खोटाङ । खोटाङमा गोठमा लागेको आगोमा जलेर ७० वर्षीय वृद्धको मृत्यु भएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका धिरजबहादुर राई बुधबार रातमाटेस्थित आफ्नै गोठमा मृत फेला परेका हुन् । परिवारबाट अलग्गिएर करिब एक वर्षदेखि एक्लै गोठमा बस्दै आएका राईले त्यहीँ सुन्तलाखेती र सुँगुरपालन गर्दै आएका थिए । आफूले अगेनामा बालेको आगो गोठमा सल्किएपछि जलेर उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष हेमन राईले जानकारी दिए । दुई छोरा र दुई छोरीका पिता राई घरदेखि टाढा रहेको बारीमा गोठ बनाएर बस्दै आएका थिए । एकान्त स्थानमा घटना भएकाले आगलागी कहिले र कसरी भयो भन्ने खुल्न नसकेको वडाध्यक्ष राईले बताए । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट टोली पठाएर अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ ।
एक वर्षदेखि गोठमा एक्लै बस्दै आएका वृद्ध जलेकाे अवस्थमा मृत फेला

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






