झापा । झापाको मेचीनगर नगरपालिका–१ भालुखोप जंगलबाट सशस्त्र प्रहरीले शनिबार साढे १९ टन फर्सीको बियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र टोलीले जंगलमा लुकाएर राखिएको १९ हजार ४०० किलोग्राम फर्सीको बियाँ बरामद गरेको हो । झापा र इलामको सीमावर्तीजंगल क्षेत्रमा फर्सीको बियाँ लुकाएर राखिएको सूचना पछि सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यको नेतृत्वमा प्रहरी परिचालित भएको थियोे । सोही टोलीले जंगल क्षेत्रमा लुकाएर राखिएका ४८५ बोरा फर्सीको बियाँ फेला पारेको हो। घटनास्थलबाट प्रहरीले स्थानबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको छ । शनिबार र आइतबार सार्वजनिक बिदा भएकोले अनुसन्धान प्रक्रिया निष्कर्षमा पुग्न समय लाग्ने सशस्त्र प्रहरीले जनाएको छ । फर्सीको बियाँ कसले र कुन प्रयोजनका लागि जंगलमा लुकाएको हो स्पष्ट हुन सकेको छैन । बरामद फर्सीको बियाँ र मोबाइल फोन मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ । जंगलमा लुकाएर राखिएको फर्सीको बियाँ फेला परेसँगै सीमा क्षेत्रबाट अवैध ओसारपसार भइरहेको स्पष्ट भएको छ । नेपाली बजारमा फर्सीको बियाँको मूल्य गुणस्तर, प्रकार स्थानअनुसार फरकफरक रहेको छ। बोक्रा निकालेको, ननिकालेको, स्वदेशी, आयातित बियाँको मूल्य फरक हुने गरेको छ । सामान्यत : आयातित बियाँ बोक्रा निकालिएको खानयोग्य फर्सीको बियाँको मूल्य प्रतिकिलो ९५० देखि १ हजार ६५० सम्म पर्दछ। प्रिमियम तथा अर्गानिक स्थानीय नेपाली स्थानीय स्तरमा उत्पादित अर्गानिक, उच्च गुणस्तर र प्याकेजिङ गरिएको बियाँको मूल्य प्रतिकिलो एक हजार ८०० देखि २ हजार ५०० रुपैयाँसम्म पर्छ । भन्सार मूल्यांकनका आधारमा ठूलो परिमाणमा खरिद-बिक्री हुँदा बोक्रासहितको बियाँको थोक मूल्य प्रतिकिलो ६०० देखि ८५० रुपैयाँसम्म पर्ने व्यवसायीहरू बताउँछन् । यद्यपि, शनिबार बरामद भएको बियाँको यकिन मूल्य प्रहरीले खुलाएको छैन ।
झापाको भालुखोप जंगलबाट ठूलो परिमाणमा फर्सीको बियाँ बरामद

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






