काठमाडौं । कुरियरमार्फत विदेश सामान पठाउने सेवाग्राहीसँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले वैदेशिक हुलाक शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। अख्तियारका अनुसार दुवै कर्मचारीले सेवाग्राहीको सामान कुरियरमार्फत विदेश पठाउने क्रममा विभिन्न बहाना बनाएर बार्गेनिङ गर्दै घुस मागेका थिए। अनुसन्धानका क्रममा उनीहरूले आपसी मिलेमतो र पूर्वयोजनाअनुसार ९ हजार ५०० रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। घुस मागिएको सूचनाका आधारमा अख्तियारको टोलीले दुवै कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि आयोगले उनीहरूविरुद्ध जनही वा संयुक्त रूपमा ९ हजार ५०० रुपैयाँ बिगो कायम गरेको जनाएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद र बिगो बराबर जरिवाना गर्न मागदाबीसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
कुरियरमार्फत सामान विदेश पठाउँदा घुस लिने दुई भन्सार कर्मचारीविरुद्ध मुद्दा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



_hSHcZUi4aD.jpg)


