काठमाडौं । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले तल्लो अरुण जलविद्युत् आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउनुभयो । प्रधानमन्त्री बालेन्द्र साहको मंसिर ६ र ७ गते भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री साह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्नुभएको थियो । प्रवक्ता अर्यालका अनुसार आयोजनाको एक प्याकेजअन्तर्गत करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको ठेक्का आह्वान भइसकेको छ । निर्धारित समयमै विद्युत् उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको निर्माण कार्य अघि बढाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना कार्यान्वयनमा आएको अवस्था छ । मंसिर ६ र ७ गते प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबाट यसको संयुक्त रूपमा शिलान्यास पनि भइसकेको छ । आयोजनाको एक प्याकेजअन्तर्गत करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको ठेक्का आह्वान भइसकेको छ । सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन हुने गरी मिति पनि निर्धारण गरिएको छ ।’ यसैगरी सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा २० वटा फर्म तथा कम्पनीलाई प्रचलित कानुनबमोजिम कालोसूचीमा राख्ने निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण तथा परामर्श सेवासम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई राय तथा परामर्श उपलब्ध गराइएको छ । सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नेसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई कार्यान्वयनमा आइसकेको पनि उहाँले बताउनुभयो । हेलो सरकारमा पछिल्लो १० दिनमा ३ हजार ५१ वटा गुनासा प्राप्त भएकोमा २ हजार ७५४ वटा फछ्र्योट गरिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । तीमध्ये २३४ वटा गुनासा सम्बोधन गरिएको उहाँले बताउनुभयो ।
तल्लो अरुणबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






