Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

ग्रान्ड थेफ्ट अटो–६ सार्वजनिक, सुरुवाती समीक्षामा उत्कृष्ट प्रतिक्रिया

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्रान्ड थेफ्ट अटो–६ सार्वजनिक, सुरुवाती समीक्षामा उत्कृष्ट प्रतिक्रिया
Photo / Coverage: टेक्नोलोजी खबर

१३ वर्षको प्रतीक्षापछि करिब एक अर्ब अमेरिकी डलर वा सोभन्दा बढी लागतमा तयार पारिएको बहुप्रतीक्षित भिडियो गेम ‘ग्रान्ड थेफ्ट अटो–६’ (जीटीए–६) बिहीबार विश्वभर सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गेमले समीक्षक र प्रयोगकर्ताबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ। गेम समीक्षा गर्ने वेबसाइट मेटाक्रिटिकको सर्वकालीन उत्कृष्ट गेमको सूचीमा जीटीए–६ ले ९९ अंक प्राप्त गर्दै शीर्ष स्थानमा पुगेको छ। यो अंक यसअघि निन्टेन्डोको सन् १९९८ मा सार्वजनिक भएको ‘द लिजेन्ड अफ जेल्डा : ओकारिना अफ टाइम’ ले मात्र प्राप्त गरेको थियो। न्युजिल्यान्डमा बिहीबार मध्यरात सुरु भएसँगै विश्वका विभिन्न क्षेत्रमा स्थानीय समयअनुसार गेम सार्वजनिक गरिएको थियो। यसको सार्वजनिक अवसरमा विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएका थिए। सामाजिक सञ्जालमा विश्वका नेताहरूसमेतले यसबारे प्रतिक्रिया दिएका थिए भने केही कम्पनीले आफ्ना कर्मचारीलाई गेम खेल्नका लागि बिदासमेत दिएका थिए। अस्ट्रेलियाको सिड्नीमा मध्यरातपछि गेम खेल्न सुरु गरेका ३३ वर्षीय आसिफ मिरले भने, ‘यो अहिलेसम्म बनेको सबैभन्दा राम्रो गेम हो र हामीले खेल्न थालेको २० मिनेट मात्रै भएको छ।’ उनले गेम खेल्दै त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए। रोयटर्सका अनुसार लन्डनमा गेम सार्वजनिक हुने समय नजिकिँदै गर्दा विभिन्न स्थानमा प्रशंसकले सामूहिक रूपमा समय गणना गरेका थिए। २० वर्षीय सामाजिक सञ्जाल प्रभावशाली आर्ची ह्विटबीले भने, ‘आजको दिन मैले जीवनभर प्रतीक्षा गरेको दिन हो। यो क्षण बाँच्न पाउँदा अनौठो लागिरहेको छ। वास्तविक जस्तो महसुस भइरहेको छैन।’ गेमको काल्पनिक सहर भाइस सिटीका लागि प्रेरणा बनेको अमेरिकाको मियामीमा भने सबैभन्दा अन्तिमतिर गेम सार्वजनिक भएको थियो। सहरको एनबीए टोली मियामी हिटले मिलवाकी बक्सविरुद्धको खेललाई भाइस सिटीको विषयवस्तुमा आधारित बनाएको थियो। खेल मैदान र रंगशालालाई गेममा प्रयोग भएका गुलाबी र नीलो रङले सजाइएको थियो। लाखौँ खेलाडीले गेम सार्वजनिक हुनासाथ आफ्नो गेमिङ कन्सोलमा डाउनलोड गरिसकेका छन्। धेरैले गेम खेल्नका लागि कामबाट बिदा लिएका छन् भने केहीले बिरामी भएको भन्दै कार्यालयमा जानकारी गराएका छन्। सन् १९९७ मा पहिलो संस्करण सार्वजनिक भएयता ‘ग्रान्ड थेफ्ट अटो’ विश्वकै सबैभन्दा धेरै बिक्री हुने भिडियो गेम शृङ्खलामध्ये एक बनेको छ। न्युयोर्क विश्वविद्यालयको स्टर्न स्कुल अफ बिजनेसका सहायक प्राध्यापक जोस्ट भान ड्रुनेनले यसलाई अहिलेको पुस्ताको ‘स्टार वार्स’ को संज्ञा दिएका छन्। उनका अनुसार यो लाखौँ मानिसले एकै समयमा अनुभव गर्ने साझा घटना हो। त्यसैले गेम सार्वजनिक भएको पहिलो केही दिन र हप्तामा यसलाई अनुभव गर्ने खेलाडीको संख्या निकै ठूलो हुनेछ। सोनीको प्लेस्टेसन–५ र माइक्रोसफ्टको एक्सबक्स सिरिज एक्स तथा एसमा उपलब्ध गेमले विकासकर्ता कम्पनी टेक–टु इन्टरएक्टिभको सेयर मूल्यसमेत बढाएको छ। बुधबार न्युयोर्कको कारोबारमा कम्पनीको अमेरिकी सेयर मूल्य ६.