण कार्यमा सहयोग गरेका थिए।
तीन दिनको सामूहिक श्रमदानबाट मर्मत गरियो स्याफ्रुबेँसीको पुल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






