नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुन लागेको सरयू–कमला एक्सप्रेसको टिकट बिक्री सुरु भएको छ। भारतीय रेल्वेले आगामी शनिबारदेखि नियमित व्यावसायिक सेवा सञ्चालन गर्ने तयारीसँगै यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाएको हो। माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मस्थल अयोध्यालाई जोड्ने यो रेल सातामा एकपटक सञ्चालन हुनेछ। निर्धारित तालिकाअनुसार प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि रेल छुट्नेछ भने सोमबार अयोध्याबाट जनकपुरधाम फर्किनेछ। करिब ६०४ किलोमिटर लामो यात्रामा नेपाल र भारतका विभिन्न धार्मिक तथा व्यापारिक क्षेत्र रेलमार्गबाट जोडिनेछन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सोमबार भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर रेल सेवाको शुभारम्भ गरेका थिए। भारतीय रेल्वेले सार्वजनिक गरेको विवरणअनुसार रेलले भारतको उत्तर प्रदेशस्थित मनकापुर, बस्ती र गोरखपुर तथा बिहारका नरकटियागञ्ज, रक्सौल, सीतामढी, शीशो, मधुबनी र जयनगरमा यात्रु चढाउने तथा ओराल्नेछ। यो रेल पूर्ण आरक्षित प्रणालीमा सञ्चालन हुनेछ। अर्थात् कन्फर्म टिकट भएका यात्रुले मात्र यात्रा गर्न पाउनेछन्। प्रतीक्षा सूचीमा रहेका यात्रुलाई यात्रा गर्न अनुमति दिइने छैन भने आरएसी सुविधा पनि रहने छैन। सामान्य कोटाबाट मात्रै टिकट लिन सकिने व्यवस्था गरिएको छ। तत्काल, प्रिमियम तत्काल, ज्येष्ठ नागरिक, महिला र आकस्मिक कोटामा टिकट उपलब्ध हुने छैन। कुल आरक्षित सिटमध्ये ७० प्रतिशत सिट सुरुदेखि अन्तिम गन्तव्यसम्म यात्रा गर्नेका लागि र ३० प्रतिशत बीचका स्टेसनबाट यात्रा गर्नेका लागि छुट्याइएको छ। यात्रुले प्रस्थान मितिभन्दा ६० दिनअघिसम्म टिकट बुक गर्न सक्नेछन्। टिकट काट्दा यात्रुको नाम, उमेर, लिङ्ग, राष्ट्रियता र परिचयपत्रसम्बन्धी विवरण दिनुपर्नेछ। यो सेवामा नेपाली र भारतीय नागरिकलाई मात्र यात्रा अनुमति दिइएको छ। दुवै देशका यात्रुले यात्राका क्रममा आफ्नो वैध परिचयपत्र साथमा राख्नुपर्नेछ। नेपाली यात्रुले कति तिर्नुपर्छ भाडा? भारतीय रेल्वेले रेलका चार श्रेणीका लागि भाडा निर्धारण गरेको छ। शयनयान श्रेणीको टिकट ३६५ भारतीय रुपैयाँ तोकिएको छ। त्यस्तै, वातानुकूलित तृतीय इकोनोमीको ८८५, वातानुकूलित तृतीय श्रेणीको ९६५ र वातानुकूलित द्वितीय श्रेणीको १ हजार ३६० भारतीय रुपैयाँ भाडा लाग्नेछ। नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार नेपाली यात्रुले उक्त भाडालाई नेपाली रुपैयाँमा रूपान्तरण गरी भुक्तानी गर्नुपर्नेछ। उदाहरणका लागि, भारतीय ३६५ रुपैयाँको टिकट लिन नेपाली यात्रुले ५८४ रुपैयाँ तिर्नुपर्ने हुन्छ। पराजुलीले यात्रुबाट नेपाल रेल्वेले छुट्टै अतिरिक्त रकम नलिने बताएका छन्। उनका अनुसार भारतीय रेल्वेले नेपालको रेलमार्ग प्रयोग गरेबापत नेपाल रेल्वेलाई मासिक पाँच लाख रुपैयाँभन्दा बढी भुक्तानी गर्ने व्यवस्था छ। टिकट भारतीय रेल्वेको आईआरसीटीसी वेबसाइट र मोबाइल एप, आधिकारिक अनलाइन टिकटिङ सेवा तथा नेपालमा रहेका अधिकृत टिकट एजेन्टमार्फत लिन सकिनेछ। भारतका यात्रुले भने रेल्वेका आरक्षण काउन्टरबाट पनि टिकट काट्न सक्नेछन्। सरयू–कमला एक्सप्रेसमा १७ वटा डिब्बा रहनेछन्। सातवटा शयनयान, तीनवटा वातानुकूलित तृतीय इकोनोमी, तीनवटा वातानुकूलित तृतीय र दुईवटा वातानुकूलित द्वितीय श्रेणीका डिब्बा हुनेछन्। यसबाहेक दुईवटा एसएलआर डिब्बा जडान गरिएका छन्। रेलमा यात्रा गर्ने प्रत्येक व्यक्तिले बढीमा दुईवटा सामान लैजान पाउनेछन्। निःशुल्क सामानको तौल प्रथम वातानुकूलित श्रेणीमा ७० किलो, द्वितीय वातानुकूलितमा ५० किलो तथा तृतीय वातानुकूलित र शयनयान श्रेणीमा ४०–४० किलो निर्धारण गरिएको छ। यो सीमाभन्दा बढी सामान लैजान अतिरिक्त शुल्क तिर्नुपर्नेछ। रेलमा पार्सल तथा व्यापारिक मालसामान बुकिङ गर्न भने पाइने छैन। बालबालिकाको टिकटमा भारतीय रेल्वेको प्रचलित नियम लागू हुनेछ। बालबालिकाका लागि छुट्टै बर्थ लिइएमा वयस्कसरह भाडा लाग्नेछ भने बर्थ नलिएको अवस्थामा निर्धारित बाल भाडा तिर्नुपर्नेछ। जनकपुरधाम रेल्वे स्टेसनबाट जानकी मन्दिर करिब १.२५ किलोमिटर दूरीमा रहेको छ। स्टेसनबाट मन्दिर पुग्न ई–रिक्सा, साइकल रिक्सा, अटो, ट्याक्सी तथा निजी सवारीसाधन प्रयोग गर्न सकिनेछ। यात्रु पैदलै पनि मन्दिरसम्म पुग्न सक्छन्। जनकपुरधाम र अयोध्याबीच सीधा रेल सम्पर्क विस्तार भएपछि दुवै धार्मिक सहरमा तीर्थयात्रीको आवागमन बढ्ने अपेक्षा गरिएको छ। यसले रामायण सर्किटको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने भारतीय रेल्वेको विश्वास छ। रेल सेवाबाट होटल व्यवसाय, पर्यटन, स्थानीय व्यापार तथा परम्परागत हस्तकलाको कारोबार विस्तार हुने अपेक्षा गरिएको छ। साथै, सीमावर्ती क्षेत्रका बासिन्दालाई आवतजावतको सहज विकल्प उपलब्ध हुनुका साथै नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध थप विस्तार हुने विश्वास गरिएको छ।
जनकपुर–अयोध्या रेल चढ्न कति तिर्नुपर्छ ? खुल्यो टिकट बुकिङ

Read Complete Original Article
Published originally on पर्दाफास






