काठमाडौं । चलचित्र‘चिरञ्जीवी भवः’मा समावेश गीत ‘जाले रूमाल’ सार्वजनिक भएको छ । निर्माणपक्षले ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो । दीपकप्रसाद आचार्यको शब्द र बाबुल गिरीको संगीत रहेको गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर छ । लोकलयमा आधारित गीतमा युवक र युवतीबीचको प्रेमभावलाई दोहोरी शैलीमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीका साथै चलचित्रका अधिकांश कलाकार देखिनुभएको छ । भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गर्नुभएको हो । दीपकप्रसाद आचार्य ‘काकु’को लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकारको अभिनय छ । सामाजिक कथावस्तुमा आधारित चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता र पारिवारिक सम्बन्धको कथा प्रस्तुत गर्नेछ । कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा बनेको यस चलचित्रमा उमेशकुमार बराल र चिरन केसी निर्माता हुनुहुन्छ । चलचित्र आगामी माघ १ गते (१५ जनवरी) देखि देशभर प्रदर्शनमा आउनेछ ।
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’मा आशीर्वाद र प्रशंसाको बिहे

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






