काठमाडौं । काठमाडौं महानगरपालिकाकी प्रमुख सुनिता डंगोलले संघ, प्रदेश र सबै स्थानीय तहलाई जहाँजहाँ छौँ, त्यहाँत्यहाँबाट जलवायु कार्यको थालनी गरौँ भन्दै आह्वान गरेकी छिन् । जलवायुको विषय काठमाडौं एक्लैको विषय नभई सिङ्गो नेपाल र सिङ्गो पृथ्वीको विषय भएको भन्दै उहाँले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ अभियानको उद्घाटनमा सम्वोधन गर्दै यस्तो आह्वान गरेकी हुन् । ‘म यहाँ आज काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको रुपमा मात्रै होइन एक नेपालको छोरी, नागरिकको रुपमा बोल्न चाहन्छु,’ उनले भनिन्, ‘हाम्रो राष्ट्र एउटै पृथ्वी, एउटै जलवायु अनि साझा पृथ्वीप्रति साझा जिम्वेवारी लिइरहेको विश्व समूदायको एक सदस्य हो ।’ उनले विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान न्युन रहे पनि जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र यसबाट ठूलो क्षति बेहोर्दै आएको पनि यहाँले स्मरण गराइन् । ‘जलवायु परिवर्तनले नत भौगोलिक सीमा चिन्छ, न उमेर चिन्छ, न वर्ग, लिङ्ग, समुदाय चिन्छ । यसले हरेक उमेर, पुस्ता, भूगोल र हरेक नागरिकसँग जोडिएको हुन्छ अनि प्रभाव पारिरहेको हुन्छ,’ उनले भनिन्, ‘नेपालका लागि यो वास्तविकता अझ विशेष छ । नेपाल हिमालको काखमा रहेको राज्य हो । विश्वभरी तापक्रम बढेकै कारणले गर्दा नेपालका हिमाल पग्लिरहेका छन् । हिमनदीहरु पग्लिरहेका छन् ।’ उनले जलवायुसँगै हामीले दिनहुँ भोग्ने मौसमी चक्र पनि परिवर्तन हुँदै गइरहेको र दिनहुँ जनजिवनमा प्रभाव परिरहेको पनि उल्लेख गरिन् । ‘हाम्रो समूदाय बाढीबाट पीडित भैरहको छ । यो सहर पनि यसबाट अछुतो छैन । हिमालमा हुने परिवर्तन हिमालमा मात्रै सिमित हुँदैनन्,’ उनले भनिन्, ‘ती हाम्रा नदीसँग, कृषि, जीवनशैलीसाग जोडिएको छ र लाखौँ नागरिकसँग पनि जोडिएको छ । त्यसैले हामी जहाँजहाँ छौँ, त्यहाँत्यहाँबाट जलवायु कार्यको थालनी गर्नुपर्ने अवस्था छ । त्यसैले हामीले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ अभियान थालेको हो ।’ काठमाडौं महानगरपालिकाले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ को उद्घाटनको अवसर पारेर आजै राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौंँ अभियान’को थालनी पनि गरेको छ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्तरुपमा ‘रिचार्ज काठमाडौंँ अभियान’को थालनी गरेका हुन् । अभियानको संयुक्त उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री श्रेष्ठ र मुख्यमन्त्री थापाले स्थानीय तहको पहलबाट भएको यो प्रयास प्रशंसनीय भएको भन्दै संघीय र प्रदेश सरकारको पनि सकारत्मक सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । कार्यवाहक मेयर डंगोलले अब पनि गरौँला–हेरौँला भनेर बस्ने समय नभएको भन्दै कार्यमै जानुपर्छ भनेर ‘कार्य सप्ताह’ भनेको भन्दै काठमाडौं महानगरपालिका भरिका विद्यालयहरुमा कहाँ–कहाँ रिचार्ज गर्न सकिन्छ भनेर अनुसन्धान गरिसकेका कारण त्यहिअनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । ‘काठमाडौंमा रिचार्ज काठमाडौं अभियान हामीले हाम्रो घरबाट सुरुवात गरेका छौँ । यो अभियान हाम्रा वडा भवन, विद्यालय, पार्कमा बनाउँछौँ,’ उनले भनिन्, ‘म अनुरोध गर्न चाहन्छु । यो अभियान संघ, प्रदेश र अन्य स्थानीय तहसँग पनि सहकार्य गरेर अघि बढ्न हामी तयार छौँ । तपाईँहरुले तपाईँहरुका सरकारी भवन परिसरमा स्थान दिनुहोस् काठमाडौँ रिचार्ज अभियान त्यहाँ पनि पुर्याउँछौँ ।’ कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले बाल्यकालमा विष्णुमती र बागमती नदीको सफा पानी पिएको, नुहाएको र नदी किनारका हरिया खेत तथा चराचुरुङ्गीको चिरबिरबीच हुर्किएको अनुभव सुनाउँदै आफ्नै जीवनकालमा ती नदीहरू प्रदूषित र सङ्कटग्रस्त बन्दै गएको देख्दा आफू भावुक हुने गरेको स्मरण सुनाए । जथाभाबी कङ्क्रिटका संरचना बन्दा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको, धुलो धुवाँले शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदा कालो हुँदै गएको र वर्षाको पानी सोस्ने जमिन नहुँदा बाढीको जोखिम भयावह बनेको उनको भनाई थियो । उहाँले पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो ब्युँताएर भूमिगत जलभण्डार जोगाउन भूमिका खेलेकोमा काठमाडौं महानगरपालिका, कार्यवाहक प्रमुख र वडा अध्यक्षहरूको भूमिकाको उनले प्रशंसा गरे । आजै भोटेकोशी बाढी प्रभावित जिल्ला नुवाकोटको विदुर नगरपालिका प्रमुखसँगै हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष , उपत्यका नागार्जुन, भक्तपुर, बुढानिलकण्ठ र चन्द्रागिरीका प्रमुख र तराईको बारा जिल्ला निजगढ नगरपालिकाका प्रमुखलाई एकै ठाउँ राखेर त्यहाँका वासिन्दाले भोग्नु परेको जलवायुको असरलगायतका विषयका अनुभव साझा गरेको छ । ‘कार्य सप्ताह’ एक हप्तासम्म सञ्चालन गर्ने महानगरपालिकाले जानकारी दिएको छ ।
काठमाडौं महानगरले सुरु गर्यो ‘रिचार्ज काठमाडौँ अभियान’

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






