काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने प्रयास जारी रहेको बताउनुभएको छ । उहाँले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एउटै झण्डामुनि ल्याउने अभियानलाई थप तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई दिगो बनाउन नसकिएको बताउनुभयो । एकपटक असफल हुँदैमा एकताको प्रयास त्याग्न नहुने उहाँको भनाइ थियो । ‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ । हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन । अझै नेपालका साना-ठूला कम्युनिष्ट समूहलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ’, उहाँले भन्नुभयो । प्रचण्डले नेकपा एमालेसँग तीनबुँदे र नेकपा मसालसँग दुईबुँदे सहकार्यको प्रस्ताव अघि सारिएको जानकारी दिनुभयो । मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग संयुक्त मोर्चा निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको उहाँले बताउनुभयो । शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्यका लागि सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उहाँको भनाइ थियो । देशभरबाट सामूहिक पहल गर्नसके ती शक्तिहरूबीच पनि साझा मोर्चा निर्माण गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । विदेशी शक्तिहरूले नेपालप्रति वक्रदृष्टि लगाइरहेका छन् : नेपालनेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको भूमि कुनै पनि विदेशी शक्तिले छिमेकी मुलुकविरुद्ध सैन्य गतिविधि सञ्चालन गर्ने अखडाका रूपमा प्रयोग गर्न नहुने बताउनुभयो । नेपालको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै उहाँले विदेशी शक्तिहरूले नेपालप्रति वक्रदृष्टि लगाइरहेको दाबी गर्नुभयो । यसप्रति पार्टीका नेता तथा कार्यकर्ता सचेत र सतर्क रहनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालको भौगोलिक अवस्थाले असंलग्न परराष्ट्र नीतिको आवश्यकतालाई निर्देशित गरेको भन्दै उहाँले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताउनुभयो । नेपालको भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नहुने र प्राकृतिक तथा अन्य स्रोतसाधनको उपयोगका विषयमा नेपाल विवादमा पर्न नहुने उहाँको भनाइ थियो । उहाँले राष्ट्रियतालाई पार्टीले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षणमा सबै सचेत हुनुपर्ने बताउनुभयो । यसैगरी, नेता नेपालले राजनीतिक परिवर्तनका लागि आन्दोलनको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । आन्दोलनले जनतामा चेतना र जागरण सिर्जना गर्ने भएकाले पार्टीले जनपरिचालनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । पार्टी निर्माण र संगठन विस्तारका लागि योग्य तथा सक्षम कार्यकर्ता तयार गर्नुपर्नेमा जोड दिँदै उहाँले नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पार्टीको स्कुल विभाग र सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । कार्यकर्ता प्रशिक्षण पार्टी निर्माणको महत्त्वपूर्ण आधार भएकाले समन्वय र योजनासहित प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाल सगरमाथा र बुद्धको देश भएको उल्लेख गर्दै उहाँले बुद्धको शान्तिको सन्देश विश्वभर फैलाउन तथा नेपालको गौरवशाली इतिहास अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । जनताको हितमा समर्पित हुने पार्टी कम्युनिष्ट पार्टी नै रहेको दाबीसमेत उहाँले गर्नुभयो ।
कम्युनिष्ट एकता अभियान तीव्र बनाउने प्रचण्डको घोषणा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






