रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका नेपालका जनकपुरधाम र भारतको अयोध्याबीच रेल सेवा सञ्चालनको तयारी अघि बढेको छ। रेल सेवा सञ्चालनका लागि प्राविधिक परीक्षण सुरु गरिने भएको छ। रेल सेवा सञ्चालनमा आएपछि जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्ध थप प्रगाढ हुनुका साथै पर्यटन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा समेत वृद्धि हुनेछ। जनकपुरधाम र अयोध्याबीचको पौराणिक सम्बन्धलाई रेल कनेक्टिभिटीले थप मजबुत बनाउने विश्वास व्यवसायीले गरेका छन्। विशेषगरी अयोध्यामा रामको दर्शन गर्न पुग्ने भारतीय पर्यटकलाई सीताको जन्मस्थल जनकपुरधामसम्म ल्याउन रेल सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए। महासेठले रेल सेवा सञ्चालनले जनकपुरको पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए। वर्षौंदेखि प्रतीक्षा गरिएको रेल सेवा अहिले प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा दुई देशबीचको कनेक्टिभिटी विस्तार हुने अवस्थामा पुगेको उनको भनाइ छ। उनका अनुसार रेल सेवा सञ्चालन भएपछि भारतीय पर्यटकको आगमन बढ्ने, बजार तथा व्यवसाय चलायमान हुने र स्थानीय अर्थतन्त्रले गति लिनेछ। तर, यात्रुवाहक रेल सञ्चालनसँगै मालवाहक रेल सञ्चालनको विषयलाई पनि प्राथमिकतामा राख्नुपर्नेछ। महासेठकाअनुसार आफू जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा नै रेलमा मालवाहक बोगी जोड्नुपर्ने र मालसामान ढुवानीका लागि छुट्टै रेल सञ्चालन गर्नुपर्ने माग रेल्वेसँग राखिएको थियो। त्यसबेला मालसामान भण्डारणका लागि होल्डिङ सेन्टर निर्माण गर्ने स्थानबारे समेत छलफल भएको थियो। तर, त्यसको प्रगति अहिले कहाँ पुगेको छ भन्नेबारे आफूहरूलाई जानकारी नभएको उनले बताए। मालवाहक रेल सञ्चालन हुनसके आयात लागत उल्लेख्य रूपमा घटाउन सकिने महासेठको भनाइ छ। अहिले दक्षिणबाट चामल आयात गर्दा प्रतिकिलो १४ देखि १५ रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको भन्दै उनले रेलमार्फत ढुवानी गर्नसके उक्त खर्च प्रतिकिलो तीन रुपैयाँसम्म झार्न सकिने बताए। त्यसैले यात्रुवाहक सेवासँगै मालवाहक रेल र आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ। उनले भने,‘जनकपुर र अयोध्याबीच रामायणकालीन पौराणिक सम्बन्ध छ। अहिले रेल सञ्चालनको तयारी र भोलि हुन लागेको ट्रायल रनले जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएका छौँ। यसले जनकपुरमा पर्यटकको आगमन बढाउनुका साथै यहाँको आर्थिक गतिविधिमा समेत वृद्धि गर्नेछ। वर्षौंदेखि हामीले प्रतीक्षा गर्दै आएको यो रेल सेवा अहिले प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा दुई देशबीचको कनेक्टिभिटी विस्तार हुने अवस्थामा पुगेको छ।’ यता रेल्वे कम्पनीले पनि सेवा जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गरी तयारी अघि बढाएको जनाएको छ। कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीकाअनुसार रेल सेवा सञ्चालनका लागि विभिन्न निकायसँग समन्वय भइरहेको छ भने प्राविधिक जाँचसमेत अगाडि बढाइएको छ।उनकाअनुसार अहिले अन्तिम लाइसेन्स प्राप्त भइसकेको छैन। सञ्चालन प्रक्रियालाई अन्तिम रूप दिने विषयमा छलफल भइरहेको छ। रेल्वे, भन्सार, सुरक्षा लगायतका विषयमा सम्बन्धित निकायबीच समन्वय र आवश्यक निर्णय गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। पराजुलीले प्राविधिक परीक्षणका लागि भोलिदेखि ट्रायल रन सुरु गर्ने तयारी रहेको जानकारी दिए। यद्यपि रेल सेवा सञ्चालन हुने निश्चित मिति भने तय भइसकेको छैन। आवश्यक प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो सेवा सुरु गर्ने कम्पनीको तयारी रहेको उनले बताए। अयोध्यामा पछिल्लो समय ठूलो संख्यामा पर्यटक पुगिरहेको उल्लेख गर्दै पराजुलीले त्यहाँबाट सिधै रेलमार्फत जनकपुर आउने व्यवस्था भए भारतीय पर्यटकलाई जनकपुरधामसम्म आकर्षित गर्न सकिने बताए। रामको दर्शन गर्न अयोध्या पुग्ने पर्यटकले सीताको जन्मस्थल जनकपुरधामको समेत दर्शन गर्ने उनको भनाई छ। उनले भने,‘हामी जतिसक्दो चाँडो सञ्चालनको तयारीमा छौँ। त्यसका लागि विभिन्न क्षेत्र र निकायसँग समन्वय गरिरहेका छौँ। प्राविधिक रूपमा पनि आवश्यक चेकजाँचहरू अगाडि बढाइरहेका छौँ। अहिले अन्तिम लाइसेन्स प्राप्त भइसकेको अवस्था छैन। तर, जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ।’ जनकपुर–अयोध्या रेल कनेक्टिभिटीलाई धार्मिक पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा मात्र नभई दुई देशबीचको व्यापारिक सम्बन्ध र आर्थिक गतिविधि विस्तार गर्ने अवसरका रूपमा समेत हेरिएको छ।
जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी, धार्मिक पर्यटनसँगै व्यापार विस्तार हुने विश्वास

Read Complete Original Article
Published originally on पर्दाफास