५ प्रतिशतले बढेको थियो। प्रयोगकर्ताबाट पनि उत्कृष्ट प्रतिक्रिया सन् १९९७ मा सार्वजनिक भएको पहिलो ‘ग्रान्ड थेफ्ट अटो’ आजको तुलनामा सामान्य देखिन्छ। त्यसको कथावस्तु गाडी चोरी गर्ने र आपराधिक समूहका लागि विभिन्न काम गर्ने विषयमा केन्द्रित थियो। यसले राजनीतिज्ञ र अभिभावकको आलोचना खेपे पनि गेमका प्रशंसकमाझ लोकप्रियता हासिल गरेको थियो। शृङ्खलाका पछिल्ला संस्करणमा गेम थप परिष्कृत हुँदै गएको छ। अपराध, सवारीसाधन चलाउने र नैतिक रूपमा विवादास्पद अभियानसँगै प्यारासुटबाट हाम फाल्ने, चलचित्र हेर्ने र अमेरिकी संस्कृतिको व्यङ्ग्य गर्ने रेडियो कार्यक्रम सुन्नेजस्ता गतिविधि पनि यसमा समावेश गरिएका छन्। सन् २०१३ मा सार्वजनिक भएको ‘ग्रान्ड थेफ्ट अटो–५’ को कथा लस एन्जलसबाट प्रेरित काल्पनिक सहर लस सान्तोसमा आधारित थियो। नयाँ संस्करणको कथा भने अमेरिकी राज्य फ्लोरिडाबाट प्रेरित काल्पनिक राज्य लियोनिडा र त्यहाँको मियामीबाट प्रेरित भाइस सिटीमा केन्द्रित छ। जीटीए–६ मा दुई मुख्य पात्र लुसिया क्यामिनोस र जेसन डुभालमार्फत गेम खेल्न सकिनेछ। उनीहरू अपराधमा साझेदार हुनुका साथै प्रेम सम्बन्धमा पनि रहेका छन्। उनीहरूको सम्बन्ध कस्तो बनाउने भन्ने कुरा खेलाडीको छनोटमा निर्भर हुनेछ। गेममा नाइट क्लब, बन्दुक पसल, समुद्रभित्र डाइभिङ गर्ने सुविधा र चिडियाखानासमेत समावेश छन्। यद्यपि गेमका धेरै पक्ष अझै सार्वजनिक हुन बाँकी छन्। अमेरिकाको टेनेसी विश्वविद्यालयका प्राध्यापक टोर ओल्सनका अनुसार जीटीए–६ अघिल्ला संस्करणको तुलनामा कम विवादास्पद हुन सक्छ। उनका अनुसार अहिले यो गेम मूलधारको संस्कृतिको हिस्सा बनिसकेको छ र यसका प्रचार सामग्रीले पनि नैतिक रूपमा जिम्मेवार तरिकाले गेम खेल्न प्रोत्साहित गर्ने संकेत गरेका छन्। ‘जीटीए–६ का जेसन र लुसिया अपराधी हुनेछन् र उनीहरूले नियमित रूपमा कानुन उल्लङ्घन गर्नेछन्। तर नयाँ गेममा खेलाडीलाई अन्धाधुन्ध हत्या गर्न बाध्य पारिनेछ भन्ने मलाई लाग्दैन। त्यसरी खेल्ने खेलाडीलाई गेमले दण्डित पनि गर्न सक्छ,’ ओल्सनले भने। दुई मुख्य पात्रमध्ये एक महिलालाई राखिएकाले अघिल्ला संस्करणमा महिला पात्रबाट गेम खेल्न नपाइने विषयमा हुँदै आएको आलोचनासमेत सम्बोधन हुने अपेक्षा गरिएको छ। बेन एन्ड कम्पनीको सर्वेक्षणअनुसार अमेरिकामा जीटीए–६ खेल्ने खेलाडीमध्ये १० जनामा चार जना महिला हुने अनुमान छ। विश्लेषण संस्था सेन्सर टावरका अनुसार हालसम्म गेमका १ करोड ७० लाखभन्दा बढी प्रति बिक्री भइसकेका छन्। यसबाट १ अर्ब ६५ करोड अमेरिकी डलरभन्दा बढी आम्दानी भएको अनुमान छ। यति धेरै प्रतीक्षा र अपेक्षाका कारण गेमप्रति निराशा पैदा हुने जोखिम पनि उत्तिकै छ। गेम अत्यन्त सजिलो वा कठिन हुनु, कथावस्तु सन्तोषजनक नहुनु तथा सार्वजनिक हुने समयमा प्राविधिक समस्या देखिनुले यसको प्रतिष्ठा र भविष्यको बिक्रीमा असर पार्न सक्छ। गेमको मुख्य कथावस्तु पूरा गर्न करिब ५० घण्टा लाग्ने अनुमान गरिएको छ। त्यसैले सुरुवाती प्रतिक्रियाबाट मात्रै यसको समग्र मूल्याङ्कन गर्न कठिन छ। यद्यपि गेमिङ उद्योगका जानकारहरूले सार्वजनिक भएको सुरुवाती चरणमै यसको व्यापक प्रशंसा गरेका छन्। मनोरञ्जनसम्बन्धी वेबसाइट गेम्सरेडार प्लसले रकस्टार गेम्सले ‘अत्यन्तै आश्चर्यजनक आकार, क्षेत्र र गुणस्तर’ भएको संसार निर्माण गरेको उल्लेख गरेको छ। पीसी गेम्सले यो गेम वर्षौँसम्म चर्चामा रहने र १३ वर्षको प्रतीक्षा सार्थक बनाउने प्रतिक्रिया दिएको छ। विभिन्न सञ्चारमाध्यमले यसलाई उत्कृष्ट कृतिको संज्ञासमेत दिएका छन्। The post ग्रान्ड थेफ्ट अटो–६ सार्वजनिक, सुरुवाती समीक्षामा उत्कृष्ट प्रतिक्रिया appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिप निर्माता कम्पनी एनभिडियाको आम्दानी अघिल्लो त्रैमासिकको तुलनामा २० प्रतिशतले बढ्यो
TechnologyJust now

