काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई माटाका पाला बनाउन भ्याइनभ्याइ छ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारमा लक्ष्मीपूजाका दिन माटाका पाला बाल्ने परम्परा रहेकाले भक्तपुरको दरबार स्क्वायर आसपासस्थित कुमाले टोलका प्रजापति समुदायका सदस्यहरू यतिबेला पाला बनाउन व्यस्त छन् । कुमाले टोलमा अहिले कसैले माटो मुछिरहेका छन् त कसैले चक्रमा माटो राखेर पालालाई आकार दिइरहेका छन् । कोही तयार भएका पाला सुकाउँदै छन् भने कोही भट्टीमा पोलेर बजार पठाउने तयारीमा जुटेका छन् । तिहारको समयमा पाला बढी बिक्री हुने भएकाले यहाँका अधिकांश परिवार बिहानदेखि साँझसम्म पाला बनाउन खटिएका छन् । भक्तपुरमा उत्पादित माटाका पाला उपत्यकामा मात्र नभई उपत्यकाबाहिरका जिल्लामा समेत लोकप्रिय छन् । यसको मौलिकता र गुणस्तरका कारण काभ्रे, सिन्धुपाल्चोक, पोखरा, धरान, चितवन र हेटौँडालगायत विभिन्न स्थानबाट व्यापारी तथा उपभोक्ता पाला खरिद गर्न भक्तपुर पुग्ने गरेका छन् । हाल एउटा माटाको पाला करिब दुई रुपैयाँमा बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् । तिहार नजिकिँदै जाँदा माग बढ्ने र मूल्यसमेत बढ्न सक्ने उनीहरूको अपेक्षा छ । तिहारमा घरआँगन सजाउन तथा लक्ष्मीपूजाका दिन घरका दैलो, झ्यालढोका, कौसी र बरन्डामा माटाका पाला प्रज्वलन गर्ने परम्परा छ । त्यस्तै, छठ पर्वमा पनि माटाका भाँडाको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व छ । यही परम्पराका कारण तिहार तथा छठको समयमा माटाका भाँडाको माग बढ्ने गरेको छ । समयसँगै माटाका भाँडा बनाउने परम्परागत पेसामा प्रविधिको प्रयोग बढ्दै गएको छ । पहिले खुट्टाले माटो मुछ्ने र हातले चक्र घुमाएर भाँडा बनाउने कुमालेहरूले अहिले माटो तयार गर्न मेसिन र चक्र घुमाउन मोटरको प्रयोग गर्न थालेका छन् । त्यस्तै, भाँडा पकाउन आधुनिक भट्टीको प्रयोग हुन थालेको छ । यसले उत्पादन प्रक्रिया सहज बनाउनुका साथै समय र श्रमसमेत बचत गरेको व्यवसायीहरूको अनुभव छ । तर प्रविधिको विकाससँगै माटोको अभाव भने उनीहरूका लागि प्रमुख चुनौती बनेको छ । व्यवसायी विवेक प्रजापतिका अनुसार पहिले भक्तपुरमै सहज रूपमा माटो उपलब्ध हुने गरेको थियो । अहिले सहरीकरण र घर निर्माण बढेसँगै स्थानीय क्षेत्रमा माटो पाउन कठिन भएको छ । त्यसैले अन्य स्थानबाट महँगो मूल्यमा माटो खरिद गरेर ल्याउनुपर्ने बाध्यता छ । “पहिले माटो भक्तपुरमै पाइन्थ्यो । अहिले घरैघर बनेपछि अन्य ठाउँबाट माटो किनेर ल्याउनुपर्छ । प्रतिकेजी २० देखि ५० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ,” उनले भने । उनका अनुसार पाला बनाउने सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रयास भइरहेको छ । तर अपेक्षाअनुसार आम्दानी नहुँदा यो पेसाप्रति नयाँ पुस्ताको आकर्षण कस्तो रहन्छ भन्ने चिन्ता पनि उत्तिकै छ । व्यवसायबाट ठूलो आम्दानी नभए पनि पुर्ख्याैली पेसा र पहिचान जोगाउन आफूहरू निरन्तर लागिरहेको उनले बताए । व्यवसायी गणेशकुमार प्रजापतिका अनुसार तिहारमा जति धेरै पाला उत्पादन गर्न सकियो, त्यति नै बिक्री हुने गरेको छ । तर पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढेसँगै माटाका