Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

‘एन्टिमाइक्रोबियल रेसिसटेन्स’को बढ्दो जोखिम

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘एन्टिमाइक्रोबियल रेसिसटेन्स’को बढ्दो जोखिम
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । एन्टिमाइक्रोबियल रेसिसटेन्स (एएमआर) विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा फैलिँदै गएको छ ।औषधिको जथाभावी प्रयोग र दुरुपयोगका कारण सङ्क्रमणविरुद्ध प्रयोग गरिने औषधि प्रभावहीन बन्दै जाँदा ‘एएमआर’को जोखिम बढ्दै गएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार ब्याक्टेरियाजन्य एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) सन् २०२१ मा विश्वभर ४७ लाख १० हजार मानिसको मृत्युमा सम्बन्धित थियो भने ११ लाख ४० हजारको मृत्यु प्रत्यक्ष रूपमा एएमआरका कारण भएको थियो । औषधि प्रतिरोधी सङ्क्रमणको जोखिम बढ्दै जानु स्वास्थ्य क्षेत्रका लागि गम्भीर चुनौती बनेको छ । सन् २०२५ देखि २०५० सम्ममा एएमआरका कारण विश्वभर तीन करोड ९० लाखभन्दा बढी मानिसको प्रत्यक्ष मृत्यु हुनसक्ने अनुमान गरिएको छ । यसको असमानुपातिक असर न्यून तथा मध्यम आय भएका देशमा बढी पर्ने देखिएको छ । एन्टिमाइक्रोबियल प्रतिरोध भन्नाले ब्याक्टेरिया, भाइरस, फङ्गस तथा परजीवीलाई नष्ट गर्न प्रयोग गरिने औषधिले प्रभावकारी रूपमा काम गर्न छाड्ने अवस्थालाई जनाउँछ । यस्तो अवस्थामा एन्टिबायोटिक, एन्टिफङ्गल, एन्टिभाइरल तथा एन्टिप्यारासाइटिक औषधि प्रभावहीन हुँदै जान्छन् र सङ्क्रमणको उपचार कठिन वा असम्भव हुनसक्छ । औषधिको गलत भण्डारण, वितरण, सिफारिस तथा अपर्याप्त अनुगमनले पनि समस्या बढाउने गरेको डब्लुएचओले जनाएको छ । एन्टिमाइक्रोबियल औषधिको अत्यधिक तथा जथाभावी प्रयोग यसको प्रमुख कारण रहेको विज्ञहरूको भनाइ छ । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा कृष्णप्रसाद पौडेलले एएमआर मौन महामारीका रूपमा फैलिँदै गएको बताउछन् । एन्टिबायोटिकलगायत एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग र दुरुपयोगका कारण पहिले प्रभावकारी मानिएका औषधिले समेत काम गर्न छाड्दै गएको उनले बताए । “हामीले हिजो प्रयोग गर्दा प्रभावकारी हुने औषधि अहिले काम नगर्ने अवस्था सिर्जना हुँदैछ । आईसीयूमा देखिने कतिपय ब्याक्टेरियामा कुनै पनि एन्टिबायोटिकले काम नगर्ने अवस्था छ”, उनले भने । चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक बिक्री तथा प्रयोग हुने प्रवृत्तिले एएमआरको जोखिम बढाएको पौडेलले बताउनुभयो । आवश्यकताबिना र गलत तरिकाले एन्टिबायोटिक प्रयोग गर्दा सङ्क्रमणविरुद्ध लड्ने औषधिको प्रभावकारिता घट्दै जाने र उपचार थप जटिल बन्ने उनको भनाइ छ । औषधिको प्रभावकारिता घट्दै जाँदा महँगा औषधि प्रयोग गर्नुपर्ने अवस्था आउने र उपचार असफल हुने जोखिमसमेत बढ्ने उनले उल्लेख गरे । एएमआर नियन्त्रणका लागि औषधिको जथाभावी प्रयोग रोक्नुपर्ने उनको सुझाव छ । उनका अनुसार स्वास्थ्यकर्मी, औषधि विक्रेता तथा वातावरण क्षेत्रमा काम गर्ने सबै पक्षलाई यस विषयमा सचेत बनाउन आवश्यक छ । दर्ता नभएका औषधिको खुला बिक्री तथा विज्ञको सल्लाहबिना औषधि प्रयोग गर्ने प्रवृत्तिलाई समेत नियन्त्रण गर्न जरुरी छ । “एएमआर नियन्त्रणका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा हेर्नुपर्छ । ‘वान हेल्थ’ अवधारणाअनुसार सबै क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक छ”, उनले भने । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले एन्टिमाइक्रोबियल प्रतिरोध ९एएमआर० को दुरुपयोग रोकथामका लागि मन्त्रालयले रणनीति बनाएर काम गरिरहेको बताएका छन् । उनका अनुसार यस विषयमा मन्त्रालयमा उच्चस्तरीय समन्वय समिति रहेको छ । एन्टिमाइक्रोबियल औषधिको प्रयोग, पशु क्षेत्रमा चिकित्सकको प्रेस्क्रिप्सनबिना हुने प्रयोगलगायत विषयमा सचेतना अभिवृद्धि र समन्वयात्मक रूपमा काम भइरहेको छ । विभिन्न अध्ययन तथा अनुसन्धानका निष्कर्ष र सिफारिसका आधारमा पनि आवश्यक काम अघि बढाइएको उनले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२४ मा सार्वजनिक गरेको ‘नेपालमा एन्टिबायोटिक्सको प्रयोग र यसको प्रतिरोधको अवस्थागत मूल्याङ्कन’ अध्ययनअनुसार २८ प्रतिशत बिरामीले चिकित्सकको सल्लाहबिना नै औषधि किन्ने गरेको पाइएको छ । त्यस्तै, २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा नखाई बीचमै छाड्ने गरेको अध्ययनले देखाएको छ । विज्ञहरूका अनुसार चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टिबायोटिक औषधि सेवन गर्नुहुँदैन । चिकित्सकले सिफारिस गरेअनुसार औषधिको निर्धारित मात्रा पूरा गर्नुपर्छ । एन्टिबायोटिक औषधिको प्रयोगलाई व्यवस्थित गर्न स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्ने, निर्धारित मात्रा पूरा गर्ने, सङ्क्रामक रोगविरुद्धका खोप लगाउने, हात धुने बानी बसाल्ने र सुरक्षित यौन अभ्यास पालना गर्नुपर्ने डब्लुएचओको सुझाव छ । हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक अभियानः प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँग सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड
Latest NewsJust now

ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँग सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँग सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग मन्त्रालयमा  भएको भेटवार्तामा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र दीर्घकाल... ...

नेपालखबर
शेख हसिनाको सम्भावित स्वदेश फिर्तीअघि बंगलादेशमा हिंसा र आगजनी
Latest NewsJust now

शेख हसिनाको सम्भावित स्वदेश फिर्तीअघि बंगलादेशमा हिंसा र आगजनी

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी महिना स्वदेश फर्किने चर्चा चलिरहेका बेला देशका विभिन्न क्षेत्रमा प्रदर्शन, आगजनी र हिंसाका घटना भएका छन् । गाजीपुरमा प्रदर्शनकारीले ढाका–मयमनसिंह राजमार्गमा प्रहरीका एक उपआयुक्तको... ...

रातोपाटी
ट्रम्प र सी भेटवार्ता : पश्चिमी प्रतिबन्धविरुद्ध केन्द्रित पुटिन, सीलाई ब्यापारको चासो
Latest NewsJust now

ट्रम्प र सी भेटवार्ता : पश्चिमी प्रतिबन्धविरुद्ध केन्द्रित पुटिन, सीलाई ब्यापारको चासो

सेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार हुने महत्त्वपूर्ण त्रिपक्षीय भेटवार्ताअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरूको व्यापार संरक्षणवाद, एकपक्षीय नीति र आर्थिक प्रतिबन्धको आलोचना... ...

रातोपाटी
मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै
Latest NewsJust now

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play