अमेरिकी पत्रिका ‘टाइम’को सन् २०२६ का लागि जलवायु क्षेत्रमा प्रभावशाली १०० व्यक्तित्वको सूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समावेश भएको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार जलवायु न्यायका पक्षमा अन्तर्राष्ट्रिय मञ्चमा गरेको पैरवी, जलवायु वित्त परिचालनका पहल तथा विश्वव्यापी वित्तीय प्रणाली सुधारसम्बन्धी विचार र भूमिकाका आधारमा वाग्ले सूचीमा परेका हुन्। विगत २८ वर्षदेखि दिगो आर्थिक विकास, सार्वजनिक नीति तथा अन्तर्राष्ट्रिय विकासका क्षेत्रमा कार्यरत वाग्लेले पछिल्लो समय नेपालले सामना गरिरहेका जलवायुजन्य जोखिम र त्यसको आर्थिक प्रभावलाई अन्तर्राष्ट्रिय बहसमा उठाउँदै आएका छन्। विशेष गरी रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उनले जलवायु परिवर्तनबाट प्रभावित मुलुकलाई अन्तर्राष्ट्रिय सहयोग र वित्तीय स्रोतमा सहज पहुँच उपलब्ध गराउनुपर्ने विषयमा जोड दिएका थिए। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान रहेका नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको समानुपातिक असर भोग्नुपरेको भन्दै वाग्लेले जलवायु न्याय र अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार आवश्यक रहेको धारणा राख्दै आएका छन्। अर्थमन्त्री वाग्ले यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, विश्व बैंकका वरिष्ठ अर्थशास्त्री तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको एसिया–प्रशान्त क्षेत्रीय ब्युरोका प्रमुख आर्थिक सल्लाहकार रहिसकेका छन्। सचिवालयले उपलब्ध गराएको विवरणअनुसार टाइमको सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनलगायतका अन्तर्राष्ट्रिय व्यक्तित्व पनि समावेश छन्। यसैबीच, अर्थमन्त्री वाग्ले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा सहभागी हुन सोमबार टर्किए प्रस्थान गरेका छन्। सम्मेलनमा उनले जलवायु वित्त, अनुकूलन तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम छ।
टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

Read Complete Original Article
Published originally on पर्दाफास