पालाको माग पहिलेको तुलनामा घट्दै गएको छ । “पहिले बिजुलीको सुविधा नहुँदा हरेक घरमा माटाका पाला मात्रै बालिन्थे । अहिले विद्युतीय बत्तीको प्रयोग बढेको छ । त्यसले गर्दा पालाको बिक्रीमा असर परेको छ,” उनले भने । उनका अनुसार केही वर्षअघिसम्म भक्तपुरको तलेजु मन्दिरबाट कुमाले समुदायले निःशुल्क माटो पाउने गरेका थिए । अहिले भने साँखु, डुवाकोटलगायतका स्थानबाट माटो खरिद गरेर ल्याउनुपरेको छ । यसले उत्पादन लागतसमेत बढाएको छ । हाल भक्तपुरमा करिब ३० देखि ४० प्रजापति परिवार यस पेसामा संलग्न रहेको उनले जानकारी दिए । पुख्र्यौली पेसा जोगाउन स्थानीय सरकारले सहज रूपमा माटो उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने उनको माग छ । व्यवसायी रञ्जना प्रजापतिका अनुसार वर्षभरिमा माटाका पाला सबैभन्दा बढी बिक्री हुने समय तिहार नै हो । यस समयमा थोक तथा खुद्रा व्यापारीको चहलपहल बढ्ने गर्छ । त्यसैले यो अवसर गुम्न नदिन कुमाले समुदायका परिवारका सदस्य बिहानदेखि रातिसम्म पाला बनाउन खटिने गरेका छन् । उनका अनुसार नयाँ पुस्ता पनि यस पेसामा जोडिन थालेको छ । आफ्नै छोरा पनि पाला बनाउने काममा संलग्न रहेको उनले बताइन् । तर यो पेसाबाट भविष्यमा राम्रो आम्दानी गर्न सकिने विश्वास नहुँदा धेरै युवाको आकर्षण घट्दै गएको उनको भनाइ छ । “वर्षभरिमा राम्रो आम्दानी हुने समय नै तिहार हो । त्यसैले यो समयमा परिवारका सबै सदस्य माटोकै काममा व्यस्त हुन्छौँ,” उनले भनिन् । माटाका पाला बनाउने काममा करिब ३० वर्षदेखि संलग्न रोशन प्रजापति पछिल्लो समय पेसा पहिलेको जस्तो सहज नरहेको बताउँछन् । उनका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष तिहारमा पालाको मागसमेत कम छ । माटोको अभावका कारण टाढाटाढाबाट माटो ल्याउनुपर्ने र विद्युतीय बत्तीको बढ्दो प्रयोगले माटाका पालाको बजार प्रभावित भएको उनले बताए । “म यो पेसामा लाग्दा माटाका पालाको धेरै चलन थियो । अहिले पहिलेको जस्तो माग छैन । अघिल्लो वर्षको तुलनामा यस वर्ष पनि माग कम छ । नयाँ पुस्ताले पनि यो पेसाप्रति खासै चासो देखाएको छैन,” उनले भने । भक्तपुरको कुमाले समुदायका लागि माटाका पाला उत्पादन केवल आम्दानीको माध्यम मात्र नभई पुस्तौँदेखि चलिआएको पेसा, सीप र सांस्कृतिक पहिचानसमेत हो । आधुनिक प्रविधिको प्रयोगले उत्पादन प्रक्रिया सहज बनाए पनि कच्चा पदार्थको अभाव, बढ्दो लागत, विद्युतीय बत्तीको प्रतिस्पर्धा र नयाँ पुस्ताको घट्दो आकर्षणले यो पेसा चुनौतीमा परेको छ । तिहार र छठजस्ता पर्वमा माटाका भाँडाको माग बढ्ने भए पनि वर्षभरि पेसालाई निरन्तरता दिन पर्याप्त बजार र आम्दानीको सुनिश्चितता हुन सकेको छैन । पुर्ख्याैली सीप र संस्कृति जोगाउन स्थानीय सरकारले माटोको सहज उपलब्धता, उत्पादन तथा बजारीकरणमा सहयोग गर्नुपर्ने आवश्यकता व्यवसायीहरूले औँल्याएका छन् । परम्परागत माटाका पाला र भाँडाको प्रयोगलाई निरन्तरता दिनु एउटा पेसा जोगाउनु मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको नेपाली मौलिक कला, संस्कृति र पहिचानलाई जीवित राख्नु पनि हो ।
तिहार नजिकिएसँगै माटाका पाला बनाउन भ्याइनभ्याइ !

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






