काठमाडौं । काठमाडौं महानगरपालिकाले पहिलो पटक आयोजना गरेको काठमाडौं फिल्म फेस्टिभल सम्पन्न भएको छ । कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन भएको महोत्सवमा विभिन्न भाषा र देशका ४० वटा फिल्म तथा कथा प्रस्तुत गरिएको आयोजकले जनाएको छ । महोत्सवको समापन गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यसलाई वार्षिक कार्यक्रमका रूपमा निरन्तरता दिइने बताउनुभयो । नेपाली कला, संस्कृति, सम्पदा र मौलिक कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले महोत्सवलाई आत्मनिर्भर र विश्वस्तरीय बनाउने महानगरको लक्ष्य रहेको उहाँको भनाइ छ । महोत्सवमा चलचित्र प्रदर्शनसँगै सम्पदा, पर्यटन, संगीत तथा सिर्जनात्मक क्षेत्रका विविध विषयमा छलफल र अन्तर्क्रिया गरिएको थियो । युवा पुस्तालाई फिल्म निर्माणमा प्रोत्साहित गर्न तीन मिनेटको लघुचलचित्र र पाँच मिनेटको छोटो भिडियो प्रतियोगितासमेत आयोजना गरिएको थियो । महोत्सवलाई संस्थागत रूपमा अघि बढाउन कार्यविधि निर्माण र क्रिएटिभ काउन्सिल गठन गरिएको डंगोलले जानकारी दिनुभयो । वरिष्ठ कलाकार बसुन्धरा भुसालले पहिलो संस्करण भव्य र सभ्य रूपमा सम्पन्न भएको बताउँदै यस्ता महोत्सवले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले नेपाली कला, संस्कृति, परम्परा र मौलिकतामा आधारित फिल्म निर्माणमा जोड दिनुभयो । त्यस्तै, वरिष्ठ कलाकार नीर शाहले महोत्सवलाई नेपाली सांस्कृतिक सम्पदा विश्वसामु चिनाउने अर्थपूर्ण अभियानका रूपमा व्याख्या गर्नुभयो । उहाँले आगामी संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता बढाउँदै चलचित्रका विधा र विषयवस्तुको दायरा फराकिलो बनाउनुपर्ने सुझाव दिनुभयो । कलाकार करिश्मा मानन्धरले महोत्सवले नेपाली चलचित्रकर्मीलाई थप ऊर्जा र प्रोत्साहन दिएको बताउँदै यसलाई हरेक वर्ष निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । महोत्सवको पहिलो दिन वसन्तपुरस्थित हनुमानढोकामा सम्पदा पदयात्रा आयोजना गरिएको थियो भने समापनका अवसरमा बौद्ध क्षेत्रमा कोरा, दीप प्रज्वलन तथा प्रार्थना गरिएको थियो ।
‘काठमाडौं फिल्म फेस्टिभल : ४० चलचित्र तथा कथा प्रस्तुत

Read Complete Original Article
Published originally on हिमालय टाइम्स




_hN4rwskxnG.jpg)
