चितवन । चितवनको सौराहामा पाँचतारे डिलक्स होटल रोयल टुलिप सञ्चालन गर्दै आएको केटिएम हस्पिटालिटी तेस्रो वर्षमा प्रवेश गरेको छ । २०८१ असार २५ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको केटिएम हस्पिटालिटीले शुक्रबार काठमाडौंमा तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाका अवसरमा कम्पनीका अध्यक्ष रामेश्वर शाहले सेयरधनीलाई कम्पनीको अवस्था र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले हालै पूर्णरूपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको बताउनुभयो । सञ्चालनको छोटो समयमै आन्तरिक एवं बाह्य पर्यटक आगमन राम्रो भएको र पर्यटन विभागले पनि पाँचतारे डिलक्स होटलको मान्यता दिएको शाहको भनाइ थियो । परीक्षणकालको सुरुवातमै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनबाट तीनतारा अति उत्तम खाद्य स्वच्छता स्तर वर्गीकृत चितवनको पहिलो पाँचतारे डिलक्स होटल भएकाले पनि सो क्षेत्रमा पर्यटनको नयाँ आयाम थपिएको उहाँले बताउनुभयो । यसै वर्षको सुरुवातमा सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा साधारण सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको कम्पनीले आइपिओ जारीका लागि अन्तिम तयारीसमेत थालेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १५ करोड ५० लाख रुपैयाँ बराबरको कुल १५ लाख ५० हजार कित्ता सेयर जारी गर्दैछ । कम्पनीका अनुसार राप्ती नदी नजिक जनकौली र कुमरोज सामुदायिक वननजिकै ४.१२ एकड क्षेत्रफलमा फैलिएको रोयल टुलिप चितवनमा ६५ आधुनिक कोठा छन् । रिसोर्टमा रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब, हेलिप्याडलगायत सुविधा रहेका छन् । जसको सञ्चालन अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स ग्रुपअन्तर्गतको रोयल टुलिप ब्राण्डसँगको व्यवस्थापकीय सम्झौताअनुसार भइरहेको छ ।
केटिएम हस्पिटालिटी तेस्रो वर्षमा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