चिप निर्माता कम्पनी एनभिडियाको आम्दानी अघिल्लो त्रैमासिकको तुलनामा २० प्रतिशतले बढ्यो

चिप निर्माता कम्पनी एनभिडियाले मंगलबार सार्वजनिक गरेको आर्थिक विवरणअनुसार अक्टोबर २५ मा समाप्त भएको तीन महिनाको अवधिमा कम्पनीको आम्दानी १ खर्ब १५ अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ। यो सन् २०२५ को तेस्रो त्रैमासिकको तुलनामा १०३ प्रतिशत र अघिल्लो त्रैमासिकको तुलनामा २० प्रतिशत बढी हो। यसअघि वालस्ट्रिटका विश्लेषकहरूले कम्पनीको आम्दानी १ खर्ब ९ अर्ब १० करोड डलरको हाराहारीमा रहने अनुमान ...

टेक्नोलोजी खबर
स्टार्टअपमा सफल हुन मेहनतसँगै बजारको आवश्यकता बुझ्नुपर्छ : सुधन झा
TechnologyJust now

स्टार्टअपमा सफल हुन मेहनतसँगै बजारको आवश्यकता बुझ्नुपर्छ : सुधन झा

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सुधन झाले स्टार्टअप सफल बनाउन लगनशीलता, अनुशासन र निरन्तर प्रयास आवश्यक रहेको बताएका छन् ।आइसिटी आइडिया फेस्ट २०२६ अन्तर्गत आयोजित स्टार्टअपसम्बन्धी कार्यक्रममा बोल्दै झाले स्टार्टअप सुरु गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई सफल बनाउन निरन्तर मेहनत, स्पष्ट सोच र अनुशासन आवश्यक पर्ने बताएका हुन् ।उनले आफ्नो पुस्ताको तुलनामा अहिलेको युवा पुस्ता नयाँ काम गर्न ...

आइसिटी समाचार
आज स्टार्टअप फेस्टमा लगानी, नीति र उद्यमशीलताबारे विशेष बहस, १५ बढी आइडिया पिचिङ
TechnologyJust now

आज स्टार्टअप फेस्टमा लगानी, नीति र उद्यमशीलताबारे विशेष बहस, १५ बढी आइडिया पिचिङ

काठमाडौं । नेपालको स्टार्टअप इकोसिस्टमको विकास, लगानी विस्तार र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा जारी सातौँ स्टार्टअप फेस्टमा आज ‘स्टार्टअप कन्भर्सेसन्स २०२६’ आयोजना भइरहेको छ ।स्टार्टअप संस्थापक, लगानीकर्ता, उद्यमी तथा इकोसिस्टमका नेतृत्वकर्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना भइरहेको कार्यक्रममा मुख्य वक्ताका प्रस्तुति, सफल स्टार्टअपका अनुभव, अन्तरक्रियात्मक प्यानल छलफल तथा आइडिया पिचिङ समावेश छन् ।कार्यक्रमको सुरुवात बिहान १० बजे उद्घाटन मन्तव्य ...

आइसिटी समाचार
काठमाडौंमा दुईदिने स्टार्टअप फेस्ट सुरु, सातै प्रदेशका १०० बढी नवप्रवर्तन प्रदर्शनीमा
TechnologyJust now

काठमाडौंमा दुईदिने स्टार्टअप फेस्ट सुरु, सातै प्रदेशका १०० बढी नवप्रवर्तन प्रदर्शनीमा

काठमाडौं । सूचना प्रविधि क्षेत्रका स्टार्टअप तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सातौँ संस्करणको स्टार्टअप फेस्ट आजदेखि काठमाडौंमा सुरु भएको छ ।आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टका रूपमा लिभिङ विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा फेस्ट आयोजना भएको हो । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सञ्चालन भइरहेको फेस्टमा सातै प्रदेशका १०० भन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजना ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play