काठमाडौं । तिहार, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित आपराधिक गतिविधि, जुवातास, लागुऔषध तथा मादक पदार्थ सेवन, कालोबजारी, खाद्यवस्तुमा मिसावट, पटका विस्फोट र आगलागी नियन्त्रणका लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले पर्वलक्षित विशेष सुरक्षा कार्ययोजना तयार गरी देशभर कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार सम्भावित सुरक्षा चुनौतीको पहिचान र विश्लेषण गरी जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी तथा प्रहरी परिचालन बढाइएको छ । सुरक्षा निगरानीका लागि सीसीटीभी क्यामेरा, बडीओर्न क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिने उहाँले बताउनुभयो । विशेषगरी पटका तथा विस्फोटक पदार्थको अवैध आयात रोक्न सीमा नाका र भन्सार क्षेत्रमा निगरानी कडा पारिएको छ । देशभर विभिन्न स्थानमा चेकपोइन्ट स्थापना, आकस्मिक जाँच, गस्ती तथा पेट्रोलिङलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । भीडभाड हुने स्थान, मेला तथा बजार क्षेत्रमा समेत विशेष निगरानी बढाइएको छ । प्रवक्ता काफ्लेले तिहारका बेला हुन सक्ने जुवातास, मादक तथा लागुऔषध सेवन, होहल्ला, झैझगडा, आगलागी, कृत्रिम अभाव, कालोबजारी र खाद्यवस्तुमा मिसावटलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सम्भावित चुनौती पहिचान गरेर रणनीतिक रूपमा सुरक्षा कार्ययोजना बनाई कार्यान्वयनमा ल्याइसकेका छौँ । सीसीटीभी, बडीओर्न क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरेर सूक्ष्म सुरक्षा निगरानी गरिरहेका छौँ । पटका भित्रिन नदिन सीमा तथा भन्सार क्षेत्रमा विशेष निगरानी गरिएको छ । यसका लागि प्रविधि र जनशक्ति दुवै परिचालन गरेका छौँ ।’ जुवातास खेल्ने, मादक पदार्थ तथा लागुऔषध सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि नियन्त्रणका लागि सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ । देउसीभैलो कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । यात्रु तथा सवारी सुरक्षामा विशेष निगरानी चाडपर्वका बेला हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विशेष जाँच अभियान सञ्चालन गरेको छ । देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । लामो दूरीका यात्रुवाहक सवारीसाधन छुट्ने स्थानमै चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था जाँच गर्ने व्यवस्था मिलाइएको छ । सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण तथा लामो दूरीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्थाको कार्यान्वयनमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा स्वदेश फर्किने नेपाली नागरिक ठगी, लुटपाट तथा अन्य दुर्व्यवहारमा नपरून् भन्ने उद्देश्यले १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । प्रवक्ता काफ्लेले दशैँमा सञ्चालन गरिएको दुर्घटना न्यूनीकरण अभियानलाई तिहारमा पनि निरन्तरता दिइएको बताउनुभयो । चालकको लापरबाही दुर्घटनाको प्रमुख कारणमध्ये एक भएकाले सवारी छुट्ने स्थानमै चालकको अवस्था जाँच गर्ने र लामो दूरीका सवारीमा दुई चालक राख्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने उहाँको भनाइ छ । कालोबजारी र खाद्य मिसावटविरुद्ध संयुक्त अनुगमन चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने तथा म्याद गुज्रिएका र गुणस्तरहीन सामग्री बिक्री गर्ने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको छ । आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायसँग समन्वय गरी संयुक्त बजार अनुगमन भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । मिठाई, फूलमाला तथा पूजासामग्री बिक्री हुने स्थान र भण्डारण केन्द्रमा समेत निगरानी बढाइएको छ । स्थानीय तहले फूलमाला बिक्री वितरणका लागि तोकेका स्थानमा हुने मूल्यवृद्धिमाथि पनि प्रहरीले विशेष ध्यान दिएको उहाँले बताउनुभयो । उहाँले कानुनविपरीत कृत्रिम अभाव सिर्जना गर्ने, वस्तु लुकाउने, अस्वाभाविक मूल्यवृद्धि गर्ने तथा खाद्यवस्तुमा मिसावट गर्ने जोकोहीलाई कारबाही गरिने स्पष्ट पार्नुभयो । त्यस्तै पटका, भुइँचम्पा, झिरझिरे तथा अन्य विस्फोटक पदार्थको प्रयोग नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ । यस्ता पदार्थको प्रयोगले आगलागी, आँखामा चोट, श्रवणशक्तिमा क्षति तथा अन्य मानवीय दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई प्रयोग नगर्न आग्रह गरेको छ । पटका आयात तथा ओसारपसार रोक्न सीमा क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको र त्यस्ता गतिविधिबारे जानकारी भए प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्न प्रवक्ता काफ्लेले अनुरोध गर्नुभयो । घर छाडेर जाँदा सावधानी अपनाउन आग्रह तिहारमा लामो समय घरबाहिर बस्नेहरूले चोरी, डकैती तथा लुटपाटको जोखिमबाट बच्न विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । घर लामो समय खाली राख्नुपर्ने भए सामाजिक सञ्जालमा यात्रासम्बन्धी विवरण सार्वजनिक नगर्न, बहुमूल्य गरगहना तथा नगद घरमा नराख्न र सम्भव भएसम्म सीसीटीभी तथा सुरक्षित ताल्चाको व्यवस्था गर्न प्रहरीले सुझाव दिएको छ । आगलागी रोकथाममा सतर्कता अपनाउन आग्रह लक्ष्मीपूजाका क्रममा दियो, मैनबत्ती तथा अन्य प्रज्वलनशील सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ । बालबालिकालाई आगो तथा विस्फोटक पदार्थबाट टाढा राख्न, दियो र मैनबत्ती बालेर नछाड्न तथा विद्युत् उपकरण र तारको अवस्था जाँच गर्न पनि आग्रह गरिएको छ । सम्भावित आगलागी तथा विपद् व्यवस्थापनका लागि प्रहरीका क्विक रेस्पोन्स टिम (क्यूआरटी), सिआरभी तथा विपद् व्यवस्थापनमा खटिने जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । उहाँले प्रज्वलनशील सामग्री आगो सल्किन सक्ने स्थानमा नराख्न, बालबालिकालाई त्यस्ता सामग्रीबाट टाढा राख्न तथा गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न पनि आग्रह गर्नुभयो । नेपाल प्रहरीले तिहार, छठ तथा नेपाल संवत् शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । कुनै पनि शंकास्पद गतिविधि, दुर्व्यवहार वा आपराधिक क्रियाकलाप देखिएमा तत्काल प्रहरीको आपत्कालीन नम्बर १०० मा जानकारी दिन पनि प्रहरीले आग्रह गरेको छ ।
तिहार, छठ र नेपाल संवत्का लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन, सुरक्षा व्यवस्था कडा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






