काठमाडौं – नेपाली मौलिक चाडपर्व, संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको निर्देशनमा आयोजना हुन लागेको प्रतियोगितामा उत्कृष्ट भिडियो रिल बनाउनेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । नेपाल पर्यटन बोर्डका अनुसार प्रतियोगितामार्फत कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली समाजमा रहेको जीवजन्तुप्रतिको प्रेम र सम्मानलाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको छ । नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमको प्रयोग बढाउने योजनाअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रिल तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राममा सार्वजनिक गर्नुपर्नेछ। सहभागीले तयार गर्ने भिडियो अङ्ग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अङ्ग्रेजी सबटाइटल वा अङ्ग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दा नेपाल फेस्टिभल र कुकुर तिहारसँग सम्बन्धित ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। इन्स्टाग्राममा नेपाल टुरिजमको आधिकारिक अकाउन्ट र फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्ने व्यवस्था गरिएको छ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोसहित डाउनलोड तथा हेर्न मिल्ने अनुमति प्रदान गरिएको गुगल ड्राइभ लिङ्क इमेलमार्फत पठाउनुपर्ने बोर्डले जनाएको छ। प्रतियोगितामा सहभागी हुने भिडियो मौलिक सिर्जना हुनुपर्नेछ । प्राप्त भिडियोहरूलाई पर्यटन बोर्डले आफ्नो पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ । प्रतियोगितामा सहभागी हुने भिडियो पठाउने अन्तिम मिति नोभेम्बर २१ अर्थात् मङ्सिर ५ गते तोकिएको छ । यसअघि बडादसैँको अवसरमा मन्त्री पौडेलकै निर्देशनमा स्थानीय तह तथा पर्यटनसम्बद्ध सङ्घसंस्थाको सहकार्यमा देशभरका १०० स्थानमा लिङ्गे पिङ राखिएको थियो । नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्ने परम्परा छ। तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला तथा मीठा परिकार खुवाएर पूजा गरिन्छ । यही सांस्कृतिक विशेषतालाई आधुनिक डिजिटल माध्यमसँग जोडेर नेपाली मौलिक पर्वलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने बोर्डको लक्ष्य छ । बोर्डले प्रतियोगिताले युवालाई सिर्जनात्मक डिजिटल सामग्री उत्पादनमा प्रोत्साहन गर्नुका साथै नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास लिएको छ । कुकुर तिहारलाई धार्मिक पर्वमा मात्र सीमित नराखी जीवजन्तुप्रतिको प्रेम, सम्मान र सहअस्तित्वको सन्देशका रूपमा विश्वसामु प्रस्तुत गर्ने लक्ष्यसमेत राखिएको छ ।
कुकुर तिहार रिल प्रतियोगिता हुँदै, विजेतालाई एक लाख पुरस्कार

Read Complete Original Article
Published originally on विश्वखबर



![गैंडा र कागको कानेखुसी [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/rhino-and-crow2-04112026023329-watermarked.jpg)


