काठमाडौं । विराटनगर किंग्सका अलराउण्डर आन्द्रे रसेलले नेपाली क्रिकेटमा प्रतिभाको कमी नरहेको बताएका छन्। उनले नेपालमा राष्ट्रिय टोलीमा स्थान बनाउन सक्ने सम्भावना भएका १५ देखि २० जनासम्म खेलाडी देखेको बताएका हुन्। मंगलबार जनकपुर बोल्ट्ससँगको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटको प्रतिभा विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले आगामी वर्ष पनि एनपीएल खेल्न नेपाल आउने इच्छा व्यक्त गरे। राष्ट्रिय टोलीमा नरहेका खेलाडीहरूसमेत अवसरको खोजीमा रहेको उल्लेख गर्दै उनले नेपाली क्रिकेटमा पर्याप्त प्रतिभा रहेको धारणा राखे। नेपालले वेस्ट इन्डिजजस्ता बलिया टोलीलाई हराउन सक्नुको कारण पनि एनपीएलमा देखेको प्रतिभाबाट बुझ्न सकेको उनको भनाइ थियो। नेपाली खेलाडीलाई सही प्रशिक्षण र मार्गदर्शनसँगै मेहनती तथा विनम्र भएर अघि बढ्न उनले सुझाव दिए। रसेलले नेपाली पिच र खेल परिस्थितिलाई चुनौतीपूर्ण भए पनि आफूलाई नयाँ अनुभव नभएको बताए। दुई दशकभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय तथा विभिन्न फ्रेन्चाइज प्रतियोगिता खेल्दै आएको अनुभवले फरक पिच र परिस्थितिमा आफूलाई अभ्यस्त बनाएको उनको भनाइ थियो। क्यारेबियन क्षेत्रका पिचसँग नेपाली पिचको केही समानता रहेको पनि उनले बताए। विराटनगर र जनकपुरबीचको खेलमा अन्तिम ओभरमा १३ रन बचाउने जिम्मेवारी पाउँदा आफूले बलिङ क्षमतामा विश्वास गरेको रसेलले सुनाए। दुई सेट ब्याटर क्रिजमा रहेकाले दबाब भए पनि १० रन बचाउन सके पर्याप्त हुने उनको आकलन थियो। अन्तिम बलमा ब्याटरले अपेक्षा नगरेको किसिमको सर्ट बल प्रयोग गर्ने निर्णय सफल भएको उनले बताए। ब्याटिङ र बलिङ दुवैमा अनुभव भएकाले ब्याटरले अन्तिम ओभरमा कस्तो बल अपेक्षा गर्छन् भन्ने बुझ्न आफूलाई सहज हुने उनको भनाइ थियो। नेपाली खेलाडीहरूसँगको सम्बन्धबारे रसेलले एनपीएलमा निकै आत्मीय वातावरण पाएको बताए। नेपाली खेलाडीहरू रमाइलो स्वभावका र मिलनसार रहेको उल्लेख गर्दै उनले विराटनगरको ड्रेसिङ रुम आफूले अनुभव गरेका सबैभन्दा खुसीमध्ये एक भएको बताए। नेपाली खेलाडी लोकशसँग पनि आफ्नो राम्रो सम्बन्ध बनेको उनले सुनाए। लोकशलाई ब्याटिङको सुरुआत कसरी गर्ने र क्रिजमा सेट भएपछि विकेट जोगाएर खेल्ने विषयमा सुझाव दिने गरेको रसेलले बताए। यसैबीच, रसेलले टी–२० क्रिकेटमा १० हजार रन पूरा गर्ने लक्ष्य पाँच वर्षअघि नै निर्धारण गरेको खुलासा गरे। १० हजार रन पूरा गर्ने पहिलो तीव्र गतिका बलिङ अलराउण्डर बन्न चाहेको उल्लेख गर्दै उनले ५०० भन्दा बढी विकेट र १० हजार रनको लक्ष्य पूरा गर्न चोट, शल्यक्रिया र पुनरागमनका कठिनाइ पार गरेको बताए। १० हजार रनको उपलब्धिपछि अब १२ हजार रनको लक्ष्य राख्ने सोच बनाएको उनको भनाइ थियो। आफूले निर्धारण गरेका लक्ष्यले भविष्यका तीव्र गतिका अलराउण्डरलाई अझ ठूलो उपलब्धि हासिल गर्न प्रेरित गर्ने अपेक्षा पनि उनले व्यक्त गरे। जनकपुरका ब्याटर सैफ हसनको प्रदर्शनको प्रशंसा गर्दै रसेलले अन्तिम ओभरमा उनले आफूलाई दबाबमा राखेको बताए। जितको नजिक पुगेर पनि पराजित हुँदाको पीडा आफूले धेरैपटक अनुभव गरेको उल्लेख गर्दै उनले सैफको प्रदर्शनको सम्मान गरे। नेपालको मन परेको पक्षबारे सोधिएको प्रश्नमा रसेलले यहाँको प्राकृतिक सौन्दर्य, हिमाल र नेपालीहरूको आतिथ्यको प्रशंसा गरे। बाल्यकालदेखि सुन्दै आएको सगरमाथा देख्न पाउनु आफ्ना लागि विशेष अनुभव भएको उनले बताए। नेपालमा अझै एक खेल बाँकी रहेकाले तत्काल स्वदेश नफर्किने पनि उनले स्पष्ट पारे। सैफ हसन : हारले निराश बनायो, शीर्ष दुईको आशा कायमै यता, जनकपुर बोल्ट्सका खेलाडी सैफ हसनले विराटनगरसँगको खेल जितको नजिक पुगेर पनि पराजित हुनुपर्दा निराश भएको बताए। खेल जित्न सकेको भए टोलीका लागि मात्र नभई व्यक्तिगत रूपमा पनि खुसीको क्षण हुने उनको भनाइ थियो। पावरप्लेको अन्तिम चरणदेखि नै मेहनत गरेर खेललाई जिततर्फ लैजाने प्रयास गरे पनि त्यसको परिणाम टोलीको पक्षमा आउन नसकेको उनले बताए। विराटनगरलाई हराउन सकेको भए शीर्ष दुईमा रहँदै प्लेअफ पुग्ने सम्भावना बलियो हुने हसनले बताए। यद्यपि प्रतियोगितामा अझै धेरै खेल बाँकी रहेकाले शीर्ष दुईमा स्थान बनाउने आशा कायमै रहेको उनको भनाइ थियो। बंगलादेशका खेलाडीले पछिल्लो समय विभिन्न फ्रेन्चाइज लिगमा खेल्ने अवसर पाइरहेको उल्लेख गर्दै हसनले त्यसले उनीहरूको अनुभव र प्रदर्शनमा सुधार ल्याएको बताए। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले विदेशी लिगमा खेल्न सहज रूपमा अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउँदै आएकोमा उनले आभार व्यक्त गरे। गत वर्ष आफूले पनि टी–१० र ग्लोबल सुपर लिग खेलेको उल्लेख गर्दै हसनले फ्रेन्चाइज क्रिकेटको अनुभवले खेलाडीलाई थप परिपक्व बनाउने बताए।
नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





