काठमाडौं। चीन भ्रमणबाट फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीले भ्रमणका क्रममा भएका राजनीतिक भेटवार्ता, छलफल तथा अवलोकनबारे पार्टी सभापति रवि लामिछानेलाई जानकारी गराएको छ। पार्टी महामन्त्री तथा भ्रमण टोलीका प्रमुख विपिन कुमार आचार्यले आज सभापति लामिछानेलाई भेटेर भ्रमणबारे ब्रिफिङ गरेका हुन्। आचार्य नेतृत्वको २० सदस्यीय टोली नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहर सिचुवान, चच्याङ र बेइजिङको भ्रमण गरी नोभेम्बर २६ मा नेपाल फर्किएको थियो। ब्रिफिङका क्रममा आचार्यले चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्ताबारे विशेष जानकारी गराएका थिए। उक्त भेटमा दुई पार्टीबीचको सम्बन्ध विस्तार, आपसी राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको उनले बताए। त्यस्तै, चीनका केन्द्रीय तहदेखि स्थानीय तहसम्मका नेताहरूसँग भएका संवाद र नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाबारे पनि सभापति लामिछानेलाई जानकारी गराइएको थियो। भ्रमणका क्रममा टोलीले विभिन्न उद्योग तथा व्यवसायको अवलोकन गर्नुका साथै विपद् आउनुअघिको तयारी र विपद्पछिको व्यवस्थापन रणनीतिबारे पनि अध्ययन तथा छलफल गरेको थियो। भ्रमणका क्रममा भएका राजनीतिक संवाद, अवलोकन र सिकाइलाई पार्टीभित्र आत्मसात् गर्दै देशको विकासमा उपयोग गर्न सभापति लामिछानेले भ्रमण टोलीलाई निर्देशन दिएका छन्।
चीन भ्रमणबारे महामन्त्री आचार्यले सभापति रविलाई गराए ब्रिफिङ

Read Complete Original Article
Published originally on नेपालन्युज






