काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सत्याग्रह अन्त्य गरेर वार्तामा आउन डा. गोविन्द केसीलाई आग्रह गरेको छ। मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले उठाएका माग र विगतमा भएका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे जानकारी दिएको छ। सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि डा. केसीका मागहरू सम्बोधन गर्न सुरुदेखि नै प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयका अनुसार डा. केसीले उठाएका अधिकांश विषयहरू कार्यान्वयनको प्रक्रियामा छन्। कैलालीको गेटामा एमबीबीएस र नर्सिङ कार्यक्रम सञ्चालनका सम्बन्धमा चिकित्सा शिक्षा आयोगको अनुगमन प्रतिवेदन र मापदण्डका आधारमा मात्र स्वीकृति दिइएको मन्त्रालयले स्पष्ट पारेको छ। त्यस्तै, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएको र विश्वविद्यालयसम्बन्धी ऐनका विवादित प्रावधान परिमार्जन गर्न संशोधन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। साउन ११ गते लगायतका सम्झौताहरूको कार्यान्वयन स्थितिको विश्लेषण गर्न साउन २७ को मन्त्रिस्तरीय निर्णयबाट गठन भएको कार्यदल प्रतिवेदनको मस्यौदा तयार गर्ने अन्तिम चरणमा पुगेको छ। इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने सहमति कार्यान्वयनको चरणमा रहेको र सुर्खेत, बुटवल तथा बर्दिवासमा संस्था स्थापनाको कार्य भइरहेको मन्त्रालयले उल्लेख गरेको छ। साथै, भदौ २४ गतेका विध्वंसात्मक घटनाको छानबिन प्रक्रिया अघि बढेको र पदाधिकारीहरूको नियुक्ति तथा योग्यतासम्बन्धी विषयमा पनि आवश्यक छानबिन गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले भनेको छ, ‘सुर्खेत, बुटवल र बर्दिवासमा मेडिकल शिक्षा सस्था स्थापनाको कार्य भइरहेको, थप बजेट व्यवस्थापन हुने प्रक्रियामा रहेको। साथै सबै प्रदेश र भूगोलमा चिकित्सा शिक्षाको पहुँच विस्तारमा नेपाल सरकार प्रतिबद्ध रहेको छ।’ सरकारले चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि सहकार्य र संवादको माध्यमबाट अघि बढ्न डा. केसीलाई पुनः आह्वान गरेको छ।
डा. केसीलाई सत्याग्रह अन्त्य गरी संवादमा आउन मन्त्रालयको आग्रह

Read Complete Original Article
Published originally on नेपालन्युज






